✍️  निष्प्रभ सजी

गजल –

गयो दशैं आयो तिहार तत् आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

सम्झना छ तिहारको टिका लगाउने बेला अझै
बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु

बेग्लै भाटस् फोटो हेर्दा डर लाग्छ अलिकति
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु

 

✍️ जीवन खत्री

गजल  –
मेरो प्यारो भाइ, परदेशबाट तिहार पठा
मेरो हात खाली भो, तेरो खाली निधार पठा

देउसे र भैली आउँदा, यी आँखा तलाईँ खोज्छन्
आँसु यसै झर्छ, एक रुमाल उपहार पठा

मखमली सयपत्री गोदावरी फेरि फुले
म माला उन्छु राजा, त्यो गलाको आकार पठा

बाआमा बुढा भए, साहारा तँ कहाँ पुगिस् ?
केही खोज खबर पठा, पठा बाबु तार पठा

तीज, दशैँ चाड मान्न नपाएको वर्षौँ भयो
कि तँ फर्की आईज, नत्र एउटा तरबार पठा

प्रतिक्रिया

सम्बन्धित खवर