-सुजन वैरागी
सहरभन्दा अलि टाढा सानो बाटो हुँदै गएपछि एउटा घुम्ती । त्यही घुम्तीमा छ एउटा ठूलो पीपलको रूख । रूखको वरिपरि गोलो गरेर लगाइएकोछ ढुङ्गाको गाह्रो र त्यहाँ छन् ठूला ठूला चिप्ला राम्रा ढुङ्गाको चौतारी, जहाँ बसेका छन् एक जना बुढा बा । हातमा समाएका छन् एउटा लौरो । मैला छन् लुगाहरु र फाटेका छन् कतै कतै । खुट्टामा छैनन् कुनै जुत्ता चप्पल । टाउकोमा लगाएका छन् टोपी । टोपीबाट बाहिर निस्केका छन् सेतै फुलेका कपाल । त्यहाँबाट सडक छोडेर उकालोतिर लागेपछि अलि माथि कोल्टे फेरेपछि भेटिन्छ एउटा अर्को ठूलो बरको रूख । यसमा पनि उसै गरी बनाइएका छन् चौतारो । अलि पर पुगेपछि देखिन्छन् केही घरहरु । तिनै घरहरुभन्दा अलि माथि छ एउटा लहरा र घाँसले घेरेका पुरानो भत्किएको घर । घर के भन्नु खण्डहर । म त्यो घरतिर तानिँदै गइरहेको छु । लाग्छ, कसैले मलाई त्यो घरभित्र बसेर बोलाइरहेको छ । घरको आँगनमा छन् घाँसै घाँसले बनेको जङ्गल । ढोकामा लागेका छन् धमिराहरु र पनि अझै झुन्डिएकै छ ताल्चा । छोयो मात्र भने पनि भाँचिएला जस्तो छ काठको ढोका । म हेर्दै थिएँ ढोकातिरै त्यही टुटेको ढोकाको प्वालबाट एउटा ढाडे बिरालो निस्किएर ममाथि सिधै झम्टियो । अचानक झम्टिएकोले मैले भाग्ने मौका नै पाइनँ । ठूलो स्वरले चिच्याएर मैले हातले छेक्न खोजेँ । हात कोठाको भित्तामा ठोकियो र म झसङ्ग भएर ब्युँझिएँ । घडी हेरेँ रातको दुई बज्न लागेको थियो । म पसिनाले भिजेको थिएँ । ओहो ! फेरि उही सपना । आज फेरि बच्चादेखि बेला बेला देखिरहने सपनाले ब्युँझाएको छ । किन देखिरहेको छु एउटै सपना बारम्बार ? बच्चा हुँदा अस्पष्ट देख्थेँ, जब ठूलो हुँदै गएँ उही सपना प्रष्ट हुँदै गएको छ । किन देखिरहेको छु मैले यो सपना ? कसको हो त्यो पुरानो भत्किन लागेको घर ? को हो त्यो बुढो मानिस ? के साइनो छ मेरो त्यो घरसँग ?
