मोरङको पुरानो सदरमुकाम रंगेलीमा स्थायी बसोबास गर्दै विगत लामो समयदेखि साहित्य लेखनमा क्रियाशील रमेशचन्द्र अधिकारी ग्रामीण विकास विषयमा स्नातकोत्तर गरि अध्यापन कार्यमा संलग्न छन् । रंगेलीकै जनता क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत रहेका उनी साथै विभिन्न शैक्षिक संस्थाहरुमा शिक्षण गर्दै आएको लामो अनुभव समेत संगालेका छन् । २०७१ सालमा आमाको माया नामको सचित्र बाल चित्रकथा, २०८२ सालमा नेपाली निबन्धमाला (बालनिबन्ध संग्रह) प्रकाशित गरेका उनको हालसालै माझीहाडाम कविता संग्रह प्रकाशित छ । यसैको सेरोफेरोमा सम्पादक जीवन खत्रीले कविलाई गरेका पाँच प्रश्न र कविको जवाफ;
१) माझीहाडामको बारेमा संक्षेपमा पिचय गराईदिनुस न ता कि पाठकले यो कृति छनोटका लागि सहयोग पुगोस् ।
प्रकाशन सन्दर्भमा रेडपाण्डा बुक्सले प्रकाशित गरेको यस पुस्तकमा ३१ वटा कविता छन् । आजको समाजमा पहिचान हुनुपर्ने विषयहरु कविता संग्रह भित्रका कविताहरुले उठाउन खोजेका छन् । बाँकी पाठकले पढेपछि भन्नुहोला
२) कृतिको नाम अलि भिन्न लाग्यो, खासमा यो नामले के अर्थ राख्छ? किन छनोट गर्नुभयो?
– माझीहाडाम शब्द संस्कृतिमा एकदमै धनी पूर्वी तराईको सन्थाल समुदायको साँस्कृतिक बिम्ब हो । सन्थाल समुदायमा धार्मिक तथा साँस्कृतिक कर्मको अगुवाई गर्ने मुखिया लाई माझीहाडाम भनिन्छ ।
माझीआरीको नेतृत्व सम्हालेका मुखिया असक्षम भए पदबाट हटाउन सकिने व्यवस्था रहने गर्दछ । लामो समय पदमा रहेको व्यक्ति पदाविमुख हुँदा उसमा आउने बिचलन पनि शिर्ष कविताको सार हो ।
३) कविताहरू व्यापारिक हिसाबले बजारमा कमजोर साबित देखिन्छन् भन्छन् प्रकाशकहरू, खासमा प्रकाशकहरूले झुट बोलेका हुन् वा पाठकको कमी हो या कवि कमजोर?
– कविता कृतिहरुको बजार छैन भन्ने भन्दा पनि राम्रा कृतिको बजार पक्कै छ । फरक फरक सन्दर्भमा फरक उत्तर हुन सक्छ । कतै पाठकको कमजोरी, कतै कविको कमजोरी, कतै प्रकाशकको समस्या पनि हुन सक्छ । सबैलाई फरक अवस्थामा फरक तरिकाले हेर्नुपर्छ ।
४) यस कृति भित्रका कविता मध्येफकुन एक कविताको शिर्षक र उक्त कविता लेखिनुको पृष्ठभुमि सम्झिनु हुन्छ कि?
– यो कविता कृतिको एउटा कविता छ – भिमसेनको पसिना । दोलखाको भिमसेन मन्दिरको शिलामा पसिना आउने र अनिष्ट हुने कुरा समाचार माध्यममा समेत महत्त्वका साथ आउने गर्दछन् । राष्ट्र प्रमुखले क्षमा पूजा गर्नुपर्ने प्रसंग पनि आउछन् किताबमा ।
यस्तै धेरै धार्मिक आस्था अनि प्रसंगमा हाम्रो तिर मन्दिरमा भाकल पूरा हुँदा बोकाको कान अलिकति देउतालाई चढाएर देउते बोको / भिमसिने बोको भनेर खुल्ला छाडिने गरिन्छ । यहीँ प्रसंगमा रहेर मैले राजनीतिकको कुरुप अनुहार त्यसमा उतार्ने कोशिश गरेको छु ।
५, कविता भनेको के हो? कविताका पाठकलाई भनिदिनुस कि यो कृति किन पढ्नु पर्ला?
– कविता, कविता बाहेक अरु केही पनि होइन । काव्य उत्कृष्ट विधा हो, जीवन भोगाइ, अनुभुति अनि कल्पनाशीलता पनि हो । नवीनपन मेरा कवितामा छन् भन्ने मेरो आफ्नो बुझाई हो । यसलाई पढेर म र मेरा कविता प्रति फरक धारणा बनाउन सक्नुहुनेछ , त्यसकारण पनि यो कृति पढ्नुहोस भन्न सकिन्छ ।
***
प्रतिक्रिया
-
४
