सञ्चारकर्मी, प्राज्ञ, प्राध्यापक तथा कवि सिर्जन अविरल नेपाल प्रज्ञाप्रतिष्ठानबाट भर्खरै कविता महोत्सवमा पुरस्कृत भएका छन् । उनको उपन्यास ‘मोक्ष’ प्रकाशित भएको छ भने ‘म आकाश हेरिरहेछु’ (कविता सङ्ग्रह) ‘आदि गायक सेतुरामदेखि दिलमाया खातीसम्म’ (जीवनीसङ्ग्रह) र ‘क्यान्टोनमेन्टम र अरू कविताहरू’ (कविता सङ्ग्रह) कृतिहरू प्रकाशित छ्न् । केही अघिमात्र उपन्यासकार अविरलको उपन्यास तथागत प्रकाशित छ । यसै उपन्यासमा आधारित भएर उपन्यासकार अविरलसँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र जवाफ ;
१, तथागत कस्तो विषयको उपन्यास हो । उपान्यासमा तपाईँले बल लगाउनु भएको पाटोसहित स्पष्ट पारिदिनुस न ।
– तथागत बौद्ध दर्शनमा आधारित उपन्यास हो । बुद्धकालीन समयलाई टिपेर लेखिएको उपन्यासमा धेरै नयाँ र मसिना कुराहरू राखिएको छ। आजसम्म सुन्दै र पढ्दै आएको बुद्ध र यशोधरालाई पनि केही फरक रुपमा देखाइएको छ। सिद्धार्थ गौतमले त्यति ठुलो दरबारमा बृद्ध, रोगी र मृत कहिल्यै देखेनन् भन्ने कुरा नै गलत थियो । अहिले सिङ्गो जगतलाई नै दुखालय ठानेर शान्तिको बाटो हिँड्दै गुम्बा पुग्नेहरू खुसी छन् भन्ने कुरा पनि गलत हो। त्यसो हो भने सही के हो त? यो पर्गेलने जिम्मा पाठकलाई छोडिएको छ । गुम्बाभित्र आनीहरूको जीवन कस्तो छ? बुद्धले परिकल्पना गरेको समाज र भिक्षुहरूको जीवनशैलीमा भिक्षुहरू नै छन् कि छैनन् ? एउटा खोजको विषय बनेको छ । सांसारिक मोहको दुनियाँबाट झल्याँस्स ब्युँझिएर आध्यात्मिक बाटो खोज्दै गुम्बा पुग्नेहरूको मन किन थिर हुँदैन गुम्बामा?
बुद्ध धर्म होइन यो दर्शन हो भन्ने कुरा यसमा देखाइएको छ। यो विशेष गरेर सानै उमेरमा गुम्बामा पुगेका आनीको कथा हो।
भन्ते र आनीहरूको गहिरो कथा मात्र छैन यसमा। उनीहरूको मनोविज्ञानलाई आख्यानमा ढालिएको छ ।
कलिलो उमेरमै आनी बन्न पुगेका साना आनीहरू र आनीको जिन्दगी बाँचेर बुढ्यौलीतिर लागेकाहरूको मनोविज्ञान छ यसमा ।
२, बौद्ध दर्शनमा धेरै किताबहरू छन्, ती पुस्तकहरूले हज्जारौँ वर्षदेखि बुद्धको गाथा भनिरहेका छन् ? फेरि तथागत लेख्नुपर्छ भन्ने किन लाग्यो?