राजतन्त्रको माग गर्दै सडक आन्दोलन गर्नेहरुले आन्दोलन मात्र गरेनन् । काठमाडौँका विभिन्न घरहरु जलाए । कल कारखानाहरु जलाए । गाडी जलाए । घर, पसल तोडफोड गरे, लुटे । यसैको चपेटामा हामी पनि प¥यौँ । हाम्रो अफिस पनि तिनै जल्ने घरहरुमध्येमा प¥यो । हाम्रो अफिस पुरै जलेर नष्ट भयो । कार्यालयका फाइलहरु, कम्प्युटरहरु केही बाँकी रहेनन् । एकाएक हामी बेरोजगार भयौं । त्यसपछि पुरै फुर्सदिलो भएँ म ।
देश दश वर्षे द्वन्द्व, कैयौं दिनको जनआन्दोलनबाट, कति जनाको रगतबाट, कति जनाको त्यागबाट राजतन्त्र ढालेर गणतन्त्रको स्थापना भएको थियो । अहिले फेरि त्यही बल्ल बल्ल हटाइएको राजतन्त्र चाहियो भन्दै आन्दोलन गर्दैछन् । आखिर चाहिएको चाहिँ के रहेछ ? त्यतिबेलाको अवस्थाले धेरै जनालाई घरबार विहीन बनायो । धेरैलाई टुहुरा बनायो । धेरैलाई घर छोड्न बाध्य बनायो । गाउँ छोड्न बाध्य बनायो । देश छाड्न बाध्य बनायो । अब थाहा छैन, यो अवस्थाले के गराउने हो ।
एक दिन पल्टेर बसेको थिएँ । अचानक कतै टाढा जाने सोच आयो । यसै पनि काठमाडौँको भिड र गाडीहरुको आवाजले मेरो दैनिकी एकतमासको बनाएको थियो । कार्यालयको कामको व्यस्तताले कतै बाहिर निस्कन पाएको थिइनँ । काठमाडौँबाट कतै टाढा जान मन लागिरहेको थियो । साथीहरुसँग जाऊँ भने कहाँ जाने र कति दिनको लागि जाने भन्ने पक्का थिएन । बिना योजना एउटा झोलामा केही थान लुगा बोकेर एक्लै निस्किएँ । मोटरसाइकल लिएर कोटेश्वरतिर लागेँ । धुलिखेल पुगेपछि गुगलमा देखेको सिन्धुलीको नागबेली बाटोको सम्झना आयो । योजना त्यतिबेलै बन्यो अब त्यही बाटो हेर्न जान्छु । त्यसपछि मोटरसाइकलको गति अलि बढ्यो र धुलिखेलबाट झ¥यो भकुण्डेबेँसीतिर । फनक्क घुमेका घुम्तीहरु हुँदै म पुगेँ नागबेली बाटोसँग रमाउन । त्यहाँ एकजना सोलो राइडर भेटिए । उनी बाइक लिएर नेपाल भ्रमणमा निस्किएका रहेछन् । उनीसँगै सिन्धुलीका धेरै ठाउँहरु घुमियो । त्यसपछि उनको रामेछाप हुँदै दोलखा जाने योजना रहेछ । मैले पनि योजना बनाएँ । म पनि त्यही बाटो भएर चरिकोट हुँदै सैलुङ जान्छु र खाँडिचौर झरेर काठमाडौँ निस्कन्छु । उनीसँग मेरो लय मिल्दैनथ्यो मलाई लामो यात्राको अनुभव थिएन । म दुई घण्टाभन्दा बढी निरन्तर चलाइरहन सक्दिनथे । बीच बीचमा मलाई रोकिँदै हिड्नु पथ्र्यो । फेरि मेरो कुनै निश्चित गन्तव्य थिएन । बाटोमा देखिएका रमाइला कुराहरु र ठाउँहरुमा बसेर घण्टौ बिताइदिन्थेँ म । खुर्कोटबाट अलि अगाडि पुगेपछि सुनकोसी र तामाकोसीको सङ्गम स्थलमा म अलमलिएँ र उनी छुट्टिए ।
थोरै अगाडि पुगेपछि बाटाहरु परिचित लाग्न थाले । म कहिल्यै नआएको ठाउँको बाटो कसरी परिचित हुन सक्छन् ? अलि पर पुगेपछि त्यही पीपलको चौतारा देखियो अनि याद आयो, ल यो त मैले सपनामा देख्ने गरेको ठाउँ हो । सपनामा देखेको कुरा आँखै अगाडि थियो । साँच्चिकै यो ठाउँ होला भन्ने मैले कल्पना नै गरेको थिइनँ । अब म सपनालाई पछ्याउन लागेँ । सपनाभन्दा केही कुरा फरक थिएन तर मैले त्यो चौतारोमा ती बुढा बा भने भेटिनँ । म उसै गरी त्यो थोत्रो घरको आँगनमा पुगेँ । आँगन उस्तै थियो घाँसै घाँसले पुरेको । ढोका उस्तै थियो धमिराले टुट्न लागेको । झाडी पन्छाउँदै ढोका नजिक पुँगे । सपनाको ढाडे बिरालो सम्झिएर डर लाग्यो । एउटा सानो दाउरा उठाएँ र ढोकामा बजारेँ । ढोकामा लागेका धमिराहरु बुरबुर झरे साथमा झ¥यो धमिराले धुजाधुजा पारेको ढोकाको एउटा टुक्रा । ढोकामा लागेको चाबिलाई समाएर हल्लाएको मात्र थिएँ ढोका पुरै ढल्यो । भित्र अँधेरो थियो । पुरै माकुराको जलो थियो । एउटा लामो बाँसको भाँटा लिएँ अनि माकुराको जालोहरु हटाएँ । भित्र एक छेउमा भाँचिएर भग्नावशेष भएको एउटा खाटका केही अंशहरु बाँकी थिए । बीचतिर थियो एउटा माटोको चुलो । कुनामा थियो एउटा जाँतो । त्योसँगै थियो ढुङ्गा र माटोले बनेको माथिल्लो तलामा जाने सिँढी । जसलाई पछ्याउँदै म माथि चढेँ । ढोकाभन्दा पछिका सबै कुरामा कौतूहल थियो । जहिल्यै सपनामा ढोकासम्म मात्र देख्ने गरेको थिएँ । माथिल्लो तलामा दुईओटा कोठा थिए । बाहिरको कोठामा केही थिएन । उदाङ्गो झ्यालबाट उज्यालो घाम भित्रसम्म आएको थियो । त्योभन्दा भित्रको कोठामा थियो, धमिराले खाएर सक्न लागेको एउटा खाट । त्यसको अर्कोपट्टि थियो, एउटा काठको ठूलो बाकस । बाकसभरि धमिराले माटो उठाएको थियो । माथि धुलोले बाकस फुस्रो भएको थियो । सेउलाका कुचो बनाएर धुलो सफा गरेँ । बाकस कालो देखियोे । भित्र केही कपडा थिए जुन एक आपसमा टाँसिएर डल्लो परिसकेका थिएँ । त्यसभित्र पनि थियो एउटा सानो टिनको बाकस जसमा लगाइएको थियो एउटा सानो चाबी । खिया लागिसकेको चाबीलाई ढुङ्गाले एक पटक हान्ने साथै चाबी दुई टुक्रा भयो । भित्र एउटा प्लास्टिक भित्र केही कागजपत्रहरु, दुईओटा नागरिकता र एउटा डायरी फेला प¥यो । नागरिकता हेरेँ, फोटो नचिनिने भैसकेको थियो । नाम पनि धमिलो भएछः इन्द्र कार्की, सीता कार्की मुस्किलले बुझिन्थ्यो । डायरीको माथिल्लो भाग पनि बिग्रिएको थियो तर डायरी खासै बिग्रिएको थिएन । डायरी भेटेपछि खुसी लाग्यो । मैले सपनामा यो घर देख्नुको रहस्य पक्कै यो डायरीमा होला भन्ने लाग्यो । डायरी पल्टाउँदा घरायसी हिसाबहरुभन्दा बढी अरु केही फेला परेन । मन निराश हुन थाल्यो । बीचतिर पुगेपछि लामा पङ्क्तिहरु सुरू भए ।
–साउनको महिना थियो, बाहिर झरी बेस्सरी परिरहेको थियो, भित्र हामी बीचमा झगडा । पानी पर्नुको मैले नबुझेको दुई ओटा फाइदा बुझेँ त्यस दिन । एक त पानीको आवाजले हामीले गरेको झगडाको आवाज बाहिर कसैले थाहा नपाउने रैछन् । अर्को जति झगडा परे पनि घर छोडेर हिँिडदिन्छु भनेर निस्किन नपाउने रैछ । यस्तो हुँदा चाहिँ सम्झाउने, फकाउने, बुझाउने समय प्रशस्त पाइने रैछ । मैले प्रशस्त समय पाएँ तिमीलाई बुझाउने तर मैले बुझाउन सकिनँ । तिमीलाई सम्झाउन सकिनँ, वर्षाको झरी हत्तपत्त रोकिन्न । त्यस दिन पनि रोकिएन अन्ततः तिमीलाई रोक्न सकेन झरीले पनि, तिमी रूझ्दै निस्कियौ । मलाई आशा थियो सधैँ जस्तै तिमी आउने छौं तर अँह आएनौ तिमी । मैले तिम्रो बाटो हेरिरहेँ । भोलिपल्ट, पर्सिपल्ट अहँ तिमी आएनौ । मैले एकहप्तासम्म हामी दुबैजनाको लागि खाना बनाएँ । तर खाने बेला हामी दुबैले खाएनौँ । तिमी आएनौ मलाई खान रूचेन । बर्षे झरी प्रायः दिनै परिरहन्छ, प¥यो । मलाई पनि यसपालि वर्षा लाग्यो । बाहिर झरी अनि भित्र म, उसैगरी बर्सिरह्यौ निरन्तर… । रूझ्दै घरबाट निस्किएको तिमी उसै गरी रूझ्दै आउँछौ कि भन्ने आशा लागिरहन्छ तर अहँ तिमी कहिल्यै आउँदैनौ ।
–तिम्रो बाटो हेर्दा हेर्दै वर्षा सकियो । झरी सकियो । पानी पर्न छाड्यो । म पनि नर्मलाइज भएँ वा आँसु सकियो । मेरा पनि आँखा वर्षिन छाडे ।
–एक हिसाबले सोच्छु तिमी गयौ, राम्रो ग¥यौ । अब म आफ्नो जिन्दगी आफ्नो हिसाबले जिउन सक्छु । म मेरो खुसी बाँच्न सक्छु । मैले कसैको लागि आफ्नो खुसी मार्नु पर्दैन । केही गर्न अगाडि तिमीले के भन्छौ भनेर सोच्नु पर्दैन । म आफू अनिच्छित हुँदा पनि तिम्रो इच्छा पूरा गर्न तिम्रो इसारामा चल्नु पर्दैन । अव्यक्त पीडाहरु सहनु पर्दैन । तर पनि तिम्रो मायाले तिम्रो अभाव महसुस हुन्छ । आफैँलाई प्रश्न गर्छु किन म तिमीलाई यति धेरै माया गर्छु । किन मैले तिमीलाई बिर्सिदिन सक्दिनँ ? के छ तिमीमा त्यस्तो जसले मलाई भुल्न दिदैन ?
–तिमी एकाएक बदलिएको देख्दा र तिम्रो शङ्का गर्ने बानीले त झन् तिमीसँग एक क्षण पनि बस्नु नपर्ने हो । सधैँ एउटै कुरामा स्पष्टीकरण दिइरहनु पर्दा त तिमीबाट छुट्टिनु नै ठिक जस्तो पनि लाग्छ । फेरि सम्झन्छु हाम्रो त्यो प्रगाढ माया । अनि लाग्छ यो केही पलको घाउ हो जुन एक दिन निको हुनेछ ।
–तिमीसँग बिताएका दिनहरु सम्झन्छु, आहा ! कति प्रेमिल थिए है ती दिनहरु । तिमी भए मलाई कोही चाहिन्नथ्यो, म भए तिमीलाई कोही चाहिन्नथ्यो । हाम्रो माया देखेर सबै कति मिलेका यिनीहरु भन्थे । तिमीलाई खै कसले के भन्यो । तिमीले कसरी विश्वास ग¥यौ । घर छोडेर हिडे पनि बेलुकी आउँथ्यौ तर यतिका दिन हुँदा पनि फर्किएनौ । आज फेरि गाउँमा आर्मीको गस्ती आएको थियो । “बुढोलाई माओवादीमा पठाइस हैन ?”भन्दै लछारपछार पार्दै “कहाँ छ तेरो बुढो ?” भन्दै हातपात गरे । यिनीहरुलाई कसरी सम्झाउँ तिमी मसँग झगडा गरेर बेपत्ता भयौ । गोठमा बाँधेको खसी फुकाएर लगे र तल चौरीमा काटेर खाए । मैले केही भन्न पनि सकिनँ । खसी र तरकारीहरु बेचेर पैसा सहकारीमा जम्मा गर्नुपर्छ, पछि बच्चालाई राम्रो स्कुलमा पढाउनु पर्छ भन्थ्यौ । अब तिमी पनि हरायौ । खसी पनि रहेन । तरकारी पनि बारीमै सडेर गए ।
–आज मन भारी भएको छ । रातभरि डरलाग्दो सपना मात्र देखिरहेँ । तिमी रगतै रगत भएर ढलेको देखेकी थिएँ । ब्यँुझिएर धेरै बेर रून मात्र आइरह्यो । हिजो माओवादीहरु घरमा आएका थिए । यहीँ बसे, तरकारी टिपे, चामल निकालेर आफैँले पकाएर खाना खाए र बिहानीपख हिँडे । अब यो कुरा आर्मीले थाहा पाउँछ । अब सायद आजै आर्मीको गस्ती आउँछ । तँ माओवादी पाल्ने भनेर फेरि लछारपछार पार्छ । थाहा छैन के के गर्ने हुन् । मैले पाल्ने हैन । उनीहरु आउँछन् आफैँ खाना बनाउछन् खान्छन्, जान्छन् । नआइज भन्न नसकिने । आफूलाई दोहोरो बोल्न पनि डर लाग्छ । गाउँमा बसेर ज्यान जोगाउन मुस्किल भएको छ । कहिले आर्मी आउँछन्, धम्क्याउँछन् जान्छन्, कहिले माओवादी आउँछन्, धम्क्याउँछन् जान्छन् । गाउँमा अब युवा युवतीहरु खासै देखिन छाडे । तिमी गयौ, तिमीलाई आनन्द भयो । म छु मलाई तनाव भएको छ । कहिले काहीँ लाग्छ यो गाउँ नै छाडेर कतै टाढा जाऊँ । फेरि तिमी आउँछौ कि भन्ने आस लागिरहन्छ र कतै जान सक्दिनँ ।
डायरीका पानाहरु खालि थिए तर कोरिएका शब्दहरु सकिए । अधुरो मै रह्यो फेरि यो कहानी । प्रश्न अझै उत्तिकै छ, किन देख्छु म सपनामा यो घर ? अनि अरु थप प्रश्नहरु छन् अब । को हो त्यो घर छोडेर जाने ? को हो त्यो नआउनेलाई कुरेर बस्ने ? कहाँ छ त्यो बुढो मानिस जसलाई म चौतारीमा देख्थेँ सपनामा ? कहाँ गए यी दुवै जना ? ओहो ! यी प्रश्नहरुले झन् अन्योलमा पारिरहेको छ । टाउको घुमायो । कुहिएर झरिसकेको झ्यालबाट बाहिर हेरेँ । मध्यदिन भएको थियो । अलि तल थिए चार ओटा घरहरु । अलि परतिर थियो एउटा बुढो बरको रूख । त्यो घरबाट निस्किएँ । यो घरको बारेमा सोध्न भनेर तल देखिएका घरतिर लागेँ । दुइओटा घर आमने सामने थिए । एउटा घरको आँगन र दैलोमा झारहरु उम्रिएका थिए, सायद मान्छे बस्न छाडेको हुनुपर्छ । अर्को घर लिपपोत गरेको थियो । “कोही हुनुहुन्छ घरमा ?” मैले अलि ठूलो स्वरले बोलाएँ ।
हजुर, कसलाई खोज्नु भएको ? (एकजना सोह्र सत्र वर्ष जतिकी बहिनी बाहिर निस्किइन्)
“उ, त्यो घरको बारेमा थाहा छ तपाईलाई ?” मैले त्यो घरतिर देखाउँदै सोधेँ ।
हामी पनि सहर मै बस्छौं । कहिले काहीँ मात्र आउने हो । तर मैले देखेँदेखि त्यो घरमा त कोही बस्दैनन् । हामी बच्चा हुँदा पनि त्यो घर खाली नै थियो । हाम्रो घरमा अहिले ठूलो मान्छे कोही हुनुहुन्न । पल्ला घर हजुरबा हुनुहुन्छ उहाँलाई सोध्नुस् न है !
म त्यो घर छाडेर पल्लो घरतिर गएँ । घरको बाहिर खाटमा पल्टिएका थिए एक जना बुढा मानिस । “बाजेऽऽऽ” मैले नजिकै गएर बोलाएँ । बाजे उठेर मतिर हेर्नु भयो । मैले सपनामा चौतारीमा देख्ने बुढा मानिस जस्तै थिए बाजे तर मैले ठिकसँग ठम्याउन सकिनँ ।
को हौ बाबु तिमी ? मैले त तिमीलाई चिनिनँ नि ।
म काठमाडौँबाट घुम्दै आएको थिएँ बाजे । हजुरलाई त्यो माथिको पुरानो घरको बारेमा केही थाहा छ ?
काठमाडौँबाट आएको मान्छेलाई किन चाहिएको बाबु त्यो थोत्रो घरको कुरा ? गाउँमा अहिले यस्ता घरहरु हजारौँ छन् बाबु । द्वन्द्वले गाउँका कैयौं घरहरुलाई रित्तो बनाएको छ । कतिपय गाउँ नै रित्तो छन् । तिमीलाई यही घरको कुरा चाहिँ किन चाहिएको नि ?
खै बाजे, किन हो थाहा छैन । सानैदेखि म त्यो घरलाई सपनामा देख्छु । यहाँको बाटो देख्छु । चौतारो देख्छु । चौतारामा एक जना बुढा बाजे देख्छु । म अहिलेसम्म काठमाडौँबाट बाहिर गएको थिइनँ । कसरी देखिरहेको छु मैले यो गाउँको बाटो, चौतारो, त्यो घर, केही बुझ्न सकिरहेको छैन । त्यो घरमा पनि गएँ म । त्यहाँ एउटा डायरी भेँटे तर त्यो अधुरो थियो । कसैले लेख्दा लेख्दै लेख्न छोडेको डायरी भेँटे । अनि दुई ओटा नागरिकता भेटेँ । इन्द्र र सीताको तर मैले नचिनेको र कहिल्यै नसुनेका नाम थिए ती ।
बाजेले मेरो सपनाको कुरालाई पत्याउनु भएन सायद । नपत्याउँदो नजरले केहीबेर हेर्नु भयो ।
तिम्रा बाआमाको नाम के हो बाबु ?
आमाको नाम इता हो । बुबाको त थाहा छैन । म त अनाथ आश्रममा हुर्किएँको हुँ । मेरी आमा मलाई जन्माएपछि बित्नु भयो रे । मलाई हुर्काउने आमालाई पनि आमाको बारेमा धेरै जानकारी छैन रे । उहाँले मेरी आमालाई म जन्मनुभन्दा दुई दिन अगाडि मात्र भेट्नु भएको थियो रे । बुबाको बारेमा चाहिँ नाम समेत पनि थाहा छैन ।
बाजे अचानक उठे र मलाई सुमसुमाए । बाबु तिमीलाई तिम्रा बाआमाले यहाँ बोलाएको हुनुपर्छ । तिम्रा बाआमाको घर हो त्यो । इन्द्र र सीता भनेका तिम्रा बाआमा हुन् ।
बाजेका आँखा रसाएका थिए । तर मेरो मनमा प्रश्न थियो, मेरी आमाको नाम त इता थियो । यहाँ त सीता छ कसरी मेरी आमा हुन सक्छिन् ? कि मैले आमाको नाम इता भन्दा बाजेले सीता त सुनेनन् ? मैले यही कुरा बाजेलाई सोधेँ ।
बाबु, इता भनेको एक जना मात्रको नाम हैन । तिम्रा बा र आमाको संयुक्त नाम हो इता । तिम्रा बाआमाको प्रेम हाम्रो गाउँमा चर्चित थियो । तिनीहरु उदाहरणीय बनेका थिए । सबैले एउटै आत्माका दुई शरीर हुन् भन्थे त्यही भएर यिनीहरुको नाम पनि एउटै हुनुपर्छ भनेर दुबै जनाको नामको अक्षर मिलाएर गाउँलेहरुले नै इता बनाइदिएका हुन् । पछि खै यिनीहरुको बीचका