– लक्ष्मी आचार्य
मलाई तिम्रो बन्नु छैन
अनि म तिम्रो हो भन्नु पनि त छैन??
मलाई त मेरै बन्नु छ
म भित्र “म” कै प्रेम जगाएर
झिलिमिली बनाउनु छ आफैँलाई ।
उज्यालो त जो कोहीलाई मनपर्छ
मलाई भने निष्पट्टताभित्र रुमलिएको
आफ्नै अनुहार मन पर्न थालेको छ अचेल ।
तिमीलाई समथल जिन्दगी मनपर्छ होइन ??
मलाई त जिन्दगीभित्रका
अपत्यारिला भीरहरू मनपर्छ
किनकी म भीरहरूलाई प्रेम गर्छु
थाहा छ ,तिमी फूल मन पराउँछौ
म फूल झरिसकेको लोभलाग्दो वृक्ष मन पराउँछु
किनकि भोलि फेरि फुल्नु छ त्यो वृक्षले
र सुगन्ध छर्नु छ मानसपटलका
विचित्र रङीन फाँटहरूमा ।।
तिमीलाई जून असाध्यै मनपर्छ
मलाई जूनकिरी असाध्यै मनपर्छ
कति फरक छ है भोगाइ र रोजाइमा?
तिमीलाई सुनौलो प्रभातसँगैको
रङ्गीन दिनको परिकल्पनामा
सजिएको प्रहर मन पर्छ।
मलाई त्यही परिकल्पनाले
लत्याएर फालेको गोधूलि मन पर्छ …
भोलिको उज्ज्वलताको आशामा ।
तिमी आँखा रोजेर आँसु त्याग्छौ
मलाई आँसु मन पर्छ र त आँखा त्याग्न सक्छु
मलाई थाहा छ , आँखा रोजेँभने
आजीवन निथ्रुक्क हुनुपर्ने छ मैले ।।
तिमी संसारको लागि
आफ्नो मुटु त्याग्न सक्छौ
म आफ्नो मुटुको रक्षार्थ संसार त्याग्न सक्छु
लाग्छ,यो त्याग पनि कस्तो विचित्रको???
***
प्रतिक्रिया
-
४
