✍️ मनु विद्रोही
नेपाली साहित्यको गजल, गीत, हाइकु, उपन्यास कथा लगायतका विधामा कमल चलाउने गैँडाकोट निवासी साहित्यकार निर्दोष जीवनको जन्म २०३८ साल पुस ९ गते चितवनमा भएको हो । आमा भागिरथी गिरी र पिता डम्बर गिरीका सुपुत्र उनी हाल नयाँ पुस्तक प्रकाशनको तयारीमा छन् । गजल मञ्च चितवन र सिर्जन साहित्य प्रतिष्ठानमा आवद्ध जीवनको हालसम्म आशीर्वाद – गजल, मुक्तक, हाइकू संग्रह (२०६१), नयाँ जीवन उपन्यास (२०६२), प्रार्थना गीति एल्वम (२०६३), कोर्राको चोट गीति एल्वम (२०७३), मैयाँ कथा संग्रह (२०७५), फस्ट लभ गजल एल्वम (२०७५), (प्रिय साथी गजल संग्रह (२०७६), (मेरो गीत गीति एल्वम (२०७६) प्रकाशित छन् । हाम्रो मझेरी प्रतिभा पुरस्कार (२०७७) प्राप्त गर्न सफल
उनै साहित्यकार जीवनसँग सेतोमाटो डटकमका लागि मनु विद्रोहीले गर्नुभएकी भलाकुसारीको सारसंक्षेप प्रस्तुत छ ः
साहित्यमा लाग्नु प्रेरणाको स्रोत के हो ?
मित्र लेखराम सापकोटाको प्रेरणा र साथले साहित्यमा लागेको हुँ।
साहित्यमा कसरी कुन विधा बाट प्रवेश गनुभयो ?
स्कुल पढ्दाखेरी गीत लेखनबाट प्रवेश गरें।
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
नयाँ किताब ‘नोस्टाल्जिया’को प्रकाशन तथा गीत संगीतमा व्यस्त छु।
फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
पुस्तक पढ्छु। गीत संगीतको सिर्जनामा समय बिताउने गरेको छु।
तपाईंको विचारमा साहित्य के होरुकस्ता कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
साहित्य भनेको मनका भावहरु बिसाउने चौतारी हो ,जसको माध्यमद्वारा समाज र राष्ट्रलाई खवरदारी गर्न सकिन्छ।मनका भावहरु प्रकट गर्न सकिन्छ ।
म प्रायः खोजमुलक पुस्तकहरु पढ्न रुचाउँछु।
पहिलो कृति प्रकाशित भएपछिको के कस्तो भयो पुस्तक (संस्मरण जस्तो है) ?
स्कुले जीवनमा भित्ते पत्रिकामा पहिलो पटक आफ्नो रचना छापिंदा असाध्यै खुशी मिलेको थियो ।सबै बाट प्रोत्साहन र प्रशंसा पाएको थिएँ।
तपाईं कस्तो विषय वस्तुलाई आधार बनाएर साहित्य सिर्जना गर्नुहुन्छ ?
समाजभित्र भएका विकृति र विसंगतिलाई साहित्यको माध्यामद्वारा प्रकट गर्न मन पराउँछु।
साहित्यमा लागे पछिको अविस्मरणीय क्षण कुन हो ?
गजल वाचन गर्न एक घन्टा साइकल चलाएर जाँदा अनि पुरस्कृत भएर फर्किंदाको क्षण अहिलेसम्मकै सुखद क्षण लाग्छ।
साहित्यमा पनि राजनीतिमा जस्तै गुट छ कहिले स्वतन्त्र र बहर सधैं जसो केहि न केही विषयमा विवाद भैरहन्छ यसले साहित्य क्षेत्रको भविष्यमा के कस्तो असर पर्ला ?
यस्तो खाले प्रवृत्तिले भर्खरै साहित्यमा आउँदै गरेकाहरुलाई निरुत्साहित बनाउँछ। सम्बन्ध टुटाउँछ। यो प्रवृत्तिले साहित्यलाई झनै दुषित पार्दछ।यस्तो गुट उपगुटले समग्र साहित्य क्षेत्रलाई नराम्रो प्रभाव पार्दछ।सबैलाई सम्मान गरिनुपर्छ ।
सरकारले साहित्य क्षेत्रलाई के गर्दिए हुन्थ्यो ?
साहित्यद्वारा अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्र र राष्ट्रियतालाई झल्काउन सकिने हुँदा सरकारले विशेष महत्त्वका साथ साहित्य क्षेत्रको प्रवर्द्धनका लागि आर्थिक तवरले सहायता पुर्याउनु पर्दछ । पुस्तक माथि लगाएको कर खारेज गरिनुपर्छ ।लेखकहरुको सम्मान स्वरुप लेखकका किताब प्रकाशनको जिम्मा सरकारले लिइएको खण्डमा सर्जकलाई ठुलो राहत मिल्ने थियो ।
साहित्यमा प्रवेश गर्न चाहनेलाई तपाईंको सुझाव ?
साहित्य साधनाद्वारा मात्रै सम्भव छ।रहरै रहरमा भन्दा पनि धेरै अध्ययनसिल भएर साहित्यमा प्रवेश गर्नु असल हुनेछ।प्रशस्त साहित्यिक पुस्तकहरु अध्ययन गर्ने बानी बसाल्नु पर्छ।
तपाईंलाई कस्ता पुस्तक पढ्न मनपर्छ ?
समाज भित्र लुकेर बसेका यथार्थपरक घटनाहरुसंग सम्बन्धित पुस्तक ,खोजमुलक ऐतिहासिक पुस्तक पढ्न मन पर्छ।
‘नोस्टाल्जिया’ उपन्यास कस्तो कथावस्तुमा आधारित छ ? के का लागि पाठकहरुले उपन्यास पढ्न पर्छ ?
मेरो आउन लागेको किताब सत्य घटनामा आधारित किताब हो।एउटी बेचिएकी चेलीको सत्य घटना तथा विशुद्ध पारिवारिक परिवेश तथा प्रेम प्रसङ्गमा आधारित रहेको छ।
तपाईंलाई भन्न मन लागेको र सोध्न छुटाएको केही बाँकी छ कि ?
मेरो आउन लागेको नयाँ किताब ‘नोस्टाल्जिया’ पढ्न नभुल्नुहोस् । पढेर सल्लाह सुझाव दिनुहोला।
प्रतिक्रिया
-
४
