– विष्णुविरही श्रेष्ठ
१,
यो मन छ साह्रै अटेरी चित्त बुझ्दैन
उस्तै पागल छु म फेरि चित्त बुझ्दैन
यो कस्तो जटिल लत बस्यो यार मलाई,
एकछिन तिम्लाई नहेरी चित्त बुझ्दैन।

२,
कसैले खोज्दैन, तिम्रा लागि बरमाला कसैले हेर्दैन
लाग्न सक्छ छातीमा पश्चातापको भाला कसैले हेर्दैन
आफ्नाहरु भन्छन् “बिहे गर, घरजम गर; उमेर छँदै,
ख्याल गर, सेतो केश चाउरिएको गाला कसैले हेर्दैन।

३,
यत्रो वर्ष स्वदेश बस्दा के भयो, के पायो? जान्छु परदेश
अभाव मेट्नुछ; नभन्नु-“यस्ले बाटो बिरायो” जान्छु परदेश
आफुसँगै बाआमाको पनि राम्रोसँग ख्याल राख्नु प्रिया,
जान्न भन्दापनी जानै पर्ने बाध्यता आयो जान्छु परदेश।

४,
मन दुख्ला, मन रोला र बढीमा निन्द्रा नपर्ला
अरु के होला र? सदाको घडीमा निन्द्रा नपर्ला
मलाई छोड्यौ, महल रोज्यौ, यही सोचेर होला,
सुख हुन्न गरीबको झुपडीमा निन्द्रा नपर्ला ।

५,
जसरी मेरो मन रेट्यौ, तिम्रो पनि मन रेटिन्छ
तिम्रा खुशीहरु जहाँ जेजे छन्, जति छन् रेटिन्छ
माया र सम्मान बुझेनौ, मभित्रको मेर्खता हेर,
हेरिराख, अब तिम्रो स्यूँदो भर्नेको गर्धन रेटिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर