दक्षिण कोरिया – पाँच वर्षदेखि कोरियामा रहेर कविता लेखी रहेकी कवि दिपा मेवाहाङ राईको कविता कृति यादको सन्दुक लोकार्पण भएको छ । आईतबार राजधानी सउलमा इतर अभियान दक्षिण कोरियाद्वारा आयोजित एक कार्यक्रममा   कविहरू पराजित पोमु, सेसेफुङ शेर्मा, जीवन खत्री र स्वयम् कवि दिपा मेवाहाङ राई लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रमका मूख्य वक्ता पराजित पोमुले कृतिमाथि बोल्दै पहिचानको मुद्दामाथि केन्द्रित भए । कवितामा आफ्नो भाषामा केही शब्द घुसाउँदैमा पहिचानवादी कवि नभईने उनको जिकीर थियो । नेपालमा बसेर पहिचानको मुद्दालाई बोक्छौँ भनेर अघि लागेकाहरूले पहिचानको मुद्दालाई भर्याङ मात्र बनाएको आरोप उनको थियो ।

नेपाली कविहरूको भिडमा कृति यादको सन्दुकमा पहिचानको मुद्दालाई सामान्य रुपमा उठाए पनि पूर्ण रुपमा कृतिले पहिचानको मुद्दालाई उठाउन नसकेको बताए । कृतिमा अधिकाशं कविताहरू मुटु र मनबाट लेखिएको र गौण रुपमा विचारलाई पनि समावेश गरेको बताए ।

कृति भित्रका कविताहरूमा आधुनिककालमा राखेर हेर्न सकिने बताउँदै कृतिका कविताहरू कल्पानाशिल भन्दा पर स्वैर कल्पनाशिल, यौन मनोविश्लेषण, जीवनमुखी, प्रेम, वियोग लगायत समावेश भएको बताए ।

कृतिमाथि बोल्दै कवि सेसेफुङ शेर्माले किराती मुन्धुम भित्रका धेरे शब्दहरू कृतिमा पर्योग नगरे पनि पहिचानको आन्दोलन भित्र कृतिलाई राख्न सकिने बताए । कोरियामा रहेर श्रम गर्दै समय मिलाउँदै लेखिएका सङ्ग्रह भित्र कविताहरू असाध्यै राम्रा रहेको बताए ।

पहिचानको मुद्दामाथि केही अग्रजहरूले आफूहरूलाई धोका दिएको उनको पनि आरोप थियो । केही अग्रजहरूले आफ्नो रचनामा आफ्नो समुदायको भाषाबाट केही शब्द  प्रयोग गरेकैले आफूलाई पहिचानको ठेकेदार ठान्ने गरेको बताए । उनले पहिचानको लागि आफूले गरेको योगदान, आफ्नो नामकै कारण बिभिन्न ठाउँहरूमा पाएको गोता सम्झिँदै पहिचानको आन्दोलन के हो भन्ने कुरा अग्रजहरूले नबुझेको कुरा घुमाउरो भाषामा प्रयोग गरे ।

तेस्तै अर्का वक्ता कवि जीवन खत्रीले प्रवासमा रहेर पनि कविता लेख्दै नेपाली साहित्यलाई धनी बनाउन भूमिका निभाएको भन्दै कविको प्रशंसा गरे । उनले बिम्ब, कला, कोरियोग्राफी र विचारको सुन्दर फ्यूजन गरेर लेखिएका कविताहरू संकलित सङ्ग्रहले नेपाली काव्य क्षेत्रमा छुट्टै परिचय बनाउने विश्वास व्यक्त गरे ।

अर्की कवि शकुन आँसुको कवि श्रवण मुकारुङको कवितासँग तुलना गर्दै कवि दिपाको कविताहरू उत्कृष्ट रहेको भन्ने शन्देशलाई कवि विनेश मिन्जाम राईले पढेर सुनाए ।

कृतिबाट कवि दिपा मेवाहाङ राई, बिष्णु सन्यास, मात्रिका नेम्वाङ, जीवन खत्रीले १ / १ कविता वाचन गरेका थिए ।

कार्यक्रममा कृतिका सर्जक दिपा मेवाहाङ राईलाई लाई बिभिन्न संघसंस्थाका तर्फबाट खादा ओडाएर सम्मान समेत गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै कवि दिपाले आफूले भोगेको भोगाई, प्रेम अनुभूतिलाई कविता बनाएर लेखेको बताईन् । साथै कृति प्रकाशनका लागि सधैँ साथ सहयोग दिने सम्पूर्णमा धन्यवाद पनि दिईन । आफ्ना कविताहरू आफ्नो निजी जीवनमा उद्वेग मात्र भएकाले कवितालाई कुनै बाद विचारसँग तुलना नगर्न समेत उनको आग्रह थियो ।

कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघका विशन राई, नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ कोषाध्यक्ष, खेम पुन मगर, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, किरात यायोख्खाका कार्यवाहक अध्यक्ष परण याम्फु, यायोख्खा संरक्षक सेसहाङ राई, बालकृष्ण बान्तवा, पदम राई, लगायतले शुभकामना दिए । मात्रिका नेम्वाङ सभाध्यक्ष रहेको कार्यक्रमलाई उत्तम खजुम र खोम गुरुङले सञ्चालन गरेका थिए ।

फिनिक्स बुक्स काठमाण्डौबाट प्रकाशित कृति यादको सन्दुकमा ४८ कविताहरू समावेश छन् । कृतिको मूल्य ३०० राखिएको छ ।

कार्यक्रमलाई सेतोमाटोले मिडिया पार्टनरको भूमिका निभाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर