✍️ भेष राज बुढाथोकी

‘चाहिँदैन मलाई सिसाको महल, चाहिँदैन मलाई चमेलीको बास
यसै राम्रो छ, यो मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तीको रास !’

जनवादी गायक जीवन शर्माको यो गीत सुन्दै ओरालो लागेँ । सिरसिरे हावाले पसिनाको गन्ध फर्फराईरहेको थियो । बर्खामास फूलेका फूलहरूको बासनाले नाकको पोरामा हान्थ्यो । हिँड्न झन् ताकत आउँथ्यो। जोस दोब्बर बढ्थ्यो।

अलिकति ओरालो ओर्लिएपछि , कवाडी बजार आयो । स्थानियले त्यसलाई ‘कौडी बजार’भन्दा रहेछन् । बजार पनि के भन्नु ? जस्ता पाताले बनाएका दुई चार ओटा घरहरू , ढुङ्गामाटोले बनाएका तीन चार ओटा पुराना दोकानहरू अनि साईन बोर्ड टाँसेका केही संघ संस्थाहरूका घर ।

कवाडी बजारको एउटा कुना तिर पुरानो घर छ। मान्छेहरूको लाईन असाध्यै लामो । पर पर सम्म , काठमाण्डौंमा हुने गाडीहरूको जाम जस्तो । घोडेजात्रामा लाग्ने घोडाहरूको लाईन जस्तो ।

लाईन छोडेर अलि पर , गालामा हात राख्दै , निधार माथिको पसिना हत्केलाले पुछ्दै गरेकी एक जना बहिनीसँग भेट भयो ।

भाउ । के को लाईन हो यो ?
– चामल किन्नेहरूको ।
किन यत्रो बिधी लाईन ? यहाँ चामल पाईंदैन हो ?
– नाई दाई । बर्खा छ । गाडी आउँदैन ।
तिम्रो घर काँ ?
– हिमाली गाउँ पालिका २, बिच्छ्या
अनि नाउँ ?
– जौकला बुढा ।

म तीन छक परेँ । दुनियाँ कहाँ पुगिसक्यो । चन्द्रमामा घर बनाई सक्यो , दुनियाँले । अन्तरिक्षमा खेलमैदान बनीसक्यो । समुन्द्रको पानी मुनि बैठक , सम्मेलन, सेमिनार भैसके । मेरो बाजुरा भख्खर भोकसँग लड्दै छ । उसको लडाइँ केवल भोकसँग छ । भोकमरी संग छ । खाद्य संकटसँग छ ।

टनाटन स्याउ फलाउने मेरो बाजुरा , नेपालकै जैतुन खेतीका लागि उत्कृष्ट बाजुरा आफ्नो पेटमा भोक बोकेर, आँखामा आँशु बोकेर अझैँ पनि सडकमा टुहुरो उभिए झैँ उभिएको छ । रेल छुटेको यात्रु जस्तो ।

‘चामल किन्न दुई दिन हिँडेर आएँ । दशैँ आयो । चामल आएन । भोक फल्यो पेटमा तर बारीमा अन्न फलेन । आँशु बग्यो आँखाबाट तर कहिल्यै भोकमरी बगेन । यो बर्षादमा पनि कर्णालीमा उसै गरी पानी बग्यो तर हामी गरिबका समस्या बगाएन । कवाडी खोलो उर्लेर आयो । बाढी आयो । खेत बगायो । धेरैको आँगन बगायो । तर अँह, अझैँ बगाउन सकेन हाम्रा पिडा, अभाव र दुःखका झोलाहरू ।’

बिच्छ्या घर बताउने भाईले दुखेसो पोख्दै भन्यो । चप्पल पनि फिता चुटिएको लगाउने त्यो भाईको भोक कहिले चुटिएला ? मैले मनमनै सम्झेँ । यहाँ त भोकले आन्द्रा चुटिएला तर भोकको शृङ्खला चुटिने छैन ।

‘स्कुल्या । दुई दिन हिँडी कन आएँ । त्यईका बुवा बिरामी छन् । चामल लिउँला भनेर आएकी हुँ । चामल आछिन भन्यो । अब यो पालीको दशैं, मकैको जाउलो पकाएर टार्नु पर्ला । दोकानदार संग ऋण मागेर आएकी हुँ । अब कोल्टी जान फेरि एकदिन हिँड्नु पर्छ । झिक्कै टाढा छ । महिला मान्छे । अढली छ ।’

अँध्यारो अनुहार पार्दै धौली बौजु बोल्नुभयो । बिहानी पख घाँसको पातमा शित बिलाए जस्तै चामलको भात खाने सपना फेरि पनि बिलायो ।

सपना बिलाउँदा कति दुख्छ ? यसको उत्तर खोज्न गरिबहरूको झुपडी सम्म पुग्नु पर्छ । सिंहदरबारका भोका स्यालहरूलाई कसरी थाहा होस् यसको उत्तर ?