के भयो ? बेला बेला झगडा गर्न थाले । एकदिन इन्द्र घर छोडेर हिँड्यो । त्यतिबेला माओवादीको खुबै डर थियो । अनि राज्य पक्षसँग पनि उसैगरी डराउनु पर्ने अवस्था थियो । सीता एक्लै भई । एक दिन आर्मीको गस्ती आएको थियो । माओवादीहरुलाई घरमा राखेर खाना बनाएर खुवाउने तँ भन्दै कुटपिट गरे । घरमा भाँडाकुँडा सबै बाहिर फालिदिए र ढोकामा चाबी लगाइदिए । घरबाट लखेटे । त्यतिबेला ऊ गर्भवती थिई । बिचरीलाई हामीले घरमा आश्रय पनि दिन सकेनौँ । हामीले आश्रय दिएको भए हामीलाई नै फेरि कुटपिट गरेर हामीलाई पनि घरबाट निकालिने डर थियो । हामी सबै विवश थियौं । ऊ रूँदै रूँदै गाउँबाट भाग्न विवश भई । घरबाट केही बोक्न पनि पाइन । न कपडा, न पैसा । केही थिएन उसले गाउँ छाड्दा । ऊ रित्तो हात निक्ली घरबाट ।
बाजेको कुरा सुन्दै गर्दा मैले आफूलाई सम्हाल्नै सकिनँ । योभन्दा अगाडि म कहिल्यै रोएको थिइनँ । मलाई हुर्काउने मेरी आमा भन्नुहुन्थ्यो म बच्चामा पनि धेरै रून्न थिएँ रे । आज आँसु थामिएको छैन । कति दुःख भोग्नु प¥यो होला मेरी आमाले । यसैगरी अरु कतिले भोग्नु प¥यो होला त्यो द्वन्द्वको पीडा । आमा जस्तै कतिले छोड्नु प¥यो होला आफ्नो घर । आफ्नो परिवार । आफ्नो गाउँ । कति टुहुरा भए होला म जस्तै । कतिलाई थाहा छैन होला आफ्नै आमा बुबाको नाम पनि । कतिलाई थाहा छैन होला आफ्नै पुर्खाको गाउँ पनि, मलाई जस्तै ।
बाजे, अनि मेरो बुबा पछि फर्किएर आउनु भएन ?
केही सम्झिए जसरी बाजे भित्र छिर्नु भयो । केही बेरपछि निस्कँदा एउटा धुलोधुवाँले मैलो भएको मोटो खाम बोकेर आउनु भयो । म अझै आफूलाई सम्हाल्न सकिरहेको थिइनँ ।
ऊ आएन बाबु, तर उसले सीतालाई लेखेको चिठी आएको थियो । मलाई पढ्न पनि आउँदैन । कसैलाई पढिदे भनेर खोल्ने आँट पनि आएन । यसलाई मैले आफ्नो ट्याङ्कामा सम्हालेर राखेको थिएँ । यी लेऊ, तिमी नै पढ अब ।
बाजेको हातबाट खाम लिएर म पढ्न थालेँ ।
म भड्किएँ । मलाई भड्काइयो । त्यो दिन पानीमा रूझ्दै घरबाट निस्कँदा म जङ्गलतिर पुगेँ । खासमा त्यतिबेला मलाई केही होस थिएन म कता जाँदैछु । त्यो जङ्गलछेउको खुलालबाको गोठमा माओवादीहरु लुकेर बसेका रहेछन् । म त्यहाँ पुगेपछि तिनीहरुले मलाई समाएर तँ सुराकी गर्न आएको भनेर कुटपिट गरे । मैले तिनीहरुलाई कति सम्झाउन खोजेँ तर अहँ मेरो एक सुनेनन् । त्यो रातभरि मलाई उनीहरुले आफूसँगै हिँडाए । अँधेरोमा जङ्गल जङ्गल खै कहाँ कहाँ पु¥याए । निस्पट्ट अँधेरो थियो । म हिँड्दा हिँड्दै बाटोबाट चिप्लिएँ । म धेरै तल पुगेर मात्र अडिएँ । अँधेरोमा केही देखिरहेको थिइनँ । म उठ्न पनि सकिरहेको थिइनँ । उनीहरुले