काठमाडौं– सानो पर्दाकी लोकप्रिय अभिनेत्री पल्पसा डंगोल (चम्सुरी)को दुबै किड्नीमा गम्भिर समस्या देखिएको छ ।

दुबै किड्नीमा समस्या देखिएपछि उनी पछिल्लो तीन हप्तादेखि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएर निरन्तर उपचार गराइरहेकी छिन् ।

शनिवार बेलुकि कलाकर्मी प्रतिनिधिसंग टेलिफोनमा कुराकानी गर्दै अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि तेस्रो पटक डाइलासिस गरिएको जानकारी गराइन् ।

‘किड्नी नै ट्रान्सप्लान्ट गर्नु पर्नेछ, अबको उपाय त्यति मात्रै हो, अभिनेत्री डंगोलले भनिन्–‘त्यो बाहेक अरु केही पनि उपाय छैन भनेर डाक्टरले भनिसक्नु भएको छ ।’

‘म झण्डै १५ वर्षदेखि किड्नीको समस्याबाट पीडित थिएँ, तर कसैलाई भनेकी थिइन, आफ्नै रोगसंग आफैं लड्दै आएकी थिएँ, डंगोलले सुनाइन्–‘तर तीन साताअघि फोक्सोमा समस्या भएर सास फेर्नै गाह्रो भएपछि अस्पताल भर्ना भएँ । अस्पतालमा भर्ना भएपछि दुबै मृगौलाले काम गर्न छाडेको पत्ता लाग्यो । यो अवधिमा तीन पटक डाइलासीस गरिएको छ । अब मृगौला प्रत्यारोपण नै अन्तिम उपाय हो ।’

यसैबीच, आफ्नो स्वास्थ्य अवस्थाका बारेमा कसैलाई कुनै पनि जानकारी नदिइरहेकी अभिनेत्री डंगोलले शनिवार भने निकै गाह्रो भएपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराइन् ।

अभिनेत्री निरौला आजै टिचिङ अस्पताल पुगेर उनको अवस्थाका बारेमा जानकारी लिँदै सामाजिक सञ्जालमा समेत उनको अवस्थाका बारेमा अपडेट गराएकी छिन् ।

अभिनेत्री डंगोलका अस्पतालका केही तस्बिरहरु शेयर गर्दै अभिनेत्री निरौलाले लेखेकी छिन्–‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी टिचिङ हस्पिटलमा किड्नीमा समस्या भएर ३०५ नम्बर बेडमा छिन् । हामी सबै मिलेर साथ र सु–स्वास्थ्यको कामना गरौं ।’

अभिनेता गोपाल ढकाल छन्देले पनि फेसबुकमार्फत अभिनेत्री डंगोलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर