– विजय हितान
बिहान मिर्मिरेमै एली कार लिएर आइन् । हामी जाने गन्तव्यको बाटैमा पर्छ मेरो घर । गएको शुक्रबारै बनाएका थियौं सँगै जाने योजना । झोला पछाडिको सिटमा फालेर म एलीसँगै बसें अगाडि ।
“गुड मर्निङ एली ! कस्ती छौ ? सप्ताहान्त कस्तो रह्यो ?” सिटबेल्ट बाँध्दै सोधें ।
“चिसो मौसमका कारण कतै गइन“ । कुकुर डुलाउन बिहान, बेलुका डाबर नदीको किनारतिर निस्कें । माफ गर, मेरो कार अलि फोहोर होला है ! के गर्ने, कारमा कुकुर राखेर हिँडाउनुपर्छ ।” कार हाइवेतिर हुइँक्याउँदै प्रतिप्रश्न गरिन्— “तिमी नि ?”
“म पनि कतै गइन“ । हार्बर हु“दै समुद्री तटतिर मर्निङ वाक गरें । मन लोभ्याउने छालको सुमधुर सङ्गीत सुन्न सार्है मज्जा लाग्छ मलाई तर स्निग्ध समुद्री किनारमा प्लास्टिक र फोहोर देख्ता भने एकदमै नमज्जा ।” दायाँबायाँ गुडिरहेका गाडीहरुतिर आँखा घुमाउँदै भनें मैले ।
“हो नि, त्यो पवित्र स्थान हो भन्ने थाहा पाउँदा पाउँदै पनि मान्छेको विवेकमा बिर्को लागेको छ । खानेकुरा खाएर तिनका खोल, पानीका बोतल, झोलाहरु फालिरहन्छन् । यसलाई अनियन्त्रित विश्वविकृतिको रुपमा लिनुपर्छ ।” मेरो ध्यान भङ्ग भयो ।
गाडीहरु लेन फेर्दै उछिनपाछिन गरिरहेका थिए । सायद सबैलाई हामी जस्तै गन्तव्यमा पुग्न हतार छ । तर, कसैलाई मतलब छैन— पछाडिको एक्जस्ट पाइपबाट वातावरणको घाँटी निमोठ्ने कार्बन डाइअक्साइड जस्ता दूषित ग्याँस उत्सर्जनको मात्रा कहाँ पुग्यो !
यो कस्तो मूल बाटो हो, जहाँबाट प्रतिघण्टा हजारौं मानिस आवतजावत गर्छन् तर ‘नमस्कार, कहाँबाट आउनुभो ? कहाँ जाने ?’ भनी सोध्ने फुर्सद छैन कसैलाई । त्यसैले त यो हल्लैहल्लाको मूल बाटो दिनरात एकान्तमा लम्पसार परिरहेको छ ।
झ्यालको सिसा झारें एकैछिन ताजा हावा लिन । हाइवे खोला जस्तै सुसाइरहेको थियोे ।
“त्यसरी मर्निङवाक गर्दा रहेछौ र त यो उमेरमा पनि जवान देखिन्छौ ।” एलीले आफूलाई ऐनामा हेर्दै सद्भावका शब्द बर्साइन् ।
धन्यवाद दिँदै गमक्क परेर भनें— “एउटा कुरा सोधूँ तिमीलाई ?”
“भन न के हो ?” उनको अनुहारमा जिज्ञासा तैरियो ।
मैले भनें— “भो भन्दिनँ, बा तिमी रिसाउने हौ कि ?”
हाम्रा कुराकानी जति जति बढ्दै जान्थे, उति उति गन्तव्यको दूरी घट्दै थियो ।
सधैं कार चलाएर हिँड्न अल्छी लाग्छ । संसारमा कसैलाई हिँड्दा हिँड्दा दुःख छ भने कसैलाई कारमा चढ्दा पनि दुःखै छ । यस्तै होला है विकसित देशको सहरी जीवन ! आज अरुकै कारमा बस्ता आनन्द आएको छ । त्यसमाथि एली जस्ती सुन्दर युवतीले हाँकेको गाडीमा मन्द मुस्कानसहित गफ गर्न पाउँदा के चाहियो ! गोरा युवतीहरु छालैले राम्रा देखिन्छन् ! गालाको डिम्पल र ब्लन्ड केशले झनै सुन्दर एली !
“अगाडि हेरेर चलाऊ, हतार नगर ! समयमै पुगिन्छ ।” सावधानीतर्फ सचेत गराउँदै पुलुक्क हेरें एलीतिर ।
मलाई देखाउन हो कि, उच्च गतिमा थिइन् उनी । गतिसीमा सत्तरी भए पनि असी माइल प्रतिघण्टा गुडिरहेको थियो कार । उहिले गर्लफ्रेन्डलाई मोटर साइकलपछाडि राखेर पोखराबाट स्याङ्जा झरेको सम्झिएँ अचानक ।
आधा बाटो कटिसकेका थियौं, आकाश खनिन थाल्यो कारको स्क्रिनमा । लाग्थ्यो, हामीलाई रोमान्टिक बनाउन कसैले कारमाथि पाइपले छर्किरहेछ पानीको फोहरा ।
“डरायौ ? डराउनु पर्दैन, निर्धक्क बस ! म समालिहाल्छु नि ।” उनले कारको रुझेको अनुहार वाइपरले पुछ्तै सान्त्वना दिइन् ।
समयमै लन्डन पुग्यौं । स्वागत कक्षमा नाम दर्ता गरायौं र आआफ्नो नाम अङ्कित ब्याज भिरेर एकै लाइनको कुर्चीमा ओल्तिरपल्तिर बस्यौं ।
अगाडि भित्ताको पावरपोइन्ट डिस्प्लेमा ‘फोहोर पानी प्रशोधन केन्द्र र यसले पार्न सक्ने वातावरणीय प्रभाव’ शीर्षक प्रदर्शन गरिएको थियो ।
घरबाट टेक्स्ट आयो— “बिहानै हिँड्नुभएछ आज त, म ओछ्यानमा हुँदै । कार पनि यहीँ छाड्नुभएछ ।” कल्पना गरिरहेको सङ्लो पानी घरको शङ्कालु टेक्स्टमा धमिलो देखें एक्कासि ।
मैले पनि टेक्स्ट गरें— “हो, हामीले कार सेयर गर्यौं । एलीले मलाई ड्राइभ गरेर ल्याइन् । म अहिले वातावरणीय सेमिनारका लागि लन्डन आएको छु ।”
“ए, त्यसो पो ! खुब मज्जा भएछ है ? बाई !”
उताबाट फ्याट्ट जवाफ आएपछि सम्झिएँ— उहिल्यै मेरा बा कतै टाढा गएर महिनौं घर फर्कन नसक्ता आमा कसरी बसिहोलिन् ? त्यो बेला बाको हातमा मोबाइल भएको भए आमा पनि यस्तै भन्थिन् कि ?
केही बेर फोनमा आँखा घुमाइरहें, उताबाट अरु कुनै टेक्स्ट आएन ।
परार एक बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित पानी प्रशोधन केन्द्रको मेसिन बिग्रदाँ फोहोरमैलाको ढल बिनाट्रिटमेन्ट पानीमा मिसियो । फोहोर पानी नदीमा पस्ता माछाजति सोत्तर भए । मरिनामा राखिएका डुङ्गाहरुलाई प्रदूषणले ठुलो असर पार्यो । ‘वातावरण प्रदूषण गर्नु अपराध हो’ भन्ने कानुनी विषयलाई एन्भाएरोन्मेन्ट एजेन्सीले अनुसन्धान गरेर उक्त कम्पनीलाई अदालतमा उभ्याएको थियो । मुद्दा जितेर बिस मिलियन पाउन्ड पनि जरिबाना तिराउने सफलता मिलेको थियो । त्यो मुद्दा कसरी तयार पारियो, केके सिकियो, तिनै कुराहरु सेयर गर्नु थियो सेमिनारको औचित्य ।
मोबाइलमा फेरि अर्को टेक्स्टको घण्टी बज्यो— “कति बजे आइन्छ ? सदाकै नर्मल टाइममै होला नि ?”
“अँ, छ बज्नुअगि आइपुग्छु ।” मैले जबाफ लेखें ।
हामी कार्यक्रम सकिएपछि आज्ञाकारी भएर कतै अलमल नगरी घर फर्कियौं ।
गोधूलि साँझमा एलीले घरअगाडि ल्याइपुर्याइन् मलाई ।
“एकैछिन भित्र बसौं । कफी पिएर जाऊ ।” कारबाट ओर्लंदै अफर गरें ।
“ठिकै छ, अबेर भयो, तिम्रो परिवारलाई डिस्टर्ब होला, धन्यवाद ! बरु, बिहान ‘के भन्छु’ भन्दै थियौ नि ?” उनले सोधिन् ।
“भो, पछि भनुँला । ऐले उचित वातावरण बनेन ।” मैले पनि टारिदिएँ ।
“बिहान अफिसमै भेट्ने” भन्दै उनी हुइँकिइन् ।
मैले ढोकाको घण्टी बजाएँ । साँझको आठ बजिसकेछ । लामो ट्राफिक जाममा परियो हाइवेमा । दुर्घटनाले बाटो बन्द नभएको भए अगि नै आइपुग्ने नि । ढोका नखुलेपछि चाबी निकालेर ढोका खोलें ।
उनको काम साँझ चार बजे सिद्धिनुपर्ने ! तर घरमा थिइनन् । फोन गरें, लागेन । भान्छा सुनसान थियो । माथि शयनकक्षमा उक्लिएँ, ढोका ढकढक्याएँ, खुलेन— “निलम !”
एकैछिनपछि कसैले घरको मूलद्वार ढकढक्यायो । हेरें, चाइनिज टेकअवे ल्याएको गोरो केटो ।
“ए तिमी ? कति हो ?”
“कृपया, एघार पाउन्ड पचास पेन्स !”
“यी, ल ।”
“धन्यवाद !”
भोक लागेको थियो । स्पेयर रिब्स र नुडल खाए“ । टिभी हेर्दाहेर्दै सोफामै निदाएछु ।
घडीको अलार्मले निद्रा खोलिदियो । म जुरुक्क उठें । शरीर निकै थकित पाएँ । उनको ढोका अझै बन्द थियो । म एक कप कफी पिएर हिजोकै सुटमा अफिस लागें । हिँड्नुअगि एउटा नोट लेखेर टेबलमा छाडें—
“निलम,
म जे साधन प्रयोग गर्छु, मेरो कार्बन फुटप्रिन्ट त्यसमा निर्भर हुन्छ । तिमीलाई थाहै छ, जलवायु परिवर्तनको प्रमुख कारण वायुमण्डलमा कार्बन डाइअक्साइड उत्सर्जनको असर हो । हाम्रो अफिसको नीति तिमीलाई विदितै छ— हिँडेर जानु वा साइकल चलाएर । यी दुईबाट पुग्न असम्भव भए कि रेल कि बस समात्नू । ती पनि सम्भव नभए मात्र अन्त्यमा कार प्रयोग गर्नु । अन्य सहकर्मी पनि एउटै ठाउँमा जाँदैछन् भने कार सेयर गरेर जानु ।
यही नीति पालना गर्ने क्रममा म एलीसँगै गएको हुँ लन्डन । हामीले हिजो कार सेयर गर्दा झन्डै २४ किलो कार्बन उत्सर्जन हुनबाट जोगाएका छौं । जसरी तिमी मेरो जीवनसँगिनी बनेकी छ्यौ, मलाई लाग्छ, तिमी म जस्तै वातावरणमैत्री पनि छ्यौ ।
तर याद गर, कार्बन फुटप्रिन्ट घटाएर वातावरण जोगाउन खोज्दा घरबार नजोगिने भयो भने म अब यस्तो कहिल्यै गर्ने छैन ! हुन्छ, भरे भेटौंला ।
उही तिम्रो हब्बी”
कार्यालयमा एली कफीका लागि केट्लीमा पानी बसाल्दै थिइन् । म टुप्लुक्क पुगें ।
“मलाई पनि हो कफी ?”
“हिजो के कुरा भन्छु भन्थ्यौ, भन न प्लिज !”
“तिमीले कुकुर पालेकी रहिछौ । यहाँ फुटपाथ र पार्कतिर कुकुरको गुहु टेक्तै हिँड्नुपर्छ । उता नेपालका बाटाहरुमा मान्छेको गुहु किच्तै हिँड्नुपर्छ । तिमी त उठाउँछ्यौ होला नि तिम्रा कुकुरको गुहु र हाल्छ्यौ होला ढ्वाङमा ?”
आफ्ना सन्तानभन्दा पनि बढी कुकुरलाई माया गर्ने एलीले आफैलाई मात्र कफी बनाइन् । उनी दिनभर बोलिनन् ।
कार्बन फुटप्रिन्ट घटाउन खोज्दा उता स्वास्नीको ईष्र्या बढ्ने, यता सहकर्मी रिसाउने !
गार्हो विषय हो वातावरण संरक्षण !
***
प्रतिक्रिया
-
४
