– निरञ्जना चन्द निरु
गजल १,
आगो पिएको जिन्दगी छ त्यो चितासङ्ग डर छैन
आफैंले जितेकी छु मन कसैको कर अक्सर छैन
आज मानवता रह्यो सतहमा मानव डुब्यो स्वार्थमा
खै किन मान्छे किनबेच नभएको यहाँ कुनै प्रहर छैन
न त गाउँ न त शहरमा न त अँधेरी न त पँधेरीमा
नारी हो ढुक्क हुनु कहीँ छैन आफन्तकै भर छैन
चल्थ्यो भने रथ हुन्थ्यो होला दुई पाङ्ग्राबिनाको
यो सृष्टि हो र त पिपलबिना अस्तित्वमा वर छैन
जून मागेँ बदलामा सुन पाएँ मेरो खुसी नचिनेपछि
रहर रेटेँ मुस्कुराएँ घाउ नभएको अधर छैन्
गजल २,
यो शरद कति रुँदो हो ओसिलो बहन नभए
मुटु एक्लैएक्लै हुन्थ्यो कि साथमा मन नभए
महासागर गरिबीले सुक्थ्यो होलाझैँ लाग्छ
उसको पनि गहिराईमा हिरामोती धन नभए
कोही रुँदारुँदै हाँस्छन् कोही हाँस्दाहाँस्दै रुन्छन्
ती कहानीहरू कति रुन्थे कथा लेखन नभए
किन पहाड पर्वत खोलानाला सुसाउँछन् धेरै
अझै कति सुसाउँथे हितैमा त्यो पवन नभए
यी आँखाबाट चुनिएर पुग्यो हृदयमा पक्षीं
कहाँ बास बस्थ्यो होला दिलमा सदन नभए
***
प्रतिक्रिया
-
४