मोरङ – ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले निःशुल्क कुनै पनि बौद्धिक कार्य नलगाउने घोषणा गरेको छ । संस्थाले बेलबारीमा आयोजित आफ्नो पहिलो औपचारिक कार्यक्रममा यस्तो घोषणा गरेको हो ।
संस्थाले बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्शकहरूलाई पारिश्रमिक दिएर उक्त अभियानको सुभारम्भ गरेको छ । उक्त कार्यक्रमका विमर्शकलाई जनही एक÷एक हजार नगद तथा एक÷एकओटा साहित्यिक पुस्ताकसमेत उपहार प्रदान गरिएको थियो । साथै उक्त अवसरमा वक्ता, कवितावाचन गर्ने स्रष्टा तथा कलाकारलाई साहित्यिक पुस्तक मायाको चिनोका रूपमा प्रदान गरिएको थियो ।
बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित कार्यक्रममा संस्थाको गतिविधि तथा प्रतिबद्धता जायर गर्दै ‘कोसी साहित्य–कला परिषद् नेपाल’ का अध्यक्ष केशु विरहीले भने, ‘हामी कुनै पनि श्रमको मूल्य हुनुपर्छ भन्नेमा छौँ । अरू कुराको मूल्य हुने तर सिर्जनाचाहिँ निःशुल्क भन्ने हुन्छ र ? स्रष्टा तथा कलाकारले उचित मूल्य पाएका छैनन् । सम्मान पनि नाम मात्रका छन् । नाम मात्रका सम्मानले स्रष्टा कलाकारलाई सम्मान गर्दैन । हामी नाम मात्रको सम्मानका पक्षमा भने छैनौँ । तसर्थ हामीले गराउने हरेक बौद्धिक तथा सिर्जनात्मक कार्यमा न्यूनतम नै भए पनि पारिश्रमिक दिने कार्यको आजैबाट थालनी गरेका छौँ ।’
संस्थाको स्थापना र त्यसपछि सञ्चालन गरिएका कार्यक्रमका बारेमा प्रस्ट पार्दै विरहीले आफूहरूले नयाँ तर साहित्यमा केही राम्रो गरौँ भनेर नै यस संस्थाको स्थापना गरेको, निकै छलफल तथा विमर्शपछि मात्र स्थापना गरिएको संस्थाले अग्रजको सम्मान तथा युवापुस्तामा अभिप्रेरणा जगाउने, क्षमता र योगदानका आधारमा मूल्याङ्कन गर्ने, साहित्यमा थिति बसाउने प्रयास गर्ने, संस्थालाई साझा चौतारीका रूपमा विकास गर्ने, साहित्य कला–ग्रामको अवधारणा, साहित्यको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण आदि कार्यहरू गर्ने आदि प्रतिबद्धताहरूसमेत व्यक्त गरे । साथै लेखक तथा अनुसन्धातासमेत रहेको विरहीले आफूहरू मञ्चलाई कार्यक्रम स्थलका रूपमा मात्र विकास गर्ने, खादा मालाको प्रयोग नगर्ने, गर्नुपरेमा सम्मानका लागि मात्र गर्ने बताए ।
मोरङ, झापा, सुनसरी जिल्लाका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार, उपद्रष्टा, हर्कमान तामाङ रहेका थिए । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, समीक्षक डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यका अतिरिक्त समाजका अन्य क्षेत्रका व्यक्तिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उमानाथ भट्टराई ‘अचल’, हरिप्रसाद दाहाल, सोमप्रसाद भट्टराई, प्रकाशनारायण चौधरी, रमेन्द्र कोइराला, धनजित पराजुली, भवानीप्रसाद पोखरेल, एन.बी दाहाल नवीन, तिला लेकाली, निरज कोइराला, कृष्ण उदाशी, रामप्रसाद खरेल, बादलदेवी चाम्लिङ, पार्वती बराल, दुर्गा पराजुली, सञ्जीव धिमाल, टेकराज एक्चाइ मगर, शिव छाङ्छा राई, प्रेमबहादुर गुरुङ, सेरबहादुर खपाङ्गी मगर, अम्बिका भण्डारी, रुद्र भण्डारी धुलो, खेमचन्द्र भण्डारी, नवीन थापा क्षेत्री, युवराज ठकुरी, शैलेन घिमिरे, मञ्जु घिमिरे दाहाल, प्रकाश भट्टराई, टीकालाल धिमाल, यादव भट्टराई, सुन्दर भट्ट, खेम आचार्य, एवाइ प्रभात, देवराज ढकाल, जुनु बुढाथोकी, एकराज भट्टराई, सुजता राईलगायतका स्रष्टा्कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. दीपकप्रसाद न्यौपाने र मिश्र बैजयन्तीले पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथिको विमर्श गरेका थिए । न्यौपानेले सुवेदीको काव्यकारितामा मिश्रले आख्यानकारितामा आधारित भएर बोलेका थिए । त्यस्तै पुण्यप्रसादका समकालीनसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान तामाङले उनीसँग जोडिएका कुराहरू बताएका थिए । वक्ताहरूले गहिराइसम्म पुगेर उनको जीवनी, व्यक्तित्व तथा कृतित्वका विभिन्न पाटका बारेमा बोलेका थिए । त्यस्तै कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, परिवारका तर्फबाट पुण्यप्रसादका भाइ श्रषिकेश सुवेदी र छोरा परसुराम सुवेदी आदिले संस्थाले सुरु गरेको अभियान तथा पुण्यप्रसादका विषयमा आआफ्ना धारण व्यक्त गरेका थिए । कार्यक्रममा पुण्यप्रसाद सुवेदी र उनीसँग जोडिएर आजसम्म गरिएका कार्यका बारेमा उठेका प्रश्नलाई विभिन्न कोणबाट उत्तर खोज्ने प्रयास गरिएको थियो ।
कार्यक्रममा स्रष्टाहरू रेखा सुवेदी, हरि कट्टेल, कृष्ण उदासी र युवराज ठकुरीले पुण्यप्रसाद सुवेदीका कवितावाचन गरेका थिए भने सप्तक कला केन्द्र सलकपुर, मोरङका कलाकारले पुण्यप्रसाद सुवेदीका कालजयी गीतहरू गाएका थिए ।
‘कोसी साहित्य–कला परिषद् नेपाल’ का उपाध्यक्ष विष्णु भण्डारी आचार्यबाट उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरिएको उक्त कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।
प्रतिक्रिया
-
४
