✍️ मैयाँ लामिछाने

गजल – १

हामी गाउँले सँग कोसेली माग्नु, यता नआउँनु हिलो हुन्छ
हाम्रो बस्तिको तस्बिर राख्नु पोस्टर बनाउँन सजिलो हुन्छ

तस्बिर खिचाउँनका लागि काम गरे जस्तो पनि नगर्नुहोला
ठेला उठ्छ ,काँडा बिज्छ हजुरको हातगोडा कलिलो हुन्छ

कृषक हौं अनुहार चाहुरीएको, हातगोडा फुटेर के थाहा ?
हाम्रो अन्न भरिलो हुन्छ हजुरहरुको अनुहार भरिलो हुन्छ

मीठो खान होटल छिर्दैनौँ भोकसँगै भोजन बनाउँछौं मिठो
हामिलाई त शहरको पिजा, बर्गरभन्दा ढिडो अडिलो हुन्छ

जुस पिएर रसिलो छ भन्छन् शहर तिर अचम्म लाग्छ सुन्दा
गाउँमा त खोल्सिको पानी पातले पिउँदा धेरै रसिलो हुन्छ

गजल – २

छोडेको ठाउँमा कति दिन हिड्नु हुन्छ ?
कुल्चिदै घाँउमा कति दिन हिड्नु हुन्छ ?

आफ्ना पैताला मजबुत बनाउस् पैले
अरुको पाउमा कति दिन हिड्नु हुन्छ ?

चुनाव नआउन्जेल शहरमै बस्नु होला
धुलो छ गाँउमा कति दिन हिड्नु हुन्छ ?

महोदय हजुरको पनि छन छोरी बुहारी
बलत्कारी बचाउमा कति दिन हिड्नु हुन्छ ?

मौसम परिवर्तन हुँदैछ ख्याल गर्नु होला
हिउँको तलाउमा कति दिन हिड्नु हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर