मोरङ  -भजनशिरोमणि भक्तराज आचार्यको सम्झनामा मोरङको विराटचोकमा ‘भक्तराज स्मृति साँझ’ कार्यक्रम सम्पन्न भएको छ । सप्तकला केन्द्र, सुन्दरहरैँचा –८, सलकपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मोरङको सुन्दरहरैँचा ९ मा रहेको बाल बगैँचा मन्टेसरीको प्राङ्गणमा आयोजित कार्यक्रममा सप्तकला केन्द्रका साना–साना विद्यार्थीहरूले आचार्यका कालजयी भजन तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा जुनियर, सिनियर तथा एकल स्वरमा गीत गाइएका थिए । एकलमा निर्जला दाहाल, अनु पाण्डे, प्रभा खतिवडा, दीक्षा भट्टराई, सोफिया विष्ट, युयश पौडेल, रोजल ताम्राकार, आविष्कार दाहाल र समीक्षा दाहाललगायतका बालबालिकाले भक्तराज आचार्यका कालजयी गीत गाएका थिए ।
विशेष गरेर भजनमा ख्याती कमाएका उनका ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘जहाँ छन् बुद्धका आँखा’ जस्ता चर्चित गीतहरू तथा ‘एक दिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन बचनले’ आदि चर्चित भजन रहेका छन् ।
कार्यक्रममा कोसी साहित्य–कला परिषद्का अध्यक्ष केशु विरहीले भक्तराज आचार्यको परिचय प्रस्तुत गरेका थिए । आचार्यको जीवनका विभिन्न आरोह, अवरोहका तथा सङ्घर्षका बारेमा बताउँदै धनकुटामा जन्मिएर भारतको डुबर्स चिया बगानमा पुगेको, त्यहाँ उनले गरेको कठिन सङ्घर्षको कथादेखि लिएर २०३० सालपछि नेपालमा आएर गरेको साङ्गीतिक सङ्घर्षका बारेमा समेत चर्चा गरेका थिए । लेखक तथा अनुसन्धातासमेत रहेका विरहीले कडा सङ्घषले नै जीवनमा सफलता प्राप्ति गर्न सक्ने बताउँदै आचार्यको जीवन धेरैका लागि प्रेरणाको स्रोत भएको बताए ।
वि.सं. १९९९ असोज १६ गते धनकुटाको कुरुलेमा पिता बलभद्र र माता रेणुकाका सन्तान आचार्यको पूरै जीवन नेपाली गीतसङ्गीतकै विकास र प्रवर्धन बितेका देखिन्छ । रेडियो नेपालमा २०३० साल चैत ६ गते ‘मलाई जीवन चाहिन्छ’ बोलको गीत रेकर्ड गराएर सुरु गरेका उनले ५५१ ओटा गीतमा सङ्गीत गरेका थिए । जसमा ५२५ ओटा त उनी आफैँले गाएका थिए । लामो समयदेखि जिब्रोको क्यान्सरबाट थलिएका उनी २०८० फागुन १४ गते यस संसारबाट बिदा भए ।
आयोजक संस्था सप्तक केन्द्रका सञ्चालक देवराज ढकालले आचार्यको स्मृतिमा फागुन १४ गते कार्यक्रम गर्ने योजना रहे पनि विशेष कारणवश स्थगित भएर आज गरिएको बताए । यस्ता कार्यक्रमले बालबालिकामा गीतसङ्गीतप्रतिको रुचि बढाउने र कला प्रस्फुटन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे
कार्यक्रममा रङ्गेली कला साहित्य समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले, सप्तक कला केन्द्रका सञ्चालक देवराज ढकाल, बाल बगैँचा मन्टेसरीका अध्यक्ष रविन विष्टलगायतका विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा विष्णु भण्डारी आचार्य, जेबी थुलुङ, नवराज पोखरेल ‘नवशिला’, शारदा दाहाल भण्डारी, यादव भट्टराईलगायतका स्रष्टा, कलाकारका साथै अभिभावकहरू तथा बालबालिकाहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने रङ्गकर्मी तथा स्रष्टा भरत बर्बिरिकको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर