डा. नवराज लम्साल गीत, काव्य, कविता र आम सञ्चारका एक अग्रणी व्यक्ति हुन् । रेडियो नेपाल र बिबिसीमा उनको लामो योगदान छ। जागिर अवधि पाँच वर्ष बाँकी हुँदै रेडियो नेपालको निर्देशक पदबाट उनी स्वैच्क्षिक अवकाश लिएर साहित्यमा क्रियाशील छन् । रेडियो नेपालको जागिर छोडेर कल्प लेख्नैका  लागि उनले चार वर्ष साधना गरे।

चार महाकाव्य सहित १० पुस्तक प्रकाशन गरेका कवि लम्साल समकालीन नेपाली कविताका अग्रज कवि हुन् । उच्चकोटीका महाकाव्यकार हुन्। । धेरैले महाकाव्यमा उनको उचाइ अग्लो मानेका छन् । देवकोटापछि हराएको र सुस्त भएको भनिएको महाकाव्य विधालाई पुनर्जागृत गरेको जस उनलाई जान्छ।

गद्य, पद्य र गीतमा उत्तिकै जमेका डाक्टर लम्साल महाकाव्यमा मदन पुरस्कार प्राप्त गर्ने बिरलै सष्टामध्ये एक हुन् । उनले अग्नि महाकाव्यका लागि २०७८ काे मदन पुरस्कार प्राप्त गरे ।

गहिरो अध्येता, विश्लेषण क्षमता र पूर्व र पश्चिमका ज्ञानधाराहरूको ज्ञाता मानिने डाक्टर लम्साल भाइबहिनी पुस्ता र अझ बढी वर्तमान नेपालको सबभन्दा कान्छो पुस्तासँग सर्वाधिक बढी घुलमिल हुने स्रस्टा हुन्। विभिन्न स्कुल र कलेजहरूको रोजाइमा परेका उनी युवा पंक्तिका बीच सर्वाधिक लोकप्रिय छन्।

उनको कल्प महाकाव्यलाई वैश्विक चेतनाको उच्चस्तरको महाकाव्य मानिएको छ। कतिपय विश्लेषकहरूले नेपाली साहित्यमा पहिलोपटक वैश्विक चेतनाको यो तहको पुस्तक आएको भनेर टिप्पणी गरेका छन्। उनी आफैं चाहिँ आफ्नो पछिल्लो कृति कल्पमाथि के भन्छन् ? कल्पकै सेरोफेरोमा सम्पादक जीवन खत्रीसँगको संवाद प्रस्तुत छ;

१, कल्पका बारेमा शब्दकोशले अनेकौँ अर्थ देखाउँछ । महाकाव्य कल्पले बोक्ने भार र यस कृतिका बारेमा केही बताईदिनुस् न । 

कल्प आफैँमा पौरस्य ज्ञानधाराको एक ज्ञानशृङ्खला हो। सृष्टिदेखि प्रलयसम्मको कथन हो। सृष्टिदेखि विनाश वा प्रलयसम्मको मापन हो तर मैले पृथ्वीको आयुको रूपमा कल्प शब्दको  प्रयोग गरेको छु।

कतै पढेको छु, पृथ्वीका आयु ४ करोड ३२ लाख वर्ष छ। यो अङ्क तलमाथि हुनसक्छ तर पृथ्वीको आयु लामो छ भन्ने कुरा निर्विवाद छ। सय वर्षलाई मान्छेको पूर्ण आयु मानिन्छ । त्यही सय वर्ष बाँच्न खोज्ने मान्छेका कारण पृथ्वी नासिँदै छ। मासिँदै छ। पृथ्वीको स्वत्व, सिर्जना र सामर्थ्य क्षय हुँदैछ।

आज लोभका कारण प्रकृति नासिँदै छ। अज्ञानताको कारण संस्कृति नासिँदै छ। राज्य सत्ताको अहङ्कारका कारण मानवता नासिँदै छ। यो विश्वव्यापी समस्या हो।

आज हिमाल पग्लेको छ । समुद्र तातेको छ । गर्मी बढिरहेछ । जीवजन्तु र प्राणीहरूको बासस्थान सकिँदैछ। वन फडानी बढ्दो छ । पर्यावरणीय असन्तुलन बढ्दो छ । परिणाममा मान्छे यान्त्रिक हुँदैछन् । आत्मदाह र आत्महत्या बढिरहेछ । बाह्य झिलिमिली र भौतिक चमत्कारले मान्छेकोआत्मा मरिरहेछ । संसार विद्रुप हुने क्षणमा छ।

आज पनि युद्ध चलिरहेछन् । मान्छे मरिरहेछन् । शरणार्थीहरू बढी रहेछन् । बेघर र बिनादेश बाँच्न  संसारका कयौं नागरिक अभिसप्त छन्। मानव अधिकारको वकालत गर्नेहरू नै मान्छेलाई वस्तुजस्तै व्यापारयोग्य ठानिरहेछन् । यतिखेर एउटा कविले संसारका यी समस्यामाथि बाणी भर्नु थियो, मैले त्यही काम गरेको हुँ। मान्छे, संस्कृति र प्रकृतिको वकालत गरेको हुँ ।

कल्प मान्छे संस्कृति र प्रकृतिको साझा  दस्तावेज हो।

 

२, हज्जाँरौ गीत र कविताका रचना अनि सङ्ग्रह हुँदै महाकाव्य नै चार ओटा प्रकाशन भैसकेछन् । लेख्ने विषय र उर्जा कसरी प्राप्त हुन्छ ?

लेख्नुभन्दा पर मेरो जीवनमा अरु कुनै महत्वाकाङ्क्षा छैन। मलाई मेरा भाइबहिनी पुस्तासँग घुलमिल हुनुछ । तिनलाई काम लाग्ने र समयलाई सम्बोधन गर्ने काव्य लेख्नु छ । संस्कृति, प्रकृति र मान्छे लेख्नुछ । तिनै विषयमाथि बाणी भर्नुछ। त्यो मेरो कर्म हो, धर्म हो, मर्म हो । मैले इमान्दार भएर मेरो कर्म निर्वाह गरेको छु, गरिरहेको छु । निजी जीवनका सुख, आनन्द र भौतिक प्राप्तिभन्दा मलाई अक्षरमाथि विश्वास छ र त्यही अक्षरको उपासना गरिरहेछु। मेरा पुस्तकहरू त्यसैका परिणाम हुन् ।

मलाई कसैलाई गाली गरेर समय बिताउनु छैन। कसैको चुक्ली, चाप्लुसी, चियो, चर्चा र निन्दा गर्नु छैन। कसैलाई घृणा र गाली गर्ने फुर्सद छैन । त्यसैबाट बचेको समय साधनामा लगाउँछु र किताब लेख्छु। मलाई सडकको रमिता होइन सिर्जनाको चौतारी मनपर्छ । म मैभित्र मलाई व्यवस्थापन गरिरहेको हुन्छु। अन्तर हृदयलाई व्यवस्थापन गर्न सक्यो भने चेतना अक्षर भएर निस्कन्छ । लेख्नु एउटा साधना हो एउटा तपस्या हो । उपासना र अक्षर पूजा हो। कुनै व्यापार वा रणनीति होइन । आफैंभित्र हराउनुको सारमा जीवनको सुकिलो अक्षर कविता भएर निस्किन्छ। म पनि आफैंभित्रको चेतना खोजेर अक्षरमा पोखिन खोजिरहेछु, पोखिइरहेछु।

 

३, दाइ सरल भाषामा भनिदिनुस् न कविता के हो ? एउटा काव्यमा के के कुरा थपेपछि महाकाव्य बन्छ र एउटा कवि महाकवि ?

यो जटिल प्रश्न हो र सरल प्रश्न पनि हो। यसका आफ्नै परिभाषा र सीमा हुनसक्छन तर मलाई लाग्छ, मस्तिष्कको ज्ञानलाई हृदयको कोमलताले छोप्दै गएपछि बल्ल कविता कविता बन्छ। मस्तिष्क मात्रै थोपरियो भने यान्त्रिक बन्छ। भावना मात्रै बग्यो भने अनावश्यक तरलता हुन्छ। मस्तिष्क र भावनाको सारभूत संयोजन भएपछि मात्रै अभिव्यक्तिको मूल संकथन महिमामय कविता बन्छ । कविता अन्तरको आवाज हो। कविता मन्त्र हो। कविता चेतनाको बाणी हो। कविता चैतन्यको मार्ग हो।

बाहिरी वर्णन, विवरण र बयानको भारी कविता हुन सक्दैन । बयान, वर्णन र विवरण सापेक्ष विषयलाई अन्तरको चेतनाको उज्यालोमा मिसाएपछि मात्र त्यो अभिव्यक्ति भाषिक कोमलतामा  कविता भएर निस्कन्छ । संसारको सबैभन्दा प्रिय भाषा कविता हो।

रह्यो महाकाव्यको सन्दर्भ । महाकाव्य महागाथा हो। महाकथा हो। जीवनको गहिरो रहस्यको सप्रसङ्ग सारको सुमधुर कथन हो।

सजिलो भाषामा भनूँ, अनुभूतिको एक झिल्का एउटा फुटकर कविता हो। त्यो झिल्काको आधार र वरिपरिका परिवेश खण्डकाव्य हो। झिल्का हुनुको दिव्य परम्परा, सम्पूर्ण परिवेश र त्यसको महागाथा महाकाव्य हो ।

महाकाव्यले महाकथा, महागाथा र महासभ्यतामाथि बाणीको अपेक्षा गरेको हुन्थ । एक झुलको प्रभाव, एक रहस्य, एक आग्रह वा एक अनुभूतिको सीमाभन्दा माथि उठेर महाकाव्यले विषयको चुचुरोबाट संसारलाई सप्रेम चुम्दछ ।

 

४, दाइको सबै विधामा छिरौँ भने यो वार्ता कम पर्नेछ म महाकाव्यभित्र मात्र छिर्न चाहन्छु । एक एक हरफमा भन्नुपर्दा एउटा भाइबैनापुस्ता जो काव्यको बारेमा नै बेखर छ र सिक्न चाहन्छ, उसले कर्ण, धरा, अग्नि र कल्प कुन अपेक्षासाथ पढ्नुपर्छ?

आजसम्म मलाई पढ्दै नपढेकाहरुले सबैभन्दा पहिले कल्पबाट पढाइ आरम्भ गरिदिए हुन्थ्यो जस्तो लाग्छ। कल्प बाह्य दुनियाँ, अन्तर्जागृति र जीवनका पहलुहरूको जगबाट उठेर शाश्वत चिन्तन गर्ने प्रयास गरेको एउटा महागाथाको अभिव्यक्ति हो।

वर्तमान समयको एउटा तस्बिर हो तर तस्बिरको जगमा मानव सभ्यताको महागाथा छ यसमा । चिन्ता, चिन्तन र  चैतन्यको त्रिवेणी छ । शब्द, रूप, रस, गन्ध र स्पर्श छ। मन, बुद्धि, चित्त, अहङ्कार छ। परा र अपरा छ । बिना अहङ्कार भनूँ, दर्शनका आधारमा पौरस्त्य दर्शन खोज्न चाहनेलाई पूर्व छ, अध्यात्म छ । पश्चिम खोज्न चाहनेलाई पश्चिम छ, अस्तित्वको खोज छ।

एकपटक कल्पमा प्रवेश गरेर हेर्नुस्। कल्प तपाईँले बाँँचेको जीवन, तपाईंको आन्तरिक इन्जिनियरिङ, सपनाको आकार र सपना च्यातिएको आकृतिबीच अस्तित्वको दावा छ ।  म यति भन्न चाहन्छु। बाँकी तपाईँ पढ्नुस्। कल्पले छोएन भने भैगो अरु महाकाव्य नपढ्नुस्। सरल भाषामा सम्प्रेष्य महाकाव्य हो, कल्प।
महाकाव्यको मेरो निर्णायक मोड हो, कल्प महाकाव्य । मेरो जीवनले आर्जेको सम्पूर्ण ज्ञान भण्डार छ कल्पमा।

कल्प पढ्दा तपाईँको समय खेर जाने छैन। यति विश्वास दिलाउन चाहन्छु।

 

५, डा. नवराज लम्सालजस्तै लालित्य सहित धाराप्रवाह बोल्न खोज्ने, नेपालकै प्रतिष्ठित मदन पुरस्कारको ताज पाउन सक्ने गरी लेख्न खोज्नेलाई दाइको सुझाव हुनेछ नवराज लम्सालजस्तो बन्न नखोज्नु, आफैँजस्तो बन्नु तर उसले के के गरोस् दाइ? केही सुझावहरू नवीन पुस्तालाई ।

यो आफैँमा जटिल प्रश्न हो । उपदेश र आदेश मेरो शब्दकोशमा छैन। सल्लाह र सुझाव मान्न चाहने भाइबहिनीहरूका लागि मात्र सुझावका रूपमा केही भन्न चाहन्छु।

