खोटाङकी कवि शकुन आँसु लामोसमयसम्म वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिइन् । कोरियामा रहँदा कविताकै बारेमा सोचिबस्ने उनी केही अघिमात्र नेपाल पुगेर पहिलो कविता सङ्ग्रह नवयुगकी सुम्निमा प्रकाशित गरेकी छिन् । यसै कविता सङ्ग्रहको सेरोफेरोमा सम्पादक जीवन खत्रीले गरेको पाँच प्रश्न र कविको जवाफ;
१, नवयुगकी सुम्निमा सङ्ग्रहको बारेमा छोटो परिचय गराईदिनु न ।
– यो मेरो पहिलो कविता कृति हो, जसभित्र ४२ कविताहरू छन् । यस कविताकृति लाई शकुन आँशुको अव्यक्त अभिव्यक्ति भनेर बुझ्नुभए पनि हुन्छ ।
२, लामो समय कोरिया बस्नुभयो । अधिकाशं कविता कोरिया बसेरै लेख्नुभयो। साहित्यका कार्यक्रमहरूमा पनि बाक्लै देखिनुभयो । खासमा तपाईँँको नजरमा कविता के हो?
– सिर्जनशील साथीहरू, साहित्यिक कार्यक्रम भनेको लेख्नको लागि हौसला मिल्ने सुन्दर परिवेश हो लाग्छ मलाई । कृति भित्रका अधिकांश कविता कोरिया बसाईमै लेखेँ । कोरियाको बसाई नै लेखनको लागि उर्बर बनिदियो । मलाई लाग्छ, कविता दु:ख र अप्ठ्याराहरूको चित्कार हो । जो पर्देशमा पाइलैपिच्छे भेटिन्छ ।
३, सङ्ग्रहको कुनै कविता लेखिनुको कुनै पृष्ठभूमि छ होला बताईदिनु न ।
– ‘रेम्माखिम’ जो दिवंगत आप्पाको बारेमा लेखेको छु । कोरियामा काम छोडेर बसेको थिएँ, सायद तनावमा थिएँ होला । त्यो बेला सपनामा आप्पा लाई देखेँ, पानी परिरहेको थियो , भनिरहनुभएको थियो – ” कान्छी घर जा छिटो घर जा ” पानीले भिजिसकिस्…
४, नेपाल बसेर पनि लेखिरहनुभाछ । देशमा बसेर लेख्दा र परदेशमा बसेर लेख्दाको फरकपन के हुँदो रहेछ?
– खासमा देशमा लेख्न सकिरहेको छुईँन । दुईचार कविता लेखेँ होला । देश र पर्देशमा लेख्नु धेरै फरक पर्नेरहेछ , मेरो हकमा चैँ । भोगाईको हिसाबले पर्देश एक्लो छ, देश पारिवारिक भईन्छ । पारिवारिक हुनु भनेको चिन्तन परिवेश सोचे अनुकुल नहुनु रहेछ । बाहेकका लेखकको लागि त दुवै प्रसस्त हुन्छ जस्तो लाग्छ ।
५, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्ने? र नवयुगकी सुम्निमा किन पढ्ने?
– पढ्ने लत लागेका पाठकलाई पढ्नको लागि सुझाउन आवस्यक हुदैन । आफ्नो रूचि र ज्ञान क्षमता अनुसार पढिरहनुभएकै हुन्छ । मलाई लाग्छ, पाठकको लागि विविध माध्यम मध्ये पनि उत्कृष्ट स्रोत चैँ किताब नै हो ।
‘नवयुगकी सुम्निमा’ पढ्नु पर्ने कारण चैँ एउटा कवि हुँ भनेर हिँडेको मान्छेलाई मुल्याङकन गर्नको लागि पढनुस् । अर्थात् शकुन आँशु को बारेमा तपाई भित्र रहेको कौतुहल्ता जो छ, त्यो मेट्नको लागि पनि पढिदिनुहोस् । धन्यवाद !
***
प्रतिक्रिया
-
४
