✍️ तीर्थराज अधिकारी

मुक्तक – १

प्रमुदित छौ, प्रकृतिले सौन्दर्य दियो भनेर
छियाछिया पार्दियो दिल मैले चासो लियो भनेर
म कसरी उजुरी सावित गर्न सक्छु र प्रिय ?
तिम्रो आँखामै धारिलो तरवार थियो भनेर ।

मुक्तक – २

कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने
फुक्का जीवन बोकेर यस्सै जिउन पनि नमिल्ने
थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरू
आकर्षक गातो हालेर सिउन पनि नमिल्ने ।

मुक्तक – ३

न यस्मा झार उम्रिन्छ, न बोट लाग्छ
बरु झ्याउ पलाएर नानाथरि खोट लाग्छ
टाकुराको पत्थर समान भयो यो जिन्दगी मेरो
अनायासै गुल्टियो भने कतै अरुलाई चोट लाग्छ ।

मुक्तक – ४

ध्यान, प्रणायम र योग त एक साधन रहेछ
जीवन र मरणको अन्तिम समाधान रहेछ
मूलभूत विषय त आन्तरिक चेतना हो मित्र !
अध्यात्मको प्रमुख सारतत्व आत्मज्ञान रहेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर