✍️ भूपिन खड्का

तिमी खाडी उडेपछि
अष्टमीको दिन काटिएको खसीझैँ
छटपटाइरहेछु
सिकुवामा उम्रिन नसकेको जमाराझैँ
चाउरिएकी छु
बिधुवाको निधार पर्खिएको सेतो अक्षताझैँ
बेरङ्ग भएकी छु
मेरो खसम !
यसपालि त सँगसँगै मनाउँला भनेको दसैँ
तिमी उडेपछि जुठो बारिएको घरझैँ
उदास भएकी छु ।

सम्झिरहेकी छु
मान्छे बेच्ने कम्पनीको टिसर्ट लगाएर
जब तिमी उडेका थियौ
खाडीको आकाशतिर
मेरो सिमखेत आँखामा धेरैबेर
ती बाह्र नेपालीहरूको तस्बिर नाँचिरहेको थियो
जो बिना कुनै कसुर
मारिएका थिए
इराकको तातो बालुवामा ।
त्यहाँ सेरिएको
घाँटी मेरै थियो
र गोलीले छेडेको एउटा लास तिम्रो थियो
हामी त त्यही दिन
मरिसकेका थियौँ विमानस्थलमा

मेरो खसम !
महङ्गीको मालश्री गाउँदै
पसेको छ दसैँ सधैँझैँ गाउँमा
सधैँझैँ रातो माटो र कमेरो छ्यापेर
मैले घर चोख्याइकेकी छु
तर कस्सम !
मेरो आँखामा कुनै सुन्दर सपना छैन
तिमी उडेपछि
तिम्रो घरमा कुनै ढुकढुकी छैन ।

सिथिल भएको छ तिम्रो गाउँको पाखुरा
विरुप भएको छ गाउँको सौन्दर्य
बुढाबुढीहरू भन्दै छन्
तिमी उडेपछि
केटीचौरको लट्ठेपिङ छिनेर
भाँचिएको छ गाउँको मेरुदण्ड

तिमी उडेपछि
जुठो बारिएको घरझैँ
उदास भएको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर