उमा सुवेदी नेपाली साहित्यमा चिनाईरहनु पर्ने नाम हैन् । एक दशक अघि तोदा उपन्यास लिएर आएकी उनलाई उक्त उपन्यासले साहित्यमा शसक्त परिचय दिलायो । इति, सयौँ पुतली उनका शसक्त आख्यान कृति हुन् । कुनै पनि विषयलाई गम्भिर चेत र नवीन शैलीका साथ पस्किने उनको पछिल्लो उपन्यास परिधि हो । यसै परिधिको सेरेफेरोमा रहेर सम्पादक जीवन खत्रीले सुवेदीसँग गरेका पाँच प्रश्न र उनको जवाफ;
१. परिधि उपन्यासका बारेमा छोट्करीमा बताइदिनुहोस् न ।
– परिधिमा मैले मानिसको मनभित्रको जटिलतालाई उजागर गर्ने प्रयास गरेकी छु । यो उपन्यास मानिसको मन, मस्तिष्क र चेतनाको कथा भन्न लेखिएको हो । स्वैरकल्पना शिल्प प्रयोग गरेर लेखेको भए पनि यो उपन्यास मुलतः समाजभित्रकै पात्र र परिवेशको कथा हो । उपन्यासमा घटनाक्रमहरु अकल्पनीय किसिमले या अपत्यारिलो किसिमले घटित भएजस्तो देखिए पनि वास्तवमा यो हाम्रा वरिपरि रहेका पात्रहरुकै कथाव्यथा हो । तिनीहरुकै भोगाइ र अनुभूति हो । यस उपन्यासका पात्रहरु आफ्नै संसार बनाएर, आफ्नै काल्पनिक भुगोल तयार पारेर, आफ्नै ब्रह्माण्ड बनाएर र त्यसकै परिधिमा आफूलाई चलायमान बनाइरहेका छन् ।
२.उपन्यास खासमा के हो ? तपाईँ विशेषतः आख्यान नै किन लेख्नु हुन्छ ?
– उपन्यास आफैँमा फराकिलो आयामसहितको आख्यान विधा हो । उपन्यासभित्र पूरै समाज, संस्कृति, राजनीति, मानिसका स्वभावजन्य कुराहरू, अन्याय, शोषण, प्रेमवियोग आदि अटाउन सक्ने भएकाले मेरो रोजाइमा उपन्यास परेको हो । तर निबन्ध,नाटक या कविता मेरो प्राथमिकता नै होइनन् भन्ने होइन । गजल मेरो प्रिय विधा हुँदै हो । आज पनि लेख्ने गर्छु । गीतहरू लेखिरहेकी हुन्छु । बेलाबखत कविता पनि लेखिरहेकी छु । तर यति हुँदाहुँदै पनि आख्यानमा मेरो बढी अभ्यास भयो र त्यसले मलाई आफ्ना भावनाहरू पात्रका माध्यमबाट व्यक्त गर्न सजिलो लाग्न थालेको चाहिँ पक्का हो ।
३. हुन त लेखनमा नारी पुरुष हुँदैन भनिन्छ तर व्यवहारले प्रष्ट पारिहाल्छ । नेपाली साहित्यमा नारी लेखकहरू यसै पनि कम छन् । एउटा पुरुष लेखकका तुलनामा सफल लेखक हुन महिलाहरूलाई असहजता के के हुँदा रहेछन्? यहाँलाई निरन्तर लेख्ने वातावरण कसरी प्राप्त हुन्छ?
– विगत एक डेढ दशक यता महिला लेखन साह्रै सशक्त भएको कुरा प्रबुद्ध लेखक र समालोचकहरूले पनि स्वीकार्न थाल्नु भएको छ । महिलाको मेहेनत र सिर्जनालाई हलुका रुपमा लिइदिने र खासै चर्चा नगरिदिने समाजमा अरु महिला लेखकले जेजस्ता समस्याहरुसित जुध्नु पर्छ । ती सबै समस्या मैले पनि भोगेँ । हाम्रो समाज अझै पनि सङ्क्रमणकालीन स्थितिमा छ । समाज चेतनाको तहमा अझै पनि परिपक्व भइसकेको छैन । कतिपय प्रबुद्ध, प्राज्ञिक व्यक्तित्वहरूमा पनि समाज, समाजका समस्या, लैङ्गिकता आदिका बारेमा कमजोर बुझाइ व्याप्त छ । त्यसैले पनि हामीकहाँ पहिचानको, विभेदको बहस जेलिएको अवस्थामा छ । समाजले के चाहिरहेको छ भन्ने कुरा अझै स्पष्ट भइरहेको छैन । महिलाका बारेमा त समाज झन् धेरै विभाजित छ । अब रह्यो लेखनको वातावरणको कुरा । लेखनका लागि चाहिने नै समय व्यवस्थापन, धैर्य, विश्वास र आत्मबल रहेछ । अहिलेसम्म घर र साहित्य दुवैलाई सँगसँगै हिँडाइरहेकी छु तर कहिलेकाहीँ लेख्न ठिक्क पारेको विषय भान्सामा सब्जीको झ्वाइँसँगै उडेर हराउँदा सारै दिक्क लाग्छ ।
४.परिधि अलि पृथक छ र पुरै नपढी यसको पूर्ण कथा बुझिन्न भन्ने पाठकहरू पनि देखिए । यसको रचनागर्भबारे बताईदिनुस् न ।
– ’परिधि’ मैले परम्परागत् लेखन शैलीलाई पच्छ्याएर लेखेको हैन । त्यसैले परम्परागत पठन प्रकृयाबाट परिधिलाई बुझ्न पनि सकिँदैन । यथार्थभन्दा पृथक पनि कथावाचनका शिल्पहरू हुन्छन् भन्ने ’माइन्डसेट’ बनाएर पढियो भने छर्लङ्ग बुझिन्छ । कोरोनाकालमा म एउटा अल्पकालीन जागिरको क्रममा दुई वर्ष जति सुदूरपश्चिममा बसेँ । लक डाउनका बेला हामी सबैले भोगेको साझा कुरा थियो–एक्लो पन । त्यो एक्लो पनले मलाई आफूभित्र नियाल्ने अवसर दियो । यसक्रममा मैले त्यहाँ एकजना अनौठो पात्र भेटेँ । उनको संसार र मेरो संसार एउटै थिएन । उनीसितको भेटले त्यो एक्लोपनको बेलामा मेरो मन, मस्तिष्कमा लगातार झड्का दिइरह्यो । हामीले आफूले देखिरहेको जगतको कुरा त कति लेख्छौँ कति । तर आफ्नै मस्तिष्कभित्रको संसारप्रति हामी अनभिज्ञ नै भैदिन्छौँ । तर हामीलाई आफ्नो दृश्यवान् संसार रोचक लागेझैँ कसैलाई आफ्नो मस्तिष्कभित्र निर्माण भएको समानान्तर संसार पनि रोचक लाग्दो होला । उसलाई त्यही संसार नै प्रिय लाग्दो होला । यही सोचबाट यो उपन्यास लेखनको शुरुवात भएको हो ।
५, तपाईँलाई तोदा मात्र पढेका वा तोदा, इति र सयौँ पुतली पढीसकेका पाठकले परिधि नपढे के छुट्छ भन्ने लाग्छ?
– परिधि उपन्यास पाठकहरुमाझ परम्परागत शैलीमा कथा सुनाउन आएको होइन । यसले मानिसभित्रको मन, मस्तिष्क र चेतनाको कुरा बताउन या भन्न आएको हो । यसमा मैले आफ्नै अघिल्ला लेखनको शिल्प, शैली र प्रस्तुतिको बान्कीलाई भत्काउने प्रयास गरेकी छु । यो उपन्यासका घटनाक्रमहरु फरक ढङ्गले घटेका छन् । यसभित्रका कथा र तिनको प्रस्तुति नितान्त फरक छ । पात्रहरु हाम्रै छेउछाउका लाग्छन् । तर तिनको भोगाइ र सोचाइले तिनलाई पनि अरु आम पात्रभन्दा बिल्कुलै फरक बनाउँछ । मेरा अघिल्ला पुस्तकमा दृष्य संसारका कुराहरु छन् भने परिधिमा मान्छेको मन मस्तिष्क र चेतनाका कुराहरु छन् । पात्रको बोकेको समानान्तर संसारका कुराहरु छन् ।
***
प्रतिक्रिया
-
४
