– ईश्वर पोखरेल
“जेठो छोरो स्वर्णपुर गयो; उतै घर बनायो । कान्छो देवनगरमा छ; उतै बस्छ । जेठाका छोरादुईटा । एउटा इन्डियामा छ; उसले उतै घरजम गर्यो । अर्को तेह्र वर्षदेखि सपरिवार अष्ट्रेलियामा छ । कान्छोको एउटा छोरो : त्यो पनि ‘घरमा छैन’ भन्ने सुन्छु । कान्छाको दुईटी छोरी; दुबैले आफ्नो घर सम्हालेका छन् ।” आफ्नो बारेमा कमै बोल्ने हरिहर काकाले आज मर्निङ वाकमा आफ्नो परिवारको फेहरिस्त प्रस्तुत गर्नुभयो ।
हामी चौडीमा मर्निङ वाकमा छौं– काँस फुल्ने चौडीमा । काँसका फूलजस्तै सेतै भएका छन्– हाम्रा कपाल पनि ।
काका बाक्लै बिरामी पर्नुहुन्छ । बीचमा धेरै दिन म एक्लै हिडें, काका हिँड्नु भएन । अस्तिदेखि फेरि आउनु भयो । कमजोर मान्छेलाई टाढा कहाँ लैजाऊँ! सधैं हिड्ने गरेको यही चौडीमै छौं ।
र, काकाले फेरि भन्नुभयो– “छोरा/बुहारी, नाति/नातिनी सबै छन्; कहिलेकाँही फोन गर्छन् पनि । भेटघाट नभएको वर्षौ भयो ।”
बोल्दाबोल्दै काकालाई स्वाँ–स्वाँ भयो ।
भुइँमा थचक्क बस्नुभयो ।
अनि काँसको एउटा बुटोलाई देखाएर काकाले भन्नुभयो– “मान्छेको पारिवारिक सम्बन्ध पनि यही काँसजस्तै रहेछ : जहाँ पुग्यो; त्यहीँ जरा छाड्यो, त्यहीँ गाँज हाल्यो; त्यहीँ मौलायो, त्यहीँ रमायो । बीज बुटोसँग त सम्बन्ध छ पनि; छैन पनि ।”
***
प्रतिक्रिया
-
४
