सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सले पाउनेछन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीबाट पुस १७ गते (सन् २०२३ जनवरी १ तारिख) देखि व्यावसायिक उडान सञ्चालन गर्ने क्यानले घोषणा गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । विमानस्थल उद्घाटन बिहान ११ बजे हुने र औपचारिक समारोहपछि विमानस्थलमा अन्य कार्यक्रम पनि सञ्चालन हुने क्यानले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही पुस ७ गते निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयर र यती एयरलायन्सले आफ्नो परीक्षण उडान गरिसकेका छन् । त्यस्तै गुण एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनका लागि तयार भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । पोखरा विमानस्थलमा एरो थाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म एक साता सफलतापूर्वक यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडानको प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल व्यावसायिक उडानयोग्य भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको सात महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थलमा व्यावसायिक उडान सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण तयारी पूरा गरिएको छ ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।
उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि अन्तिम चरणमा पुगेको विमानस्थलले जनाएको छ । पहिलो चरणअन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ ।

ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा मङसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । विमानस्थल सञ्चालनमा सहजीकरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएकाले यसलाई सुव्यवस्थितरूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

पोखरा विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिन्छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

तथ्याङ्कअनुसार काठमाडौं आएका विदेशी पर्यटक मध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय शहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर