– सबिन निरौला

दसैंको चहलपहल काठमाडौं सहरभरि फैलिएको थियो। सहरको भीडभाड, तामझाम, र प्रदूषणलाई केही दिनका लागि छोडेर गाउँ जाने तयारीमा हजारौं मानिसहरूको भीड थियो। वर्षभरि परिवारसँग नजिक हुन नपाउनेका लागि दसैं विशेष महत्वको चाड हो, जहाँ घर फर्कने यात्रा मात्र होइन, पुनर्मिलनको कथा पनि बुनिन्छ। म पनि त्यस्तै यात्रुहरू मध्ये एक थिएँ। काठमाडौँको व्यस्त जीवन शैलीबाट केही समय टाढा, आफ्नै गाउँ फर्किने उत्साह मनमा लिएर।

बसपार्कको वातावरण दसैंको माहोलले प्रभावित थियो। म पनि आफ्नो बसको प्रतीक्षामा थिएँ। सिट नम्बर “ए”१७ लेखिएको टिकट हातमा लिएर बसतिर अघि बढ्दै थिएँ। केही समयपछि बसभित्र छिरेर आफ्नो सिटमा बसें। झ्यालतिरको सिट थियो, त्यसैले बाहिर हेर्दै काठमाडौंको भीडभाडलाई छोडेर पहाडतिर जाने कल्पना गरिरहेको थिएँ। मनमा हल्का खुशी पनि थियो, केही थकान पनि। लामो यात्राको लागि तयार हुँदै बसको एक छेउबाट अर्को छेउमा आउँदै गरेका यात्रुहरूको चहलपहललाई हेरिरहेँ।

समयक्रमसँगै बस भरिन थाल्यो। यात्रुहरू आफ्नो सामान मिलाउँदै, एक–अर्कासँग कुराकानी गर्दै सिटमा बस्न थाले। मैले आफ्नो सिटमा बसेर फोन चलाउदै थिएँ, अचानक मेरो छेउको सिटमा बस्न आइपुग्ने अनुहार देखेर म एकछिन स्तब्ध भएँ। त्यो पुरानो परिचित अनुहार थियो, इशा खड्का।

इशा मेरी पुरानी प्रेमीका थिइन्। हामी एक अर्का संग छुट्टिएको पनि करीब चार वर्ष बढी भइसकेको थियो। करिअर र जीवनका अन्य जिम्मेवारीहरूका कारण हाम्रो सम्बन्धमा दूरी आयो र अन्ततः हामी अलग भएका थियौ तर यो यात्रामा उनलाई यसरी फेरि देख्न पुग्छु भन्ने मैले सपनामा पनि सोचेको थिइनँ।

म एकछिन स्तब्ध भएँ। मनमा अनगिन्ती प्रश्न उठे। उनी मलाई देखेर केही अचम्मित देखिइन्। उनका आँखा एकछिनका लागि मसँग जुधे, तर त्यसपछि हल्का मुस्कान दिएर मेरै छेउको सिटमा बसिन्। मेरो मनमा भावनाहरूको हलचल सुरु भइसकेको थियो।

बसले आफ्नो गति लिन थालि सकेको थियो। काठमाडौंको कोलाहल छोडेर हामी पहाडी घुम्तीहरूतिर लाग्यौं। इशा सँगको मेरो सम्बन्ध निकै विशेष थियो। हामीले जीवनका धेरै पलहरू सँगै बिताएका थियौं, हसि मजाक , अनि भविष्यको योजना बनाउन एकअर्कालाई साथ दिएका थियौं। तर, समयको फेर बदलले हाम्रो सम्बन्धलाई परिदृश्यमा बदलिदियो।

करिब आधा घण्टा जति बितिसकेको थियो। हाम्रो बीचमा कुनै संवाद भएको थिएन। उनी आफ्नो फोनमा केही हेर्दै थिइन्, म भने झ्यालबाट बाहिरको दृश्यमा हराइरहेको थिएँ। मेरो मनले प्रश्न गर्न थाल्यो,के म उनीसँग बोल्नुपर्छ? के यस अप्रत्याशित भेटलाई सहज बनाउन प्रयास गर्नुपर्छ? तर, म मौन नै रहेँ।
अन्ततः, सुनिताले नै मौनता तोडिन्। के- कस्तो चल्दै छ तिम्रो जीवन?” उनले सरल तर सहज स्वरमा सोधिन्। उनको स्वरमा न कुनै आक्रोश थियो, न कुनै औपचारिकता, केवल पुरानो चिनजानको सरलता थियो।

मैले केहीबेर उनलाई हेरेँ, अनि हल्का मुस्कान दिएर भनेँ, “ठीकै छ। व्यस्त छु, तर जीवन ठीकठाक चलिरहेको छ। तिमीलाई कस्तो छ त?”

उनले हल्का हाँस्दै भनिन्, “म पनि राम्रो छु। धेरै परिवर्तन भएको छ, तर जीवन यस्तै हो।” अनि पढाइ कता पुर्यायौ त इशा? मैले उनको आँखा तिर हेर्दै सोधे। एम.बि.ए सकेर अहिले एक निजि कम्पनीमा कार्यरत छु उनले भनिन्। अनि सबिन तिम्रो पढाइ नि? मैले नि बि.बि.एस. सकेर अहिले मेडिकल क्षेत्रमा काम गर्दै छु।

मैले आफ्नो करियरमा स्थिरता पाइसकेको थिएँ, तर व्यक्तिगत रूपमा भने अझै केही खालीपन थियो। यो खालीपन सायद उनीसँगको विछोडको कारण पनि हुन सक्छ भन्ने मैले मनमनै सोचें, तर त्यो कुरा भने मैले व्यक्त गरिनँ। हामीबीचको संवाद सामान्य हुँदै थियो, तर हरेक शब्दमा पुरानो माया र सम्झनाको छाया थियो।

इशा र मैले हाम्रो विछोडका कारणहरूबारे पनि कुरा गर्यौं। उनले भनेकी थिइन्, “त्यति बेला समय, करियर, अनि जीवनका अन्य जिम्मेवारीहरूले म आफ्नो सम्बन्धलाई समय दिन सकिनँ। सायद मैले धेरै अपेक्षा गरें, सायद तिमीले पनि।”

मैले गहिरो श्वास लिएर भनेँ, “त्यति बेला हामी दुवैले धेरै कुरा बुझ्न सकेनौं। सायद हामीले एकअर्कालाई नबुझ्न खोज्यौं, सायद दूरीले हामीलाई अलग गरायो। तर, अब लाग्छ कि त्यो निर्णय सही थियो।”

उनले सहमतिमा टाउको हल्लाइन्। हामी दुवैजनाले यो बुझिसकेका थियौं कि विछोड हाम्रो लागि अनिवार्य थियो। जीवनले नयाँ बाटो देखाउनका लागि पुरानो सम्बन्धलाई टुंग्याउनुपर्थ्यो।

तर, यो बस यात्रामा भएको अप्रत्याशित भेटले हामीलाई केहीबेरका लागि भए पनि पुरानो समयको झझल्को दिलाएको थियो। हामीबीचको संवादले हामीलाई भावनात्मक रूपमा हल्का बनायो। हामी दुवैलाई थाहा थियो कि हाम्रो बीचको सम्बन्ध पुरानै ठाउँमा फर्किन सक्दैन, तर यो भेटले हामीलाई एकअर्काप्रति पुनः सम्मान र बुझाइको भावना जागृत गरायो।

बसले घुम्तीहरू पार गर्दै पहाडी बाटोमा अघि बढिरहेको थियो। झ्यालबाट देखिने हरियालीले मेरो मनलाई केही शान्त बनायो, तर मभित्रको भावनाको कोलाहल भने अझै शान्त भइसकेको थिएन। इशासँगको यो अप्रत्याशित भेटले धेरै कुराहरू मनमा उठाइरहेको थियो।

“के तिमीलाई कहिलेकाहीं हाम्रो सम्बन्धको सम्झना आउँछ?” मैले एकाएक सोधें।

उनले एकछिन चुप लागिन्, अनि शान्त स्वरमा जवाफ दिइन्, “हो, कहिलेकाहीं तिमी र हामीले सँगै बिताएका पलहरूको सम्झना आउँछ। तर अहिले ती सबै कुरा टाढा भइसकेका छन्।

उनको जवाफ सुनेर म एकछिन मौन भएँ। समयले हामीलाई बिर्साइदिए पनि केही सम्झनाहरू सधैं हृदयमा रहिरहन्छन्। ती सम्झनाहरू, जसले हामीलाई कहिलेकाहीं पुरानो भावनाको यात्रामा लैजान्छ।

हाम्रो कुराकानी फेरि केही समयका लागि रोकिन्छ। बसले आफ्नो गन्तव्यतर्फ निरन्तर यात्रा गरिरहेको थियो, तर हाम्रो यात्रा भने भित्री रूपमा कुनै गहिरो भावनाको यात्रा बनिसकेको थियो। पुराना घाउहरू निको भएको भए पनि, ती घाउका निशानहरू अझै स्पष्ट थिए।

बस आफ्नो गन्तव्य तिर अघि बढ्दै थियो। बाहिरको दृश्य झ्यालबाट निरन्तर बदलिरहेको थियो—पहाडी बस्तीहरू, हरिया वनहरू, अनि कहिलेकाहीं देखिने साना नदीहरूको बगर। म त्यो दृश्यमा हराइरहेको थिएँ, तर मेरो मन भने इशा सँगको कुराकानीमा गडिरहेको थियो।

“तिमीलाई हाम्रो पहिलो भेट याद छ?” मैले हिम्मत गरेर सोधेँ।

इशाले मुस्कुराइन्। उनको मुस्कानमा पुरानो आत्मीयता देखिन्थ्यो। “अवश्य,” उनले भनिन्, “हाम्रो पहिलो भेट धेरै अनौठो थियो, हैन?”

साँचो कुरा त के थियो भने, हाम्रो पहिलो भेट त्यत्तिकै संयोगले भएको थियो। हामी एकै कलेजमा थियौं, तर कहिल्यै बोलचाल भएको थिएन। एकदिन कुनै सामान्य कार्यक्रमको बेला हामी परिचित भएका थियौं। त्यो संयोगले हाम्रो मित्रता बढायो, अनि बिस्तारै हामी नजिक भएका थियौं।

“मलाई अझै सम्झना छ, तिमीले पहिलो पटक मलाई त्यो क्याफेमा भेट्न बोलाएकी थियौ,” मैले पुरानो कुरो निकालें। “त्यो बेला तिम्रो अनुहारमा हल्का घबराहट थियो।”

इशाले हाँसिन्। “हो, म सधैं अलि लजालु थिएँ। तिमीलाई सोध्न मन थियो, तर हिम्मत जुटाउन समय लागेको थियो।”

हामी दुवैले त्यो क्षणलाई फेरि एकचोटि सम्झेर हाँस्यौं। ती दिनहरू निकै सरल थिए। पढाइको तनाव, करियरका सपना, र भविष्यको योजना त थिए नै, तर ती सबैभन्दा महत्त्वपूर्ण कुरा भने एकअर्काको साथ थियो। हामी सँगै हुँदा अरू कुनै कुरा महत्त्वपूर्ण थिएन जस्तो लाग्थ्यो। तर, समयसँगै ती सारा सपना परिवर्तन हुँदै गए। जीवनले नयाँ मोड लियो, अनि हामीले आ–आफ्नो बाटो रोज्यौं।

“तिमीलाई त्यो समय सम्झिँदा के लाग्छ?” मैले पुनः सोधेँ। म जान्न चाहन्थें कि इशाको मनमा अहिले के विचार चलिरहेको थियो।

