– जितेन चाम्लिङ
१,
के भनौँ गरिबकै पिरमा राजनीति गर्नु हुन्छ
एक एक गनेर शीरमा राजनीति गर्नु हुन्छ
पवित्र बनाउनु भयो भनौँ कि अपवित्र भनौँ
तपाईं स्कुल र मन्दिरमा राजनीति गर्नु हुन्छ
मास्टर सकेर खाडिमा आएको एक उदाहरण हुँ
तपाईं गाउँमै बसी जागिरमा राजनीति गर्नु हुन्छ
म परदेशमै ढलेको हुँ घरसम्म पुर्याइदिनुस
तपाईं मरेको शरिरमा राजनीति गर्नु हुन्छ
देश बनाउछु भन्नुहुन्थ्यो, त्यो त सक्नु भएन
अब भन्नुस किन आखिरमा राजनीति गर्नु हुन्छ
२,
मेरै अगाडि दुश्मन तीर लिएर उभिएको छ
आफ्ना जहर घुलित खिर लिएर उभिएको छ
बडो कठोर नै हुँदा रहेछ्न प्राय प्राय जित्नेहरू
हेर्नुस बरु हार्नेले अबिर लिएर उभिएको छ
अस्पतालमा हुँदा पनि बा सन्तानकै पिर गर्छन
यो पनि थाहा छ मृत्यु हाजिर लिएर उभिएको छ
अस्विकार खै कसरी गरुँ बल्ल आएको अवसर
यता पार्टीको झण्डा उता जागिर लिएर उभिएको छ
***
प्रतिक्रिया
-
४
