– जीवन खत्री

कविताका कोमल बान्कीमा निबन्धका रङहरू

कविताको कोमल हावामा उडेका हलुका कपासजस्ता बिम्बहरूको खेल हेर्दै दर्शकदृघामा बसेका बेला म रङ्गमञ्चजस्तो यो पृथ्वी पनि एउटा गुच्चाजस्तो पाउँछु । यो आकाश एउटा ठूलो प्वाल जहाँ गुच्चा गुड्दै प्वालमा छिर्छ । (म प्वालनै भन्छु किनकि कुमार नगरकोटीलेझैँ ‘ब्ल्याक-होल’ भन्ने र बुझाउने ताकत म मा छैन्) तर त्यो गुच्चा हान्ने कलिला हात र तिनका कलिला अौँला एउटा कविको भन्दा अरु कसको हुन् सक्ला ? म अक्षरहरूको दुरबिन आँखासम्म टाँसेर नियाल्छु कविले गुच्चा ठानेर उचालेको पृथ्वी फुट्दैन् बरु त्यो ध्यानजस्तो, ज्ञानजस्तो, विज्ञानजस्तो एउटा भिन्दै संसारमा पुग्छ जसलाई कविले कवितामा वर्षौदेखि लेखिरहेको हुन्छ । यस मानेमा सपनाको एउटा उज्यालो बोकेर त्यसकै पथमा हिड्ने ईश्वरजस्तो मान्छे कवि हैन् त ? हो त्यो मान्छे कवि हो ।

कविलाई सम्झिरहेकै बेला मलाई म‍ोमिलाको झट्ट याद आउँछ । यसकारण पनि आउँछ कि उनको पछिल्लो निबन्ध कृति “प्रश्नहरू त बाँकी नै रहन्छन् !” साथमा छ । यही कृति पढेको धङधङी हृदयमा छ र म पागलजस्तो पृथ्वी, गुच्चा, आकाश र प्वाल के के बर्रबराई रहेछु ।

“हँ? के भनेको ?” क‍ोही कसैले सोध्न सक्नेछ ।
“अँ अँ ।” यत्ति भनेर म कतै फुत्त चिप्लिनुपर्नेछ ।

जसरी प्रश्न सोध्नेकै उमेर हत्केलाको पानी चिप्लेझैँ चिप्लिरहेछ तर अल्मल्लीरहेछ क्या सस्तो कुरामा ऊ । म कसरी बुझाउँ घ्यूको बारेमा ? जसलाई जतिनै परिभाषा दिए पनि जबसम्म म घ्यूनै पिलाउन सक्दिन् । तब परिभाषाले के हुन्छ? प्रश्नहरू त मसँग पनि टन्नै छन् । लु बाबु घ्यू खाउ आफैँ बुझ्नेछौ । परिभाषामा घ्यूको सुगन्ध कहाँ?

अहो म कस्तरी अल्मल्लिएको छु बाटोहरूमा । ईश्वर, कवि र मान्छेको कुरा झिकेर म कहाँ बहकीरहेछु ?

बाँकी रहेका प्रश्नहरूकै भीडमा जवाफ पर्खीरहेको भावकलाई मेरा कोरा सवालहरू छन्, हुनेछन् । के कविले कवितामा छुट्टै संसार रचना गरेको हैन्? अनि उसलाई ईश्वर भन्न किन नहुने ? भलै उसका रचनाहरूको ताकतको जिम्मा उसैलाई ।

म पुस्तकतिरै लाग्छु । जवाफ दिएर पनि प्रश्नहरू बाँकी नै रहेको स्विकार्ने किताब । यो स्विकारोक्ति सामान्य कुरा हो र? याँहा त हरकोही आफ्नै जवाफ अन्तिम र सत्य ठानेर भ्रम बाँचिरहेको सबलाई थाहा छैन् र ?

