✍️ डीआर न्यौपाने ‘सूर्य’

  गजल – १

दशैंंमा सबैका व्यथा पीर जाउन
सबैले खुशीसाथ उत्सव मनाउन

बढोस् भाइचारा बढोस् प्रेमभाव
सुदूर पुगेका नजिक बन्न पाउन

नआवोस् रुने दिन कसैको कहिल्यै
सुखी हुन् नेपाली सधैँ मुस्कुराउन

बचोस देशभक्ती सचेत हुन् नेता जी
नहुन भ्रष्ट बदमास सुध्रेर आउन

हटोस् बेथिति पाइयोस् रोजगार
हरेकले दुई छाक निर्धक्क खाउन

गजल – २

परदेश बस्न गाह्रो हुन्छ दशैँ आएपछि
गाउँघर सम्झेर मन रुन्छ दशैँ आएपछि

पैसाले खुशी किन्छु भन्नू व्यर्थ हो रहेछ
तलब थापेर हर्षित कुन छ दशैँ आएपछि

निराशाको एक्लोपनले थिच्दा मुग्लानमा
जताततै मालश्री धुन छ दशैँ आएपछि

मन्दिरमा हुने पशुबलि रोक्नु पर्छ अब
लाग्छ देशमा यही बैगुन छ दशैँ आएपछि

उसलाई पनि केही राहत पठाऊ सरकार
अभावले छट्पटिने जुन छ दशैँ आएपछि

प्रतिक्रिया

सम्बन्धित खवर