पर्वत – यहाँका दुई महिलाले गाउँमा नमूना कृषक बनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याउनुभएको छ ।
उहाँहरुका श्रीमान् अहिले खाडी मुलुकमा हुनुहुन्छ । उहाँहरुले गत असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा ‘बनौँ कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याउनुभएको थियो । अहिले फर्मबाट प्रशस्त आम्दानी समेत हुन थालेको जनाइएको छ ।
रु २५ लाखका लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा कुखुरा , बङ्गुरपालन फार्म र तरकारी खेती हुँदै आएको छ । फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उहाँहरुको योजना छ । अहिले फार्ममा एक हजार कुखुरा, झन्डै एक दर्जन बङ्गुर छन् भने तीन टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काँक्रो, घिरौँला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।
मगर समुदायको बाहुल्यता रहेको सो गाउँमा यस्ता खालका अन्य फार्म छैनन् । एक मात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोजदेखि शुरुआत गरिएको फार्मबाट अहिले आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाटसमेत मासिकरुपमा सोचेअनुरुप आम्दानी हुने गरेको छ ।
श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालिका मनकुमारीले बताउनुभयो । उहाँहरु दुवैजना फार्ममै बस्नुहुन्छ । बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ ।
उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिनुभयो । “उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “माग पु¥याउन धौधौ भएको छ ।” उहाँले यस वर्ष झण्डै रु पाँच लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।
ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । दर्ता गरेर कानूनीरुपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताउनुभयो । वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको जानकारीदिनुभयो ।
खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उहाँको भनाइ छ । सामान्य घरायसी काममा दिन बिताउँदै आएका उहाँहरु फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके जागिर खानु पर्दोरहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् ।
श्रीमान् फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना रहेको छ । उहाँहरुले भन्नुभयो “स्वदेशमा नै केही गर्न सकिन्छ ।” फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरुको योजना छ । फार्म जिल्लाकै नमूना रहेको वडाध्यक्ष पुर्जाले बताउनुभयो ।
– लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया

सम्बन्धित खवर