✍️ नदीश

जलिरहेको चिताबाट माथि आकाशतिर उड्यो
धुवाँ धुवाँ जस्तै
एक सर्को चेतना

तल धर्तीमा
बडो उत्साहित भएर
मेरो जिन्दगीको स्वाद पस्किरहेको मृत्यु देख्दैछु

म अनुभूत गर्न सक्छु
मेरा मलामी अनुहारहरुका
विभिन्न भावभङ्गीहरुबाट
मेरो जिन्दगीको विचित्र स्वाद

सारा जिन्दगीभर
मोल्दै गएँ मैले आफूलाई
अनेक मसलाहरुको मिश्रणले म्यारिनेट गर्दै गएँ

मायाको मिठास– ठिक्क
परिश्रमको नुनिलो– ठिक्क
सम्बन्धको अमिलो– ठिक्क
आत्मीयताको चिल्लो– ठिक्क
अहमको पिरो– ठिक्क
ज्ञानको रङ– ठिक्क

थप्दै गएँ… मोल्दै गएँ… चाख्दै गएँ…

एउटै सपनाले निल्दै गयो जिन्दगीलाई जिन्दगीभर(
म यस्तो तिख्खर स्वादको मिठास दिएर जाऊँ
यो दुनियाँलाई
या देशलाई
या कमसेकम एक टुक्रा समाजलाई

देख्दैछु
मलाई चपाइरहेका यी मैले आर्जेका
एक मुठ्ठी मलामीहरु
फरक फरक अनुहारमा
विचित्रको खल्लोपन छ फरक फरक

अहो !
भिन्न भिन्न जिब्रोमा मिठास बस्नेगरी
यावत मसलाहरु मिलाउन साह्रै गाह्रो रैछ जिन्दगीमा

प्रतिक्रिया

सम्बन्धित खवर