-राजेन्द्र संयोगी

झरोस,
मै माथि झरोस
यो आकास जत्रो पृथ्वी,
थिचियोस मेरो टाउको ,
छ्याल्ला ब्याल्ला होस मेरो गिदी,
नहोस नाम निसाना
सहुँला
तर
कदापि क्षम्य हुने छैन
अस्तित्व माथिको प्रहार
म चिच्याईरहनेछु चिहानबाट
भनिरहनेछु।
खबरदार।खबरदार

परेर चट्याङ,
चिरिएर मुटु,
जलोस ह्वार ह्वार्ति
असम्भेल मर्स्याङदी पनि
पसोस मै माथि,
बगोस सबै सबै
नरहोस कुनै हर हिसाब
होस
यो पनि ब्यहोरौला
तर
बिर्सने छैन कहिल्यै
खोजिरहनेछु
पुर्खाहरु हिडेको बाटो
म सोधिरहनेछु सधै
त्यहिबाट
मेरो राष्ट्र खोई

डढोस
बन पाखाहरू
सुकोस।
पधेराहरु पनि
धुम्म धुम्म होस आकास,
निरश निरश मनहरु
स्वीकार्य हुने छ मलाई
तर
स्वीकार्य हुने छैन त्यो
स्वाभिमान माथिको प्रहार,
अस्तित्व माथिको दमन,
बर्बर बर्बर डामहरु,
यी सबका सबको निशाफ लिन
एक दिन
एउटा युग आउनेछ
खबरदार

परोस शोकहरू
ननिको रोगैहरू
झरोस फ्यात्त फ्यात्त कुहिएर ,
पाकोस जरजर घाऊहरु ,
निस्कियोस पिपहरु
गनाओस डुङ्डुङ्ति
चलोस दुर्गन्धहरु।
र पनि
हुने छैन आत्म समर्पण
झुक्ने छैन तिम्रा सामु
मुल्य चुकाउनै पर्छ तिमिले
छुट हुने छैन कुनै
खबरदार।

तिम्रा षड्यंत्रहरु
माखी साङ्लोका चङ्गुलहरु
होस बिबशताहरु ,
चढेर हाम्रै काधहरु
गरिएका अत्याचारहरुको निम्ति
समयको कठघरामा उभ्याएर
न्यायको निम्ति अन्तिम युद्ध हुनेछ
शासकहरु
होशियार,

जाओस मेरो शिर
फुटाओस मेरा छाती ,
पड्कियोस मेरो ,
खप्पर पनि।
घटाईयोस मेरो उचाईहरु
काटियोस चार पंञ्जा
जबरजस्ति।
मान्य हुनेछ तर
खबरदार
मान्य हुने छैन कदापि,
मेरो अस्मिता माथिको बलात्कार
***

 

प्रतिक्रिया

सम्बन्धित खवर