✍️ श्रीकृष्ण शर्मा
मुक्तक – १
मेची दुःख्छ काली दुःख्छ सुस्ता छातीभरि
जङ्घे पिल्लर ढल्छ मुटु फुट्छ रातिभरि
मन्दमन्द विष लाग्दै छ राष्ट्रियतामाथि
हराउला कि पहिचान डर छ जातिभरि ।
मुक्तक – २
पत्थर सम्झी छिनो प्रहार लगायौ तिमीले
थाहा छ्र्रैन चोट दिएर के पो पायौ तिमीले
बोलिनँ केही पनि मात्र सम्हालेँ आफैँलाई
तिम्रै श्रमले मलाई मूर्ति बनायौ तिमीले ।
मुक्तक – ३
अमृत भनी छल्यौ र विष पिलाएर गयौ
मार्न खोज्यौ कालसँग हात मिलाएर गयौ
धोका दियौ बिच बाटोमै छोड्यौ तर पनि
तिम्रै साथी उपहार धन दिलाएर गयौ ।
मुक्तक – ४
कहिले काला कैले छन् गोरा कठै मेरो देश
सत्तामा छैनन् नेपाली छोरा कठै मेरो देश
आमामाथि गद्दारी भयो पैसा कमाउनलाई
सपूत छैनन् जन्माउँछ मोरा कठै मेरो देश ।
मुक्तक – ५
कृति बढ्यो संस्कृति र वेश हरायो यहाँ
एकतामा तराई पहाड मधेश हरायो यहाँ
न भाषा हाम्रो न सीमा राम्रो लुटिएछौ हामी
नक्सामा हैन नसामा यो देश हरायो यहाँ ।
प्रतिक्रिया
-
४
