– अनामिका सजल

कलियुगकी राधा हुँ
किन्तु
परन्तु
द्वापर युगमै इति: भइसकेको
कृष्णको निश्चल प्रेम भेटिन्न
अपितु
दुसाशनका बिजहरु यत्रतत्र
सल्बलाइरहेछन्
कंसका काला कर्तुतहरु
छताछुल्ल पोखिइ रहेछन्
म लाज पचाएर
खोजिरहेछु
एक निष्कलंक प्रेम
जसको प्रतिरक्षामा
उत्रने छैनन्
कुनै रुक्मिनीहरु
आँसुको मसाल बोकेर
यहाँ पति बाँडिएको देखिन्छ
प्रेमि खोसिएको देख्ने
आँखाहरु गान्धारी भएका छन्  !

कल्पनाको अर्को पर्याय
प्रेम लेखिन्छ ,गरिन्न
गरिएको प्रेम
लेख्न लायक पनि हुन्न
अचेल प्रेम हुँदैन
आकर्षण हुन्छ
संभोग हुँदैन सेक्स हुन्छ
प्रेमी भेटिँदैन ,पुरुष भेटिन्छ
दुईचार स्खलनपछि
दुत्कारेर हिँड्छ
र भन्छ  ” चरित्रहीन ” !

म लेख्नेछु
प्रेमको अर्को अध्याय
जहाँ हुने छैनन्
कामुकतामा उठेका
भावनाका ज्वारभाटाहरु
र निमोठिने छैनन्
स्निग्ध समर्पणका उद्वेगहरु
नआओ कोही प्रेमको
भर्याङ चढेर
पटकपटक उठ्दैन ढलेको विश्वास
र गुमेको ईज्जत्
लिंग र प्रेमको
प्रकृति अलग छ !!

***

प्रतिक्रिया

सम्बन्धित खवर