– ओमकुमारी बञ्जारा
१
नजिक नजिक सर्दासर्दै पुग्यौ किन छेउ
चाहिएको मुटु हो कि डालीको त्यो सेउ
नभन्नु नि खालि भेटेँ भरि नै छ कलश
तिम्रो मनमा के छ कुन्नि पाइन के रे भेउ
२,
कुटो हातमा लिएँ अनि करेसाबारीमा गई टुकुटुकु खोपेँ
भिन्न भिन्न जातका फलको बिरुवा खोजिखोजि रोपेँ
पाइन्छ नि फलेछन् भने घरमा ताजा ताजा फल खान
आकाशमा गड्याङ्गुडुङ्ग गर्दाखेरि टिनको पाताले छोपेँ
३,
भगवानको अगाडि पनि सम्झिन्थे उनीलाई
साँचेकी थिएँ मुटुभित्र माया जुनी जुनीलाई
अहंकारको बर्को ओड्यो दूरी बढायो आखिर
मेरो चोखो मायाको पाप लाग्ने छ खुनीलाई
४,
भाग्यले जे दियो स्वीकार्नुपर्छ रोजेर पाईंदैन
भगवानसंग मागेको कुरा पनि ढोगेर पाइदैन
हरेक कुराको सीमा र परिबन्द हुन्छ यहाँ
सपनाको कुरा पनि बिपनामा खोजेर पाईंदैन
५,
मुक्तक:
जन्मेपछि मर्नु पर्ने मान्छेको चोला रहेछ
मरेपछि अन्तिम विश्राम धत्तेरि खोला रहेछ
अघाउँदैन लोभी पापी मान्छेको मन कहिल्यै
सोच्दछ मान्छे धार्नी तर जीवन तोला रहेछ
***
प्रतिक्रिया
-
४
