
– डा. प्रदीपकुमार मैनाली
अति नै गर्छे यार के गरौं ?
मैले आफ्नो बेलिबिस्तार सानैदेखिको साथीसँग पोखेँ जो अझैसम्म मेरो सम्पर्कमा छ।
“तेरै छ मोज! गर्न बाँकि के नै राखिस र ? बाँकि त्यही त होला नि! अब पनि नगरे कहिले गर्छस्?”- बाल्यसखा योगानन्दले जवाफ दियो ।
म काठमाडौं बासिन्दा, उनी गाउँमा सरकारी विद्यालयकी शिक्षक ।
मुहार पुस्तिकाको भित्तामा कोचिएका निर्जीव प्रेमिल स्टिकरहररू उनले लगातार म्यासेन्जरमा मलाई पठाइरहँदा मैले पनि एक दुईवटा पठाउनु सायद कर्तव्य सम्झिएँ। सम्भवत, त्यसैले नै मेरो मन पगालेको थियो । मन न हो।
सरकारी बिद्यालयमा पढाउने भए पनि साहित्यिक, देखि सामाजिक कार्यक्रममा उनको निकै सक्रियता छ भन्ने कुरा मुहार पुस्तिका बाटै प्रष्ट हुन्थे । मान सम्मान र प्रमाणपत्रका ओइरो पनि नदेखिएका हैनन्। उनको यो सब चर्चा, प्रशंसा देख्दा आफुलाई केही गर्न नसकेकोमा खल्लो लागे पनि उनी जस्ताको अती प्रियतम बन्न पाएकोमा खुशीको सिमा थिएन मँमा।
पोहोर साल नै चैत अन्तमा भनेर वचन दिएकी हुन् । बिद्यालयको परिक्षा सकिएपछि मात्रै काठमाडौं आउने समय हुन्थ्यो उनीसँग । उनको बाध्यतालाई बुझेर मैले पनि धैर्य गर्नु विकल्प अरू केही थिएन ।
उनी आए पनि भेटघाट हुन सकेन पोहोर साल। पारिवारिक समस्या, अस्पतालमा बिरामी, आफन्तसँग भेटघाट, आदि इत्यादि। उनले जे जे भनिन् , त्यही पत्याएँ। उनले भने झैं उनका कुरा पत्याएर असल प्रेमिको भुमिका निभाएकाे हाे मैले पनि ।
गाउँ पुगेपछि भनिन्- यसपल्ट यस्तै भयो अर्को पटक काठमाडौंको आधा बसाई मेरो राजालाई । उनै बाट पहिलो पटक पाएको हुँ यस्तो सम्बोधन । यस्तो लाग्यो कि मलाई – म बाहेक अरू सबै प्रजा हुन् ।
उनले पहिले झैं नियमित प्रेमिल स्टिकरहररू पठाउन छाडेकी पनि थिइनन् । मैले आफ्नो ब्यस्तताको बाबजुत पनि उनलाई जवाफ नफर्काएको पनि हैन। तर कताकता कुराकानी पातलिएको भने महसुस मलाई भइराखेको थियो । यसमा पुरै दोष भने मेरै थियो- जो दस पटक उनले बोल्दा एक पटक म जवाफ फर्काउथेँ ।
तर उनले गरेका वाचा, कसममा म अग्राख थिएँ । कुराकानी कम भए पनि,उनी प्रतिको मेरो श्रद्दा भनौं या सम्मान- अझै प्रष्ट भन्नु पर्दा उनी प्रतिको मेरो माया ब्रह्माण्ड भन्दा पनि विस्तारित थियो ।
यात्रा काठमाडौंको-उनले मुहार पुस्तिकामा राखिन। अरुले के लेखे मैले वास्ता गरिन ।मैले हार्दिक स्वागत लेखें – बस् यत्ति हो।
उनको आगनमा म उत्सुक थिएँ। आफ्नो ब्यस्तताका बाबजुद मैले उनको लागि केहि दिन छुट्याउनु पर्ने थियो । प्रेमिले गर्न सक्ने के के हुन्छ यो संसारमा, त्यो सबै हामीले गरिसकेका थियौं- पठ्य र श्रब्य शब्द मार्फत । यदाकदा उनैले गरेको दृश्य सन्चार मार्फत पनि ।
कहिले हो भेटघाट हाम्रो ? – मैले प्रश्न राखेँ ।
म आफैं फोन गर्छु – उनकाे जवाफ आयो । मलाई यो शब्द त्यति ब्यवहारिक थिएन । के म एम्बुलेन्स हो र इमर्जेन्सी दौडेर पुग्ने? अरू कुनै काम नै छैन मेरो ? आक्रोशित भएँ । तर पनि मन बुझाउनु सिवाय केहि थिएन। मन मनै सोचेँ- त्याग, समर्पण, धैर्यता र विश्वास नगर्नेले प्रेम नगरे हुन्छ ।
मुहार पुस्तिकामै देखेको हो मैले- एक दिन प्राज्ञ
सदस्य सँग उनको भेटघाट, अर्कोदिन केन्द्रिय स्तरका नेतासँग, तेस्रो दिन मिडियामा अन्तर्वार्ता दिदै गरेकी। मैले पनि उनले मुहार पुस्तिकामा पोस्ट्याएका तस्वीरहरूलाई बधाई तथा सुभकामना दिइ रहेँ।
अहँ उनको फोन आएन । मन लागि नलागी आफैंले फोन गर्ने धृष्टता गरेँ। उठेन। आधा घन्टा पछि फेरि गरेँ । अहँ, उठेन। मेरो अर्को पनि नम्बर थियो । त्यसैबाट गरेँ। फोन उठ्यो। खुशीले गद गद भएँ म। सायद अब केही हुन्छ । उनले सहजै चिनिन् मेरो स्वर। नचिनुन् पनि किन ? सम्झिएँ- उनलाई फोन गरेको पैसाको लेखाजोखा गर्ने हो भने छोरीको टिफिन् कति महिना गुजारा चल्थ्यो।
छि!- कस्तो सानो सोच! प्रेम गर्नेले फोन गरेको पैसाको हिसाब किताब?
आफ्नो सोचाइ प्रति आफैंलाई नमजा लाग्यो ।
अँ हजुर सर – म अहिले ब्यस्त छु बेलुका फोन गर्छु है। यति भनेर राखिन उनले । आफन्त कोही सँगै होलान् । अप्ठ्यारोमा परिछ्न् बिचरी-यस्तै सम्झिएँ । सम्झिनु बिकल्प अरू केही थिएन म सँग- जबसम्म भेट हुँदैन
।
म उनको फोनको पर्खाइमा थिएँ । कतिबेला बेलुकी होला र फोन आउला भनेर ।
सम्झिएँ- सायद भोलि हो हाम्रो भेट हुने दिन। मैले भोलिको तयारी गर्नु पर्छ । अफिसमा हाकिम सँग भोलिको लागि बिदा मागेँ । खल्तीमा पैसा थिएन। एटिम पुगेँ। बेलुकी हुन धेरै बेर बाँकि थिएन । सोच्दा सोच्दै घर आइपुगे छु । बाटो कहाँ जाम परयो, कहाँ कहाँ को को भेटिए सम्झना भएन मलाई । सम्झिराख्ने फुर्सद पनि थिएन।
ऐना अगाडि उभिएँ। चाउरी परेको अनुहारले खिस्स हाँस्यो म सँग।
दारी काटेकै रहेनछ। दारी काटेँ हतार हतार । ऐना हेरेँ – फेरि । आदि खुइल्याएको आदि खुइल्याउन बाँकि रहेको आँगनमा पसारेको दशैंको बोकाको जस्तो दृश्य उभियो । कपाल त लामो भएको रहेछ। फेरि हजाम को मा पुगेँ । त्यहाँ पनि भिड । घरमै फर्किएर कान छेउछाउ कैंचिले मिलाएँ ।अन्त कता कता के के गर्नुपर्ने- सब सफाचट बनाएँ।
फोन आउने बेला हुन लाग्यो। बाहिर निस्कन्छु। निस्किएँ पनि । नभन्दै केही बेरमै फोन पनि आयो। मुटु नै सिरिङ्ग गर्यो । धैर्यता नै महान हो । साहस गरेर उठाएँ । अरू त सामान्य नै थियो मात्रै भोलिको आगमनले गराएको थियो जे गर्नु ।
मलिन स्वरमा भनिन् – आराम होइसिन्छ राजा साहब? मैले फोन गर्न भ्याइन सरि ल।
मैले सानातिना कुरा बिर्सिसकेको थिएँ यतिबेलासम्म ।
के फरक पर्यो र ?- मैले भनेँ।
भोलि हैन त हाम्रो भेट्घाट – सोधेँ।
हो नि, भोलि नै भनेको । गाउँ फर्किन सदरमुकामसम्म प्लेनको टिकट भोलि बिहानैकाे पाइयो । स्कुलको काम पनि त्यत्तिकै छ। सरि ल, मेरो हजुर । हामी छँदै छौं नि! नरिसाइस्यो है !-आफ्नो ख्याल राखिस्यो।- यस्तै यस्तै के के हुकुम भयो महारानीबाट। मैले सबैकुरा सम्झन सकिन ।
मेरो दिमाग अर्ध चेत हुन लागिरहेको थियो ।
रातभर छट्पटि भै राख्यो। अघिपछि कुम्भकर्ण झैं निदाउने म- यसदिन भने निदाउनै सकिन ।
कताकति झकाउन खोजेपनि, स-साना स्याराङ् सुरुङ्ग आवाजले नै निन्द्रा भङ्ग गरिदिन्थे।
समय रोकिने कुरै भएन । जन्म कैद जस्तो रातले मुक्ति पाए पनि कैदीमा भने झुम्म भइराखेको थियो ।
बिदा लिएकोले अफिस जाने कुरै भएन । खाना खान खासै मन लागेन। अलिकता तनाव भयो भने उपत्यकाकाे डाँडाकाँडाका रुखबिरुवा, चराचुरुङ्गी मेरा साथी बन्छन् । ती नै हुन् मेरो दुखेसो सुन्ने ।