एउटा चुनाब गयो । फेरि अर्को चुनाब उसै गरी आउने छ । जसो तसो एउटा बर्खा त गयो । फेरि अर्को हिउँद आउने छ । तर यो बस्तिको भोक कहिले जाला रु यो बस्तिमा बत्ती कहिले बल्ला ? गाउँलेका ‘ब्ल्याक एण्ड वाईट’ सपना , कहिले रंगिन होलान् ? मनले मन संग प्रश्न गर्यो ।

गाउँमा गाउँमा सिंह दरबार पुग्यो भनियो । होला भन्ठानियो । गाउँ गाउँमा समृद्धि आयो भनियो । होला भन्ठानियो । गाउँ गाउँमा विकास आयो भनियो । होला भन्ठायो । तर पेट पूजा गर्न चामल अझैँ आएन गाउँमा । उज्यालोको नाउँमा बत्ती आएको छैन । खानेपानीको नाउँमा धारामा हप्तामा तीन दिन पानी आउँछ। बाँकी दिन धारा बिग्रिन्छ । पानी आउँदैन । शैक्षिक सत्रको अन्त्य तिर बल्ल पाठ्यपुस्तक पुग्छन् ।

एकछिन छेऊको अंगाऊको फेदमुनि बसेँ । परपर हेरेँ। कसैको अनुहारमा खुशीको दियो बलेको देखिएन । सबैले निन्याउरा अनुहार लगाएका थिए । हुन् त भोकाहरूको न सपना उज्याला हुन्छन् , न त अनुहार नै ।

गजलकार प्रदीप रोदनको गजलको शेर सम्झेँ …
‘डाक्टर साुब , म चामल बेचेर जँचाउन आएको हुँ
बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुहोस् !’

मेरो छेऊमै आएर एक जना दिदीले भनिन् “भाई, के गर्ने ? आमा बिरामी छन् । बुवा बुढा छन् । हिँड्न सक्दैनन् । भिनाजूलाई पैसा मागेर चामल लिन आएको। रित्तै आएँ । रित्तै जाने भएँ । गोजीमा सपना सल्बलाउँछन् ।”

आँखा भरि आँशु पारेकी काली दिदीको गुनासो सुनेर मन भतभती पोल्यो । खाली खुट्टाले घाममा हिँड्दा खुट्टा पोले जस्तो ।

साँघुरो बाटोमा अगाडिबाट हान्ने गोरू आए जसरी आईदिन्छ गरिबहरूको जिन्दगीमा – अभाव ।

हिउँदमा पानीको पाईप फुटे जस्तै फुट्छ – गरिबको भाग्य ।

जुत्ता पुरानो भएपछि खाट मुनि फाले जस्तै फालिदिन्छन् नेताहरूले ( गरिबका समस्या ।

विश्व बजारमा कोराना आए जस्तै आई दिन्छ – गरिबको बस्तिमा भोकमरी ।

ओरालो हिँड्दा चप्पलबाट फुत्त बुढी औँला अगाडि निस्के जस्तै – गरिबको घाउमा मल्हम बनिदिन को अगाडि आईदेला ?

भागेर पनि कहाँ जाने ? लुकेर पनि कहाँ बस्ने ? नखाएर बाँच्ने ठाउँ कहाँ होला ? भोक नलाग्ने औषधी कहाँ पाईएला ?

यो गाउँको दुःख सम्झिँदा – भित्तामा पोष्टर टाँसे जस्तै टाँस्न मन छ – नेताहरूको अनुहार

भाँडा बनाउन आउनेले पुरानो भाँडा कच्याककुचुक पारे जस्तै कच्याककुचुक पारीदिन मन छ –“नेता हुँ । जनताको राजनीति गर्छौँ । जनताको समस्या हल गर्छौं भन्नेहरूको अनुहार ।”

कवाडी बजार , बाजुराको हिमाली गाउँ पालिकाको एक बजार हो । हिमाली गाउँ पालिका , सदरमुकाम मार्तडीबाट एक हप्ताको पैदल दुरीमा छ । हिमाली गाउँ पालिकाको पनि बिच्छ्या भन्ने गाउँ , सम्भबत नेपालकै अति दुर्गम र बिकट गाउँ होला । बर्ष भरी गरेको खेती किसानीले मुस्किलले चार महिना खान पुग्छ ।

अब बिस्तारै लाईन तितर बितर हुन थाल्यो । मान्छेहरू छरिएको देखिन थाल्यो । साँझ पनि बिस्तारै ढल्न थाल्यो । चामल नपाईने भएपछि मन भारी बनाएर उनीहरू आफ्नो बाटो लागे ।

यो मृत्यु गोजीमा बोकेर हिँड्नेहरूको कथा हो । यो खल्तिमा सपना बोक्नेहरूको कथा हो । यो पेटमा भोक बोकेर हिँड्नेहरूको कथा हो । अनि आँखामा आँशु बोक्नेहरूको पनि ।

म मेरो बाटो लागेँ । मेरो फिल्ड भिजिट् परिराख्छ । यो बाटो आईरहने , गईरहने बाटो हो ।

जाने बेला मोबाइलमा गीत बजाएँ । शिशिर योगीको–
‘यो देशमा म एउटा मानिस खोजी रहेछु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर