✍️ गणेश खड्का

 

सडकपेटीमा बटुका थाप्ने

मगन्तेलाई दिए आशिर्वाद देला

कमण्डलु बोकेर घरघर डुल्ने

भिक्षुलाई दिए धर्मै होला

फेरी लाउँदै रातभरी

दश गाउँ चाहार्ने जोगीलाई दिए बरु

भूतप्रेत भाग्ला,सुब्बेफाब्बे होला

दिमाग भुटेर,मन लुटेर

बेला-कुबेला मतदान माग्नेहरूलाई

नदिए पनि पछुतो,दिए झन् पश्चाताप

न ज्यानलाई सुख,न आत्मालाई शान्ति

दिए पनि नदिए पनि आत्मघाती !

 

नब्बे वर्षकी हजुरआमा बोकिएर गइन्

मतदानपछि उनको काम सकियो

दमको रोगी हजुरबा

कसैलाई जिताउन जाँदा

सास रोकिएर आफैं हारे

बा-आमा प्रत्येक चुनावमा

आश्वासनको उधारो लड्डुले अघाउँछन्

ऋण काढेर मुगलानिएका छोरानाति

रेमिट्यान्स पठाएर

घर-परिवार पाल्छन्

देश-समाज धान्छन्

नेता-कार्यकर्ता पोस्छन् !

 

मतदानको पूर्वसन्ध्यामा

एक डोज फ्युल हालिदिएर

मतदानपूर्व बाघ बनाइएको मतदाता

मतदानपछी बुथमै स्याल बन्छ

र फर्किन्छ-

युद्द हारेर घर फर्किएको योद्दाजस्तो खत्रक्क

दिनभर जोतिएर गोठ फर्किएको गोरुजस्तो लत्रक्क

आफु हारेर अरुलाई जिताउनुपर्ने

स्वयम् मरेर पराईलाई बचाउनुपर्ने !

गाईको पुच्छर समाएर गरिएको कन्यादान–

वर कुलाङ्गार पाए

एउटी छोरीको जिन्दगी अन्धकार,

स्वस्तिक छाप उठाएर गरिएको मतदान(

उम्मेदवार गद्दार भए

एउटा देशको भविष्य डामाडोल,

किन अपमानित भईरहन्छ दानको महिमा ?

नानाथरी अर्गनाइजेशनका

कामुक पुरुष नाइकेहरुद्वारा

जबर्जस्ती करणीबाट बलात्कृत

कुनै नाबालिग किशोरीको पेटमा हुर्किएको

आफ्नो अबैध गर्भजस्तो बहिस्कृत

मासिक धर्म बिग्रेर हैरान

कुनै महिलाको स्वकीय शरीरबाट

निस्केको रगतजस्तो तिरस्कृत

आफ्नै आङ्को मासु

पिलो बनेर टनटनाए जस्तो

आफैंले दिएको दान

पुण्यको साटो अभिशाप बन्छ किन ?

 

दिनेहरुको हात माथी हुनुपर्ने

तर जहिल्यै पारिन्छ तल

तलबाट दिइएको चिज

माथी पुगेर अडिन नसक्दा

ठोक्किन आइपुग्छ आफैंसँग पुनः

दानहरु स्वेच्छिक हुन्छन्

दिनु नदिनु दाताको मर्जी

तथापि, गरिन्छ जबर्जस्ती

श्रमदान, मुष्टिदान, अन्नदान, अभयदान

भूमिदान, गौदान, कन्यादान, विर्यदान…

त्यस्तै, – मतदान….!

प्रतिक्रिया

सम्बन्धित खवर