– हो, आजसम्म बौद्ध दर्शनमा धेरै किताबहरू लेखिएका छन् र ती कति चर्चित पनि छन्। मैले आजसम्म पढेको र सुनेको भन्दा नितान्त भिन्न कुरा राख्ने प्रयत्न गरेको छु, तथागतमा। तथागत कुनै बौद्ध दर्शनको ठेली होइन। बुद्ध दर्शनमा टेकेर लेखिएको नवीन उपन्यास हो। त्यसो त उपन्यास न इतिहास हो न त तथ्यहरूको सङ्ग्रह! केही यथार्थ र केही स्वैरकल्पना सहितको रोचक र कलात्मक विचारको मिश्रण छ उपन्यासमा । बुद्धकालीन समयका कयौँ विषय र प्रसङ्ग छन् उपन्यासमा । पाठकलाई कयौँ कुरा नवीन अनुभूत हुन्छ । एउटी आनीको कथा मात्र होइन तथागत । यो भित्र कयौँ भन्ते, लामा गुरु, झुमा र साना गुरुहरूको कथा पनि छ । बाहिरी जगतबाट छेलिएको गुम्बाको गहिरो कथा भेटिन्छ यसमा ।
३, बौद्ध धर्म हो कि दर्शन, यो विषयमा अनेक मतभेद छन् । तथागत लेख्नुअघि तपाईँले बोधी तथागतलाई चिन्नुभएको र सम्बन्धित सामग्रीहरूको निचोड के रहेछ?
-खासमा बौद्ध धर्म नभएर एउटा गजबको दर्शन हो। बुद्ध आफैंमा एउटा विचार हो। समभावको विचार राख्ने बुद्ध कुनै भगवान् नभएर एउटा महान् र ज्ञानी पुरुष हुन् । आफ्नो गहिरो ज्ञान र सार्वकालिक विचारको कारण आज पनि सर्वत्र सम्मानित छन् ।
४, यसअघि अध्यात्मकै पृष्ठभूमिमा पनि तपाईँले मोक्ष उपन्यास लेख्नुभएको थियो । यसपटक तथागत । खासमा पूर्वीय दर्शनकै भावभूमिमा यी उपन्यासहरू पर्छन् । यतातिरको रुची किन? मुख्य के चिज रहेछ यी आधारभूमिमा ?
– पछिल्लो समय मलाई यतातिर केही रुचि बढेर गयो । भौतिक जगतमा दगुरिरहेको मानिस कहिल्यै कहीँ नपुगेको देखेँ । यही जगतमा खाइरहेको मानिस भोकै देखेँ र कमाइरहेको मानिस झनझन गरिब देखेँ । मानसम्मान र पदको पछाडि दगुरिरहेका मानिसले बाँचेको गरुङ्गो र आडम्बरयुक्त जीवन देखेँ । यी सबै कुराले मनमा एक किसिमको तरङ्ग ल्यो र फरक बाटोबाट जगतलाई चियाउन मन लागेको हो । यही सिलसिलामा म हिँड्दै आएको भन्दा अलग बाटोबाट फरक मोडमा पुगेर जगतलाई छाम्न खोजेको हुँ ।
५, अब अन्तमा, यो उपन्यास पढ्न बाँकी पाठकले किन पढ्नु पर्छ भन्ने लाग्छ ?
– उपन्यासमा पृथक शैली छ । बुद्धकालीन समयलाई वर्तमान समयका आनी र भिक्षुहरूसँगै देखाइएको छ। आनी र भन्तेको दैनिकी, चिन्तन र उनीहरूको सिङ्गो जीवन पद्धतिलाई बुट्टा भरे जसरी आख्यानको निर्माण गरिएको छ
। बुद्ध धर्ममा कोही अवतारी लामा हुँदैन र कुनै भिक्षु वा आनी प्रसिद्धिको मोहमा अल्झनु दुखद् हो भन्ने कुरा पनि उपन्यासमा भेटिन्छ । संवादको शैलीमा रहेको प्रस्तुत आख्यानमा बौद्ध दर्शनको पिरामिडबाट नयाँ कुरा देखाइएको छ । यसमा सिङ्गो जगतलाई नै दु:खालय हो भनेर पनि मानिसको दु:ख र आँसुको कथा मात्र भनिएको छैन, ध्यानमा भेटिने मनको आनन्द र जीवनको उज्यालो पनि देखाइएको छ ।
***
प्रतिक्रिया
-
४
