काठमाण्डौ — महामारीबीच नेपालका करिब २२ वटा हल सदाका लागि बन्द भए । लामो इतिहास बोकेको जय नेपाल, कुमारीसमेत बन्द भयो । कोरोना महामारीले हलको ढोका बन्द गराएको झन्डै डेढ वर्ष भइसक्यो । अझै हलहरु खुल्न सकेका छैनन् । महामारीबीच नै केही समय हल त खुले तर औंलामा गन्न सकिने दर्शकको उपस्थितिमा । खुलेको केही समयमै हलमा फेरि ताला झुन्डियो ।

अवस्था यस्तै रहे अन्य हलको भविष्य जय नेपालको भन्दा फरक नहुने चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन् ।

कोभिडले हलको स्वरुप नै बदलिएको छ । हलहरु सुनसान छन् । हलमा दर्शकको कोलाहल अनि भीड कहिले जम्मा हुने हो टुंगो छैन । भाडा, बत्तीको डिमान्ड शुल्क र बैंकको ब्याजले हल सञ्चालकलाई ऋणमा डुबाएको छ । हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । यस्तोमा एउटा समूह भने हलमै भविष्य देख्दैछन् । धमाधम हल बन्द हुँदै गर्दा नयाँ हल निर्माण गर्ने तयारीमा जुटेको यो समूह हो, ‘छक्का पञ्जा टिम’ । छक्का पञ्जा टिम र अन्य केही साथिहरुसँग मिलेर दीपकराज गिरी र दीपाश्री निरौलाले आगामी वैशाखमा ओपनिङ गर्ने सोचले नयाँ हलको निर्माण अगाडि बढाएका छन् ।

हुन त दीपक र दीपाले गत दसैंमै हल खोल्ने तयारी गरेका थिए । तर महामारीले हलको काम बीचमै रोकियो । हल निर्माण गर्ने योजनामै पुन: सोच्न बाध्य गरायो । ‘साथीहरुबीच अब अगाडि नबढ्ने हो कि भनेर सल्लाह पनि गर्‍यौं । हामी व्यापारी होइनौं कलाकार हौं भन्ने लाग्यो । तर सधैं स्थिति यस्तो रहनेवाला छैन भन्ने लाग्यो । पछि त राम्रो होला नि भन्ने आस र विश्वासले हामीले काम अगाडि बढायौं,’दीपक सुनाउँछन्,’अब हामीले यो वैशाखमा खोल्ने तयारी गरेका छौं ।’

दीपकको समूहले ४ सय दर्शक क्षमता भएको २ पर्दाको मल्टिप्लेक्स हल खोल्दैछन् । हलले मल्टिप्लेक्सकै सेवासुविधा प्रदान गर्नेछ । निर्माणाधीन हलको संरचना बन्दैछ शंखमूल छिर्ने मुखैमा । हल ठडिने मल पनि पूरा बनिसकेको छैन । दीपकका अनुसार मलको माथिल्लो तल्लामा हल बनाइनेछ । हलको बाहिरी स्वरुप बन्न थालेको छ । मलको संरचना बनिसकेपछि हलभित्रको काम सुरु हुने दीपक सुनाउँछन् ।

हलको अनुमानित लगानी ९ करोड हो । दीपक र दीपाको हल खोल्ने सपना पुरानै हो । हलको सपना देख्दा लगानी गर्ने क्षमता थिएन । अहिले सपनाले संरचनाको रुप लिँदैछ । दीपा र दीपकले हल खोल्ने निर्णय गरेसँगै कतिले दुईले गलत निर्णय लिएको प्रतिक्रिया दिए । कतिले भने साथ पनि दिएका छन् । ‘धेरै वर्ष भयो हल खोलौं भन्ने अनुभव भएको । आफूले जानेको र बुझेको यही फिल्म क्षेत्र हो । अन्त लगानी गर्नुभन्दा आफ्नो क्षेत्रलाई लगानी गर्दा योगदान पनि हुन सक्छ होला,’दीपक भन्छन्,’भारतमा अजय देवगनले सयवटा हल खोलेका छन् । मैले जुत्ता पसल खोलेको राम्रो कि फिल्म हल ? मैले त फिल्म हल खोल्नु राम्रो हो नि, फिल्मकै स्टुडियो खोल्नु राम्रो हो । त्यसमा त मैले केही जानेको हुन्छु नि ।’

महामारीबीच फिल्म हेर्ने प्लेटफर्म डिजिटल बन्यो । धेरै फिल्म ओटीटी(ओभर दि टप) प्लेटफर्ममा प्रदर्शनमा आए । दर्शकले फिल्म हेर्नका लागि हल खुल्ने समय पर्खनु परेन । धेरैले महामारीपछि हल धाएर फिल्म हेर्ने दर्शकको बानी नै परिवर्तन हुने दाबी गरे । तर ओटीटीले हलमा बसेर फिल्म हेरेझैं मज्जा नदिने हुँदा आफूहरुले हलको भविष्य देखेको दीपक सुनाउँछन् । ‘हामीले घरमा ओटीटीमा जतिसुकै राम्रा फिल्म हेरे पनि हलमा पपकर्न, कफी खाँदै परिवारसित त्यो भीडमा बसेर गलललल हास्नुको मज्जा छुट्टै छ । त्यो मज्जा घरमा पाइँदैन । त्यसैले दर्शक हलसम्मै आउँछन् जस्तो लाग्छ मलाई,’उनले सुनाए ।

हलको नाम भने अहिले नै सार्वजनिक गर्ने मुडमा छैनन् दीपक-दीपा । दीपक-दीपाले हल खोल्ने निर्णय गरेसँगै प्रश्न उठ्न सक्छ, आखिर फिल्मबाट करोडौं कमाउँदै आएका यी दुईलाई हल खोल्न किन आवश्यक थियो ?