म सोच्छु, एउटा किताब एउटा रुख हो कि? एउटा पहाड हो कि? एउटा हिमाल हो कि एउटा सिङ्गै आकाश? जवाफ पो सिमित होलान्, प्रश्नहरू त हैनन् नि । म प्रश्नहरू त बाँकीनै रहन्छन् आँखाले छामेर हृदयबाट महशुस गर्दैछु । के म असली स्वादको गहिराईसम्म पुग्न सकुँला ? कसैले महको स्वाद गुलियो छ भन्यो भने गलत हुनेछैन् । तर के मह गुलियो मात्र हो ? कतै म त्यही गुलियो मात्रको जवाफमा पुग्ने हुँ कि? किताबै छ तेस्तो । तर बाँकी यी र यस्तै प्रश्नहरूबाट भाग्ने छुट मलाई छैन् ।

कवि, ईश्वर, आफ्नै प्रश्नहरू र म‍ोमिला

ललित निबन्धमा समेत एउटा हिमाल अग्लीसकेकी निबन्धकार म‍ोमिलासँग ईश्वरको अस्तित्वप्रति अनेकन प्रश्नहरू होलान् किनकि उनका निबन्ध र कविताले सधैँ मेरो हृदयको तार झनझन पारिहन्छन् । भन्छन् नि, नरम नरम स्वाद चाखिहिँड्ने अल्लारेले भेटेको डबलसट अमेरिकानोजस्तो वा ‘हार्डड्रिङ्स’जस्तो ।

हृदयमा जलनको आँधी उठेका बेला झ्वाम्मै हामफाल्ने एउटा गहिरो तलाउ अगाडि छ । यसरी अक्षरहरूको नवीन तलाउ निर्माण गर्ने मान्छे ईश्वर हैन् त? तर ईश्वर हुनु छैन्, केवल हुनु छ मान्छे । अक्षरका भर्याङ उक्लिँदै गर्दा बाटो छेकेर मोमिला यसै भन्छिन् र यसैमा मज्जा लिनुपर्ने बताउँछिन् ।

तर म छक्क पर्छु, कुनै सृष्टी गर्ने मान्छे ईश्वरनै त हो । आमालाई ईश्वर भन्न किन नहुने ? म भन्छु, वास्तविक ईश्वर जान्दिन्, ईश्वर भनेको कविजस्तै होला म कल्पना गर्छु । त्यसैको साहारामा बेलाबेला घाँटीका नशा तन्काउँछु । तर यही तर्कमा प्रश्नहरूको चित्र भर्ने क्यानभास म आफैँले खाली राखेको छु किनभने किताब पढेर म यस्तो हालतमा पुगेको छु कि प्रश्नहरू जताततै छन् सल्याङबल्याङ र यी कहिल्यै सकिन्नन् । जुनदिन प्रश्नहरू सकिएका हुनेछन् ती दिन हामी अग्रिम सकिइसकेका हुनेछौँ ।

डबल सट अमिरिकानो र बाँकी प्रश्नहरूको गहिरो तलाउ

किताब खोल्नासाथ हुरुरु उडे अक्षरका पुतलीहरू र फनफन दिमागका घरभरि उडे । सुनेथेँ पुतलीहरू वागमा उड्छन्, फूलमा बस्छन् । तर यी, दिमागको घरभरी उडे र कसकसो अनेकौँ रहरहरू किचिएर दुर्गन्धित बनाएको दिमागको गहिरो तलाउलाई पवित्र बनाए । पढेपछि म झसङ्ग झसङ्ग हुन्छु कतै पुस्तकका २३ थान निबन्धहरूनै त थिएनन त ती ? कि ती परिहरू थिए? २३ थान परीहरू । स्वर्गका परीहरू स्वर्गिय आनन्द बोकेर…

तर मोमिला ईश्वरको स्वर्ग माथि पनि खुसी हुन्नन् र उल्टै स्वर्गिय आनन्दको अन्तिम अर्थ नबुझेरै यो शब्दको प्रयोग गरीरहने मलाई सोच्न बाध्य बनाउँछिन् । स्वर्गको भ्रमण सकेर वाक्क हुँदै भन्छिन्, -“स्वर्ग वास्तवमै निरस छ; सपाट छ; एकाङ्गी छ; स्थिर छ ।” (ईश्वरको अदालतबाट निर्वासित आउटसाइडरबाट) विश्व कसरी धर्मका नामबाट विभाजित छ । तरबार, भाला, बन्दुक, बम र अनुबम अरु के के हो के के । मान्छे त मुला झैँ चटाचट काटिन्छन्; किन? त्यही स्वर्गका लागि । सबैलाई स्वर्ग पाउनुछ र पाउनुछ स्वर्गिय आनन्द । तर के थाहा स्वर्गमा आनन्द छैन् कि? हामीलाई यो कोणबाट सोच्न बाध्य बनाउने निबन्धकार सामान्य हो र?

