– निशान निष्कर्ष
सुरिलो लाग्न थालेपछि– चित्कारको धून
मन रुमल्लिन लागेपछि– भ्रमको कुहिरोभित्र
शक्तिशाली बन्ने होडबाजीमा– अन्धो भएपछि चेतना
साम्राज्य चलाउनेहरूले मन पराउने रहेछन्
बाल मानसिकताको आघात ।
जित्ने त ऊ हुनुपर्ने हो
जसले,
बालकको हातमा कलम थमाउन संघर्ष गरोस् समयसँग
बच्चाका आँखाहरूमा–
भविष्यको सपना फुलाउन बगैंचा बनाओस्
बच्चाको मस्तिष्कमा समभावको फूल रोपोस्
क्रुरताको आँगनमा
मान्छेले मान्छे काटेर
जितको भोज खाएको देखेको उसमा
एउटा जित
आफ्नो पोल्टामा पार्ने सपना पलाइसकेको छ ।
हेर त,
यतिबेला ऊ
मान्छेको चित्र बनाएर
उसको घाँटीमा तरबार चलाउन सिक्दै छ
कलमको निबले कोपिरहेछ मान्छेको निधार
तिमी उभिएको ठाउँमा नै उभिएर
बन्दुक पड्काउने अभ्यास गरिरहेछ
यो समयको सबैभन्दा भयानक पीडा हो ।
जब बोकेर हिँड्छ कुनै बालकले
युद्धमा काटिएको आफ्नै आमाको हात
जब बन्छ कुनै बालिकाको टाउको–
सैनिकहरुको परेडभूमि
जब भेट्छन् बच्चाहरूले
चिरिएको धरतीको ओठभरि रगतको लाली
र भेट्छन्
आफूजस्ताकै टुक्राटुक्रा परेको शरीर
उनीहरूको हृदयबाट झर्छ– भावनाको बिरुवा
र पलाउँछन् अंगेर जस्ता– बिषाक्त पालुवाहरू
सिञ्चेर रगतको तिलानी
बिगारेपछि सद्भावको सम्भावना
तिमीले रोपेको सृष्टिको विरुवामा
कसरी फुल्लान्– शान्तिका फूलहरू ?
र कसरी फल्लान्– सहअस्तित्वको फल ?
गुनगुनाउँदै अहम्का श्लोकहरू
मिसायलको घण्ट बज्ने तिम्रो युद्द मन्दिरमा
हातमा तरबार लिएर
भावी पूजारी बन्ने तयारी गरिरहेछ– नवचेतना
कलिला नानीहरुको भविष्य फुलाउनु छ भने
सफलताका पाइलाहरू शिखरमा पु¥याउनु छ भने
तिमीले लेख्दै आएको युद्दको पाण्डुलिपि थन्क्याएर
शान्तिको गीत लेख्न– कलम समाऊ ।
तरवारले लेखेको युद्दमा
– अनुच्छेदबाट छुट्टिएर
– वाक्यबाट टुक्रिएर
– शब्दबाट काटिएर
अक्षरहरू क्षतविक्षत हुन्छन्
कलमले लेखेको गीतमा
हात मिलाउँछन् अक्षरहरू
एउटा सुर पकड्छन्
एउटै भाकामा उच्चारित हुन– बुद्द बन्छन् ।
अब पनि
बुझेनौ भने अबोध नानीहरुको अस्तित्व
सबैभन्दा अगाडि सकिनेछ तिमीहरूकै पहिचान
बुझ्नु–
रणभूमिमा हुर्केको बच्चालाई भोक लाग्यो भने
ऊ बन्नेछ बच्चा माकुरा ।
धरतीको सीमारेखा यताउता पार्न खोज्दा
बिर्सिएर मान्छे हुनुको सीमा
तिर्खाएको अहम्लाई रगतले प्यास मेटाउन खोज्छौ भने
निभ्नेछ– शान्तिदीप
भत्किनेछन्– चैतन्यका गुम्बाहरू
जहाँ बंकरभित्र बसेर नवयुग
तिम्रो अन्त्यष्टिको योजना बनाइरहेको हुनेछ ।
आऊ–
शान्तिको पाण्डुलिपिमा केही हरफहरू थपेर जाऊ
र लेखेर जाऊ
स्वतन्त्रताका गीतहरू ।
***
प्रतिक्रिया
-
४