निर्माता र हलवालाबीच पहिल्यैदेखि नै एक किसिमको द्वन्द्व छ । चिनेका स्टारका फिल्ममा हल सञ्चालकले चासो राख्छन् । तर नचिनेका कलाकारको फिल्म चलाउन हलवाला आनाकाना गर्थे । हिन्दी फिल्मलाई प्राथमिकता दिन्थे । नेपाली फिल्मलाई प्राइम समय दिन मान्दैन थिए । हलमा बज्ने ट्रेलरदेखि भित्तामा झुन्डिने पोस्टरसम्ममा निर्माताले खर्च गर्नुपर्थ्यो । मल्टिप्लेक्स हलले नचिनेका कलाकारको फिल्मको ट्रेलरसमेत बजाउँदैन भन्ने गुनासो सुनिन्थ्यो । वितरकले दुई फिल्मलाई एउटै मितिमा भिडाइदिँदा मारमा पर्थे निर्माता । हलमा फिल्म लगाउन निर्माताले हलदेखि वितरकसम्मलाई चाकडी गर्नुपर्ने वातावरण थियो । चलेकै कलाकारका फिल्मले पनि हलमा खोजेजस्तो सो पाउँदैन थिए ।

दीपकले पनि आफ्नो फिल्मको प्रदर्शन गर्न यस्ता समस्याहरु भोगे । त्यसैले अन्य निर्माताको त्यस्तै समस्या आफूले भोगेको हुँदा आफूहरु हल खोल्ने निर्णयमा पुगेको दीपकको भनाई छ । ‘नेपाली फिल्मका प्राय निर्माताको समस्या हलवालासँग हुन्छ । हामी पनि फिल्म बनाउँछौं । सोचेको जस्तो सोहरु पाउँदैनौं । विदेशी फिल्महरुसँग भिड्नु पर्ने हुन्छ । यो समस्याहरु भोगेर हामीले हल खोल्नुपर्छ भन्ने लाग्यो । ताकि मलाई मात्र होइन अन्य निर्मातालाई सहयोग हुन्छ,’दीपकले भने,’ नेपाली भइसकेपछि नेपाली फिल्मका निर्मातालाई नै प्रोत्साहित गर्नुपर्छ भन्ने कुरा हामीले उठाउँदै आएको हो ।’

दीपकको टिमले नेपाली फिल्म मात्रै चलाउँछु भन्ने क्रान्तिकारी सोचले हल खोलेका भने होइनन् । उनलाई थाहा छ, हल खोल्नु भनेको व्यापार पनि हो । व्यापारमा भावनात्मक भएर पनि हुँदैन । तर नेपाली फिल्मलाई आफ्नो हलले अन्याय नगर्न आफूहरु यो निर्णयमा पुगेको दीपक सुनाउँछन् । ‘नेपाली निर्माताको रुपमा हामीले हल सुरु गर्‍यौं । हाम्रो हलले एउटा निर्माताको पीडा बुझ्न सक्छ होला । सधैं निर्माता र हलवालाबीच एक किसिमको ग्याप भइरह्यो । त्यो ग्याप पनि कम हुन्छ कि भन्ने विश्वास लागेर पनि खोल्न खोजेको हो,’ दीपकले भने, ‘हाम्रो बजार भारतीय फिल्मले धानेको छ । हामीहरुले पनि त्यो तहको फिल्म बनाउन सकेका छैनौं । हामीले जतिसुकै राम्रो फिल्म बनाए पनि सिधा सजिलो हिसाबले हल पाएनौं । जब कि हाम्रो फिल्म राम्रो चल्थ्यो । एउटा निर्माताले हल खोल्यो भने अर्को निर्मातालाई अलिकति बुझ्छ होला । कोही निर्माताले मलाई फिल्मको प्रदर्शन लम्ब्याउन भन्दा मैले मिति बढाइदिन्छु होला ।’

हल सञ्चालक भएपछि फिल्म त झनै व्यापारिक बनाउने होला नि ? प्रश्न गर्दा जवाफमा भने, ‘म फिल्म बनाउँदा पनि नतिजा के होला भनेर सोच्दिनँ । अहिले पनि कस्तो होला भनेर सोचेको छैन । मलाई सम्भवत: हलमा भेट्नु हुनेछैन दर्शकले । हलको व्यापार हेर्ने अर्कै हुनुहुन्छ । म हलमा राजदूतको रुपमा मात्र देखा पर्छु । म मूलत: कलाकार, निर्माता र लेखक हुँ । मलाई सिर्जनामा जति रमाइलो लाग्छ त्यति रमाइलो पैसा गन्न लाग्दैन ।’

– रीना मोक्तान

प्रतिक्रिया

सम्बन्धित खवर