दुईवटा क्यान बियर बोकेर थोत्रो भट्भटेमा हुइकिएँ म पनि । सुर्यबिनायक हुँदै घ्याम्पे डाँडातिर। सायद ऊ -महारानी -माथि माथि उड्दै होलि यतिबेला, म भने तल गुड्दै छु। जे हुनुपर्थ्यो, उल्टो भयो ।
भट्भटे घ्यापे डाँडामा रोकियो । मलाई एकान्त ठाउँ खोज्नु परेकोले डाँडा बाट केहि पर ओरालोमा बुटाबुटी छिचोल्दै बस्ने ठाउँ खोज्दै थिएँ, लगभग मैले भनेजस्तै ठाँउ पनि भेट्टाएँ।
बसेँ- पलेटी कसेर ।
मेरा आँखाले झाडीको हाँगा र पातको बिचबाट उपत्यका पुरै नियाल्न सक्थ्यो । मलाई भने त्यहीँको झाडी बाहेक अरूले देख्ने अवस्था रहेन।
बियर खल्तिमै थियो । झिक्न के हात खल्तीमा पुर्याएको थिएँ, छेउमै बनमाराको घारी भित्र सर्याङ् सुरुङ आवाज आयो । सायद कालिज होला या कुनै चरा। अलि बढी नै आवाज आयो । पक्कै मृग हुनुपर्छ । म भाग्यमानी छु जिवजन्तु भेट्न मा । भाग्ला कि भनेर बिरालाको चालले नियाल्न थालेँ। अपत्यारिलो तर सत्य। आँखा तिर्मिरायो। आँखा मिचेँ र फेरि हेरेँ । भ्रम जस्तो लागे पनि कुनै भ्रम थिएन । सपना जस्तो लागे पनि कुनै सपना थिएन । चिलाउनेको फेद मुनि बनमाराको घारी भित्र सुखासन मुद्रामा हराउँदै रहेछ मेरो बाल्यसखा योगानन्द, उनै महारानी सँग -जो बिहानै जहाज चढेर गाउँ फर्कन्छु भनेकी थिइन्।
धर्ती फाटे झैं लाग्न थाल्यो, तर केवल भ्रम । फाटेको थियोे त केवल मेरो छाती, हजारौं हजार दरार बनेर – जहाँ उर्लिदो भेल क्षत विक्षत पार्दै दौडिरहेको थियो, पात पतिङ्गर, कितपतङ्ग सहित अनेकौं अवशेष बोकेर । आकाश हल्लिए झैं ठानेँ । त्यो पनि आखिर असत्य नै थियो । थियोे त केवल मेरो मथिङ्गल हल्लिएको, जसले पुरै ब्रह्माण्ड कम्पन गराएको अनुभुति गराइरह्यो । सम्झिएँ, सायद भगवान बिष्णुले बिश्व विराट स्वरुप देखाउदा पनि यो पृथ्वी यति हल्लिएको थिएन।
खैर, आफुलाई सामान्य अवस्थामा अवतरण गराउन वाहेक म सग विकल्प थिएन।
जिवनको जहाज नछुटोस् !- मैले मन मनै उनिहरूलाई दिने शुभाशिर्वाद यत्ति रह्यो ।
युद्ध मैदानमा हार्दै गरेकाे सिपाही भनौं या बाघ देखे पछि वच्न गरिने उपाए – म पनि उनिहरुले देख्लान् कि भनेर पाइला पछाडि पछाडि सार्दै टाढिएँ ।
त्यहाँबाट हिंडे पनि त्यो दृश्यले भने मलाई पछ्याइरह्यो । केहिबेर पछि सम्झिएँ – सायद कुनै आसनमा असिनपसिन होला- यतिबेला मेरो बाल्यसखा योगानन्द ।
“अब पनि नगरे कहिले गर्छस्?”- योगानन्दको यही शब्द कानमा गुन्जिरह्यो ।
***
सुखासन मुद्रा = उमामहेश्वर (शिव पार्वती) को मुर्तिमा शिवले पार्वतीलाई काखमा राखेर देब्रे हातले पार्वतीको देब्रे पटिको स्तन अर्ध चन्द्राकार आकारमा समाएको अवस्था- जुन काठमाडौंको बिभिन्न स्थानका ढुङ्गामा कुदिएको मुर्तिहरुमा देख्न सकिन्छ ।
प्रतिक्रिया
-
४