-ईश्वर पोखरेल

बसमा खाली दुइटा सिट । एउटामा म बसें, संगैको खाली सिटमा ऊ बस्यो ।

ऊ अर्थाद को हो, को हो।

बस गुडेर केही अघि पुगेको मात्र के थियो, उसले भन्यो– “अहिलेको कोही पनि ठीक छैन, बुझ्नु भो ?”

मलाई उसले स्रोतामा नियुक्त गरिसकेको रहेछ ।

मैले नियुक्ति स्वीकार गरें । र, मुस्कुराएँ ।

यो मुस्कान शिष्टाचार मात्र थियो; उसले आफ्ना कुरामा सहमत भएको बुझेछ ।

भन्यो– “हिजो एउटा थियो; त्यो पनि चोर । आज अर्को छ; यो पनि चोर । हो कि होइन, भन्नोस् त ?”

अब दुई मिनेट जतिमा बस मेरो गन्तव्यमा पुग्ला । म त्यहीँ झर्छु । यो भेट र यति छोटो समयका लागि म एक अपरिचित मान्छेसंग मतमतान्तर गरौं ? बाझौं ?

म फेरि मुस्कुराएँ । जस्तो शिष्टतावस् उसै उसै मुस्कुराइन्छ ।

उसले फेरि भन्यो– “मलाई त लाग्छ, यो सबै मिलिभगत हो ।” फेरि थप्यो– “हन्ड्रेड पससेन्ट नै मिलिभगत हो । हो कि होइन, ल भन्नोस् त ।”

म बोलिनँ । म नबोलेकोले उसले फेरि भन्यो– “किन बोल्नु भएन नि ।”

मैले सिटबाट उठ्दै भनें– “पससेन्ट हन्ड्रेडमा गणना गरेर निकालिन्छ । तपाई हन्ड्रेड पससेन्ट भन्दै हुनुहुन्छ ।” मैले हाँस्दै भनें- “मलाई बोल्ने ठाउँ/परसेन्ट नै दिनुभएन ।… परसेन्ट अलिक घटाए पो बोल्न तर्क वितर्क गर्न मिल्ला त ।”

बसबाट झरेर अलिक पर पुगेपछि मैले फर्केर ‘हन्ड्रेड पससेन्ट’लाई हेरें; ऊ मलाई नै हेरिरहेको रहेछ ।

तपाईले पनि ‘हन्ड्रेड पससेन्ट’वालालाई सामना गर्नु परेको छ ?।

***

प्रतिक्रिया

सम्बन्धित खवर