– नवराज न्यौपाने ‘मौन’
गजल १
उचाल्न खोज्छु देश यो, विदेशमा रह्यौ तिमी
विरक्त लाग्छ जिन्दगी, कथा भुली गयौ तिमी
भएन देश चम्किलो, रहेन आत्मनिर्भर
युवा जमात रित्तिए, पराइको भयौ तिमी ।
हिमाल हास्छ गर्वले, लुकाउँदै व्यथाहरू
अनन्त भाव उर्लियो, वृथा सबै सह्यौ तिमी ।
रहेन धर्म नाममा, रहेछ मात्र दाममा
सहेर चोट मर्मले, नदीसरी बह्यौ तिमी ।
रहेछ प्रेम गर्विलो, गएछ बैँस उर्वर
र फर्क भन्छ गेहले, कथाहरू कह्यौ तिमी।
(बहर : हजज मुसम्मन मकबुज )
गजल २
मनुष्य गर्छ साधना, मिलाप उन्न सक्दछ
लिएर मात्र धीरता, विलाप सुन्न सक्दछ
चुलिन्छ वर्ग चेतना, सिकाउने कुनै भए
डुबेर राष्ट्रप्रेममा, हिसाब गुन्न सक्दछ
स्वतन्त्र मार्ग रोज्छ जो, बनेर आज आँटिलो
खराब पात्र बिर्सिदै,सुपात्र चुन्न सक्दछ
प्रकाशपुञ्ज फैलिए, हिमाल हाँस्छ सुस्तरी
विकास गर्न तम्सिए, नदी नि थुन्न सक्दछ
इमान मात्र बोक्छ जो, समान देख्छ लोक यो
गमेर पाइला उठे, प्रशस्ति सुन्न सक्दछ
( बहर: हजज मुसम्मन मकबुज)
***
प्रतिक्रिया
-
४