मलाई म¥यो सोचेहोलान् । मलाई छोडेर अगाडि बढे । त्यसपछि निदाएँ कि बेहोस भए थाहा छैन । आँखा खोल्दा बिहान भएको थियो । शरीरका लुगा च्यातिएका थिए । देब्रे खुट्टा मर्किएर सुन्निएको थियो । कुममा चोट लागेर रगतै रगत भएको थियो । बिस्तारै उठेर खोलामा गएर रगतहरु पखालेँ । राम्रोसँग हिँड्न सकिरहेको थिइनँ । तिम्रो धेरै याद आयो । तिम्रो पेटमा हुर्कदै गरेको हाम्रो बच्चाको याद आयो । ओहो ! मैले कति ठूलो गल्ती गरेँ । जसको सजाँए भोगिरहेको छु भन्ने लाग्यो । दिनभरि जस्तो लगाएर जङ्गल सकेर बाटोमा निस्किन लागेको थिएँ । गस्ती गएर फर्कदैँ गरेका आर्मीहरुले भेटे । उनीहरुले मलाई माओवादी ठाने । मैले आफूलाई माओवादीले पिटेर लगेको र जङ्गलबाट लडेर बाँचेको कुरा भनेँ तर बच्नको लागि बाहाना बनायो भन्दै लात्तै लात्ताले पिटे । कहाँ छन् तेरा साथीहरु ? भन्दै गाली गर्दै पिट्न थाले । म सहन नसकेर ढलेँ । मलाई हात बाँधेर दुईजनाले झुन्ड्याएर ब्यारेक लगे । एउटा अँध्यारो कोठामा बन्द गरे । खाना पानी केही दिएनन् । औषधी गराएनन् । मलाई थाहा थियो, अब म यहीँ मर्नेछु । तिमीलाई यो सबै कुरा भनेर दुखी बनाउन मन थिएन तर तिमीलाई थाहा हुनुपर्छ तिम्रो इन्द्र रहरले नफर्किएको हैन । यहाँ एक जना आर्मी भाइ एकदमै दयालु छ । लुकाएर खाना पानी ल्याइदिन्छ । कागज र कलम उसैले ल्याइदिएको हो । जसरी पनि यो चिठी पठाइदेऊ है भनेको छु । यो चिठी तिमीसम्म आइपुग्दासम्म म जीवित हुन्छु वा हुन्नँ ! उसले कहिले र कसरी पठाउँछ, थाहा छैन । केही गरी अरुलाई भनक लाग्यो भने उसको ज्यान पनि जान सक्छ । मान्छे मार्नलाई धेरै सोचिरहँदैनन् यिनीहरु । हिजो जङ्गलमा एकजना घाँस काट्दै गरेको मान्छेलाई माओवादी आयो भनेर गोली हानिदिएछन् । भिडन्तमा म¥यो भनेर हल्ला गरे ।
यति लेख्न कैयौ दिन लगाएर लेखेको छु । हरेक पल कोही आउँछ कि ? भनेर डरै डरमा लेखेको छु । यहाँ उज्यालो छैन । सानो सानो चेपबाट आएको मसिनो प्रकाशको सहारामा लेखिरहेको छु । खुल्ला उज्यालो नदेखेको कैयौं दिन भएको छ । आशा छ तिमीले यो पत्र पाउने छौं । यो भाइलाई ठेगाना दिएको छु । मलाई विश्वास छ उसले पठाउने छ । साह्रै दयालु छ । माया गर्छ तर के गर्नु ऊ विवश छ ।
यो जुनीमा हाम्रो साथ यति रैछ सानु ! म हरेक जुनी तिम्रै हुँ । म तिमीलाई कुरेर बस्नेछु । तिमी हाम्रो बच्चालाई राम्रोसँग हुर्काऊ, पढाऊ, सक्षम बनाऊ । गाउँ अब सुरक्षित रहेन । कुनै दिन त यो द्वन्द्व पनि त सकिन्छ होला । म तिमीहरुलाई माथिबाट जहिले हेरिरहन्छु । बिदा सानु !!!
***
२१ जेठ २०८२
(प्रकाशोन्मुख कथासङ्ग्रह “रित्तो हात” बाट)
प्रतिक्रिया
-
४
