काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गतिशील र प्रभावकारी बनाउने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले निगमको कार्यकारी अध्यक्ष पनि नियुक्त भइसकेकाले छिट्टै बोर्ड बैठक बसेर महत्वपूर्ण निर्णय लिइने बताए ।
“आफ्नो (नेपाल एयरलाइन्सको)जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपती बनाउने त्यसपछि गएर निगमको भूमिस्त सेवा (ग्राउण्ड ह्याण्डलिङ)लाई निजी कम्पनीलाई दिनेजस्तो व्यक्तिगत स्वार्थको धन्दा यो मन्त्री प्रेम आलेले गर्दैन ।
म आएको ४५ घण्टा नबित्दै निगममा १०४ दिनदेखिको आन्दोलन स्थगित गरियो । कार्यकारी अध्यक्ष नियुक्ति गरिसकेका छौँ अब प्रभावकारी काम हुनेछ”, उनले भने ।
मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न निगमको क्षमता र बजार विस्तार गरी विश्व बजारमा निगमका जहाज सहजरूपमा पुग्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले काम गर्ने बताए ।
पर्यटनमन्त्री आलेले कोभिड महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःरुत्थान एवं प्रवर्द्धननका लागि निजी क्षेत्रको साझेदारीतामा सक्रियरुपमा कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गरे ।
“म पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न कुनै निजी एयरलाइन्स र माफियाको सिफारिसमा आएको हैन । पार्टीले विश्वास गरेर जिम्मेवारी दिएकाले व्यवसायीको समस्या र पीडालाई समाधान गर्नका निमित्त पर्यटन व्यवसायीसँग हातेमालो गरेर अघि बढ्ने”, उनले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने
पर्यटनमन्त्री आलेले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने बताए ।
हाल भौतिकरूपमा करिब निर्माण सम्पन्न भइसकेको उक्त विमानस्थलमा आगामी १५ दिनभित्र विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्लालिब्रेसन फ्लाइट’ सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको उनले जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र स्पेनको लुम्बिनी गार्डेन नामक संस्थामार्फत ल्याइएको रु.दुई अर्ब ५० करोड मूल्यको बुद्धको मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम छ । बुद्धको जन्मभूमिको देशमा विश्वभरका पर्यटकका लागि सन्देश जाने पर्यटनमन्त्रीको विश्वास छ ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले समयसापेक्ष पर्यटन नीतिको अभाव तथा अन्तर मन्त्रालय र मातहत निकायसँगको समन्वयको अभावमा पर्यटन विकासमा ठोस काम गर्न नसकिएको बताए ।
बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले कोभिडका कारण विदेशी पर्यटकको आगमन सङ्ख्या न्यून हुँदा आर्थिक सङ्क्रमण बेहोर्नुपरेको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका गतिविधि सुस्ताएको उल्लेख गरे ।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडपछि पर्यटन क्षेत्रले भोगेका समस्या र आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले नेपाल एयरलाइन्सलाई सबलीकरण गर्दै देश तथा विदेशमा पर्यटनका गतिविधि बढाइनुपर्नेमा जोड दिए ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले पर्यटकीय सेवाका लागि खुलेका सबैस्तरका होटलको स्तरीकरण र सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
-
४