आफू आफू जस्तै हुने कोसिस गर्नुस्। कसैको नक्कल नगर्नुस्। आफूले लेखेको आफ्नो सामग्री अरुलाई अरु जस्तो बनाउन नदिनुस्। घोस्ट राइटिङको भूतबाट जोगिनुस्। आफू केही गर्न नसक्ने असफल झुण्डलाई गुरु थापेर उनको आदेशको बाटोमा नहिड्नुस्। जो आफैँ असफलताको भारीले मरिच भएको छ, जो आफ्नै दुश्चक्रमा आफैँ फसेको छ र आफैँ भयको भकारी बाँचिरहेछ, उसबाट तपाईँले मुक्ति पाउनुहुन्न । बेलैमा जोगिनुस्। भोलि समयसत्य थाहा पाएको दिन समय सकिएको हुनेछ । मेरो ४२ वर्षको अनुभव सुनाइरहेछु ।

दाइ भनाउन खोज्नेहरूलाई दाइ भनेर नमस्कार गरिदिनुस् । आदरणीय पूजनीय दाइ भनिदिनुस् तर लेख्न चाहिँ आफ्नै चेतनाले आफ्नै हृदय लेख्नुस् । धेरै साहित्यकारहरू दाइनामको असफल असफल तन्द्रामा हराइरहेछन् । ती आफैँ मृत सपनाको छायामा छन्। तिनीहरूको छायाबाट मुक्त हुनुस्। आदर गर्नुस्, सम्मान गर्नुस्, नमस्कार गर्नुस् तर लेख्ने बेला आफूजस्तै भएर आफ्नै बोध र अनुभूति लेख्नुस्। उनीहरूको छाया वा फोटोकपी हुने कोसिस नगर्नुस् ।

समयलाई चिन्नुस्। समयको विषयलाई समयकै भाषामा लेख्नुस्। पढ्नुस्, पढ्नुस्, पढ्नुस् अनि मात्रै लेख्नुस्। पठनको व्यापकता बिना अभिव्यक्तिको अंश दिन सकिन्न। मजासँग पढ्नुस्। मुटु पढ्नुस्, माटो पढ्नुस्, ममता पढ्नुस्, आँसुका थोपाहरूमा जीवनको मूल्य नाप्नुस्। निराशाको भारी नबोक्नुस्। आशाका नाउँमा उत्ताउलो पनि नबन्नुस्। गाली, गरिबी र यौनका विषयभन्दा माथि उक्लनुस्। जीवनको शाश्वत पक्ष र उज्यालो खोज्नुस्। तत्कालको प्रतिक्रिया र वाहावाहीबाट मुक्त हुनुस्।

अझ केही कुरा थपूँ ? खासमा तपाईँ जीवित भए मात्र दुनियाँ तपाईँको पछि लाग्ने हो। तपाईँ कमजोर भएको दिन तपाईँको उपचार गर्न कोही आउँदैन। भोकै भएको दिन एक छाक खाना लिएर कोही आउँदैन। तपाईँ रोगी भएको दिन सिटामोल बोकेर कोही आउने छैन। तपाईं भरिलो भएको दिन मान्छे नाता र साइनो खोज्दै आउनेछन् । यही सत्य बुझेर आफू आफैँ हुने कोसिस गर्नुस्। आफू हुनुको जगमा आफ्नो धरातल र विगत नबिर्सनुस्।

आफैंँमाथि विश्वास गर्नुस् र आफ्नो ताकतमाथि उभिएर आफैँमाथि विश्वास गर्नुस्। लेखेजति सबै छाप्ने कोसिस नगर्नुस्। यथासम्भव आफ्नो लेखनआफैँले परिष्कार गर्नुस्। परजीवी नहुनुस्। आत्मसम्मानका साथ स्वावलम्वी हुनुहोस्। लेखक हुनुभन्दा पहिला मान्छे हुनुस्। असल मान्छेले मात्रै असल किताब लेख्न सक्छ भन्ने नबिर्सनुस्। त्यही हो मेरो सल्लाह र शुभकामना ।

मेरो कुरा मैले भनेँ तर मान्ने नमान्ने तपाईँका कुरा ।

मलाई सम्झनुभयो सप्रेम धन्यवाद।

***

प्रतिक्रिया

सम्बन्धित खवर