किन ढाँट्नु, म उस्तो पढन्दास हैन् तर हप्तामा एउटा किताब नछिचोलेको कमै हप्ता होलान् पछिल्ला केही वर्ष यता । दिक्क लाग्ने किताबहरू परे भने बरु पुरानै दोहोर्याउँछु । यही मेचोमा निबन्धहरू पनि पढ्न पाएँ । म आजका निबन्धकारदेखि ताना शर्मा र शंकर लामिछानेको ढोकासम्म पनि पुग्छु ; देवकोटाको दरबारमा बास बस्न नजाने को होला र? तर कसकसो मोमिलालाई पढेपछि निबन्धको सुगन्धमा अर्कै अर्कै मिठास पनि छ भन्ने जान्न पाएको छु । कि निबन्धको स्वादमा नयाँपन पस्किने जमर्को हो निबन्धकारको ?

“उ: मिर्मिरे आकाशबाट ताराहरू झर्दैछन् । त तिनै झर्दै गरेका ताराहरूसँग तिम्रो आयू लामो होस् भनेर वरदान माग्दै छु । तर तिमी पीडाको पहिरो झर्दै गरेको पहाडमुन्तिरबाट आफ्नै चुरोटको धुवाँ हुँदै अनयास आकाशको शून्यमा शून्यसरि अहो! कस्तरी बिलायौ !!…” (देवकोटासँग एउटा साँझ कायान्तरणबाट)

यी शब्द गुच्छाहरू देवकोटालाई थिए । शून्यमा शून्यसरी … अनि आउँछ अहो! ; के शब्दको प्रयोगमा चतुरता हैन र यो ? उनी बिलाए यत्ति न हो भन्नुपर्ने तर कस्तो बेजोड शब्द चयन । यो त एक उदाहरण मात्र हो । हरेक वाक्य वाक्यमा यस्ता कलाको सुवास फैलिइरहेको छ ।

अ‍क्षरहरूसँग मस्का लगाउँदा लगाउँदै म एक ठाउँ पुगेर चसक्क हुन्छु मृत्युको सौन्दर्यिकरण देखेर । मृत्युसँग कसकसो भय छ मलाई । हुन त, मरुँला कि भन्ने भय कसलाई छैन् र? भय नहुँदो हो त कति मान्छेहरू उड्ने सपना बोकेर आफ्नो जीवन लथ्रक लथ्रक घिसारीरहेछन् । के हाम फाल्दैनथे होला त मृत्युको भीरमा? तर मोमिला पाठकलाई अवसम्भावी मृत्युलाई बुझाई दिन्छिन्, “मृत्युको सौन्दर्य सचेत स्विकार गर्नु भनेको सत्यमा जीवनको अराजक सौन्दर्यमाथि विश्वास गर्नु पनि त हो !…” (मृत्यु सौन्दर्यबाट) उनलाई मृत्यु पनि अराजक चाहिन्छ अनि मात्र मृत्युको उत्सव मनाउन सकिन्छ ।

“आँधीले पनि भिखारीलाई नउडाएर किन आफैले कोरेका रेखाहरूको अडेसाले यही हत्केलामा थामेका मेरो जिन्दगी नामको पेन्टिङ्गनै उडाउँछ बारबार ! ….” (झर्दै गरेको पातको कहानीबाट)

यो पढ्दै गर्दा म घरी देवकोटा घरी शंकर लामिछानेलाई सम्झिन्छु । निबन्धका बिराट उहाँहरूलाई प्रश्न गर्न चाहन्छु । हैन् तपाईँहरू छिटो हुनु भएको कि मोमिलालाई बिस्तारै आउनु परेको यो धर्तीमा? कतै त्यो उचाईलाई अझ बढाउनु भन्ने आशीर्वाद त छैन् मोमिलामाथि । मोमिला हर अंकले मेरो अग्रज हो तर कसकसो निबन्ध पढेपछि मोमिलाज्यू तपाईँ अलि छिट्टै जन्मनु भयो कि भन्ने लाग्छ । शंकर लामिछानेले कतै लेखेका थिए क्यार, मेरा अक्षरहरू आजका पाठकलाई हैन् पचास वर्ष पछिका लागि हुन् । यस्तै केही । म त्यही सम्झिरहेछु ।

जीवन र मृत्यु यी दुई बोधको खाँबोमा झुण्डीएको समयबोध भित्रका हाम्रा समय कम्ता रोचक र नाटकिय छैनन् । हामी खोजी खोजी दु:खका पहाडहरू बोक्छौँ । नत्र हामीलाई हामी हुनुको अस्तित्वनै कहाँ प्राप्त हुन्छ र? यसैमा उत्सव खोजेर हर समय मानवलाई उच्च आसनमा विराजमान गराउने निबन्धकारको ध्येय देखिनुले मानव जीवन क्या चिज रहेछ भन्ने बोध गराउँछ । मलाई यसै यसै गर्व लाग्छ कि म कम्तिमा मोमिलाको समयमै जन्मिएको छु । र उनलाई छोएर उड्ने हावा कताकता म भएसम्म पनि आईपुग्छ ।

मअक्षरहरूको ताकत र तिनका स्पर्शको खुसीले पागलजस्तै भएको छु यतिबेला । हर वाक्यहरूमा भेटिने बिम्ब, प्रतिक, शक्ति, बोध, ताकतहरूले पूर्ण भरिपूर्ण पुस्तकलाईनै उद्दरणमा राख्नु बेस होला । वेद ऋचाजस्ता पुज्य र भरिला ।

अन्त्यमा

निबन्धहरू पढ्दा पढ्दै मनमा प्रश्न आउँछन् अनेक र तिनैले डोकाभरीभरी जवाफ दिएर जान्छन् । भनेँ नि अमिलो भनेको के भन्नेलाई हातमा कागती थमाईदिनु कस्तो शानदार कुरा । तर खानेले त्यो ताछेर खान पनि जान्नुपर्छ । बोक्राको पनि दबाई हुन्छ भन्ने कुरा पनि जान्न आवश्यक छ । बदाम छोड्उँदै एक एक दाना हावामा उडाउँदै क्वाप्प पार्नुको मज्जा अर्काले दिएकोमा कहाँ? म छोडाउनुको आनन्द लुटीरहेछु ।

पुस्तक पढेपछि अनेकन प्रश्नहरू त बाँकी छन् नै किनकि सङ्ग्रहलेनै सत्यको माझमा जुराएको नाम हो त्यो । तर यति बुलन्द निबन्ध सङ्ग्रहको चर्चा किन हुँदैन् साहित्य वृतमा ? समकालीन पुस्ताले पढ्दैन भन्ने आरोप लगाउनु मिथ्या हुन्छ तर ऊ किन मौन छ ? के उसले पढेको छैन् यो कृति? कि उसले बुझेन घ्यूको स्वाद? कि डाह गर्छ समकालीन समय ? कि आफू मात्र दगुर्न चाहन्छ भ्रमको बस चढेर ? किन? किन? मसँग त यस्तै प्रश्न बाँकी रहेका छन् तर मेरा प्रश्नले

तर जे जे भनेपनि म आजको पुस्तालाई आरोप पटक्कै गर्दिन् । मलाई लाग्छ, कि पढ्न बाँकी छ उसले कि ऊ छिट्टै जन्मियो । यही सोचेर आँखा चिम्म गर्छु । कोही परबाट चिच्याउँछ, ‘अँह हैन्, प्रश्नहरू त बाँकी न‌ै रहन्छन् ! पनि प्रकाशन भएको छ । हैन् र?’ खै होला तर लेखकले पो जवाफ दिने होला । पर्खौँ ।

म उस्तो बुझ्दिन् तर कसकसो निबन्ध पनि त काव्यकै समकालीन उचाइमा उभिन्छ भन्ने लाग्छ । यतिको गज्जब कृति आउँछ अनि फेरि पाठक चुपचाप छ । किन? यसको जवाफ कसले दिने हो ? यही प्रश्न मसँग पनि बाँकी छ । कतै तपाईँसँग फरक स्वाद र लालित्यको निबन्ध कृति पढ्ने चाह र त्यो कहाँ भन्ने प्रश्न छ भने कृपया “प्रश्नहरू त बाँकी नै रहन्छन् !” पढ्न नभुल्नु है । इति ।

***

कृति – प्रश्नहरू त बाँकी नै रहन्छन्
विधा – निबन्ध
निबन्धकार – मोमिला
मूल्या – रु.५७५/-
प्रकाशक – पेज टर्नर

प्रतिक्रिया

सम्बन्धित खवर