काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आईतबार आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरूपमा उद्घाटन गरेका हुन् ।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत आइतबार बिहान पोखरा पुगेका थिए ।
निजगढ विमानस्थलको निर्माण शुरू गर्ने प्रधानमन्त्रीको घोषणा
विमानस्थल उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले छिट्टै निजगढ विमानस्थलको निर्मण सुरु गर्ने घोषणा गरेका छन् । उनले भने, “पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौँ ।” सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसँगै पोखरा सिधैँ अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनले पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको प्रधानमन्त्री दाहालको भनाई छ ।
आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रूपमा थप पहल गर्ने प्रधानमन्त्रीले बताए ।
विमानस्थल सञ्चालनमा सरकारले सघाउने
यसैगरी विमानस्थलमा उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।
मन्त्री पौडेलले भने, “विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो ।” सो अवसरमा उनले अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।
कर्जालाई अनुदानमा परिणत गर्न आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् ।
“म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ”, उनले भने ।
विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए ।
सो अवसरमा उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिए ।
विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे । उनले भने, “पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ ।”
मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्रीसमक्ष आवश्यक बजेटक विनियोजनका लागि आग्रह गरे ।
यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। विमानस्थलको उद्घाटन भएसँगै आजैदेखि सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् ।
निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापनलगायत तयारी शनिबारसम्म गरिसकेका छन् ।
यो विमानस्थलबाट यति,बुद्ध, सूर्य र गुण लगायतका एयरलाइन्सले परीक्षण उडान समेत गरेका छन्। विमानस्थल २४ सैँ घण्टा सञ्चालन गर्न सकिने हिसाबले निर्माण भएको जनाइएको छ।
पोखरेलीको झण्डै पाँच दशकअघिको सपना पूरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ ।
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उनले बताए । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भने, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।”
पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।
चीनको एक्जिम बैङ्कको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।
प्रतिक्रिया
-
४