– मौनता थापा
१,
निभेको सम्बन्ध जगाउनु परेको छ
भ्रमको तुवाँलो भगाउनु परेको छ
तँ बाँचेर के गर्छेस ? भन्छौ तिमी
बैगुनीलाई गुन लगाउनु परेको छ ।
२,
बढ्दै नदी उर्लिदै किनारामा छाल हुन्छ
सत्य कर्म गर्दा सधै त्यसै किन गाल हुन्छ
पाइला पाइला सजग अघि बढ्नु पर्छ हामी ,
साँचो माया अमर बन्छ ,झुठो बेहाल हुन्छ ।
३,
फुल्नु नै छ यदि भने बेली बनेर फुल
दिनु छ सुवास भने चमेली बनेर फुल
पारिजात बनि किन झर्नुछ आखिर,
पूर्ण चन्द्रमा जस्तै उजेली बनेर फुल ।
४
निकै नहुने घाउको खाटो दुखेर रुँदैछु म
जिन्दगीको भद्रगोल पाटो दुखेर रुँदैछु म
बिना कारण किन रुन्छेस भन्छौ नी तिमी !
रित्तिदै गएको देशको माटो दुखेर रुँदैछु म ।
५,
स्वर्ग हो कि धर्ती भन्नै गाह्रो भयो
अङ्क हो कि अक्षर गन्नै गाह्रो भयो
ठिकै थियो उन्नाई बीस मात्र भएपनि ,
आकाश हो कि जमिन खन्नै गाह्रो भयो ।
प्रतिक्रिया
-
४