उनले गहिरो सास फेर्दै भनिन्, “त्यो समय विशेष थियो। हामी दुवै अलि अपरिपक्व थियौं, तर माया भने साँचो थियो। हामीले धेरै कुरा बुझेका थिएनौं, तर हामीसँग भविष्यका योजना थिए। अहिले त्यो सब सम्झिँदा लाग्छ कि ती सम्झनाहरूले हामीलाई परिपक्व बनाए।”

मैले सहमतिमा टाउको हल्लाएँ। उनी सही थिइन्। हरेक सम्बन्धले हामीलाई केही सिकाउँछ। ती क्षणहरूमा जति नै नजिक वा टाढा भए पनि, अन्ततः तिनीहरू हामीलाई भविष्यका लागि तयार बनाउँछन्। हाम्रो विछोडले पनि हामीलाई बडो सिकाइ दियो।

हाम्रो सम्बन्ध टुट्नुको कारण मात्र दूरी थिएन। हामी दुवैले आफूलाई समय दिन सकेनौं, आ–आफ्ना सपना र जिम्मेवारीले थिचिँदै गयौं। सायद हामीलाई बुझ्न र धैर्य गर्न सक्नुपर्थ्यो, तर त्यो बेला त्यो कुरा गर्न सकिएन। त्यसैले हाम्रो विछोड अपरिहार्य बन्यो।

हामीबीचको कुराकानीले अब पुराना दिनहरूलाई पुनः जिउँदो गरिरहेको थियो। ती सम्झनाहरूको गहिराइमा डुब्दै गर्दा म सम्झिरहेँ कि हाम्रो सम्बन्धको अन्त्य कसरी भएको थियो। अन्तिम पटक भेट्दा हामीबीच धेरै कुरा अनकही थिए। ती अनकही कुराहरू आज यी पहाडी घुम्तीहरूमा फेरि खोल्दै थियौं।

“त्यो समय सम्झदा कहिलेकाहीं लाग्छ,” मैले भनें, “यदि हामीसँग अलि बढी समय र समझदारी भएको भए, सायद हामीले यो सम्बन्धलाई बचाउन सक्थ्यौं। तर, अहिले बुझ्दै छु कि विछोड पनि जीवनको एक हिस्सा हो।”

उनले सहमतिमा टाउको हल्लाइन्। “हो, केही कुरा हामीले नियन्त्रण गर्न सक्दैनौं। त्यति बेला म पनि धेरै अस्थिर थिएँ। करियर, परिवार, अनि जीवनका अरू धेरै कुराले म थाकिसकेकी थिएँ। त्यो अवस्थामा हाम्रो सम्बन्धलाई बचाउन गाह्रो भयो।”

बस अब गन्तव्य नजिक आइपुग्दै थियो। बाहिरको दृश्य अझै पहाडी गाउँहरूको थियो। यात्रुहरू बिस्तारै आफ्नो सामान तयार गर्दै थिए, म भने आफ्नो मनभित्रको भावनाहरूलाई शान्त पार्न प्रयास गर्दै थिएँ।

इशासँगको यो अप्रत्याशित भेटले मलाई पुरानो घाउहरूलाई सम्झाएको भए पनि, ती घाउहरू अब निको भइसकेका थिए। हामीबीचको संवादले ती पुराना बन्धनहरूलाई सम्मानपूर्वक टुंग्यायो। अब म उनलाई केवल एक पुरानी प्रेमिका मात्र होइन, एक पुरानी साथीको रूपमा देख्न थालेको थिएँ। हाम्रो सम्बन्धले हामीलाई धेरै सिकायो, अनि यो बस यात्राले त्यो सिकाइलाई फेरि एकचोटि सतहमा ल्यायो।

बसले अन्ततः हाम्रो गन्तव्यमा पुग्यो। यात्रुहरू आ-आफ्नो सामान सम्हाल्दै ओर्लिन थाले। लामो यात्राले सबै थकित देखिन्थे, तर मेरो मनभित्रको थकान भने भावनात्मक थियो। इशासँग बिताएको यो अप्रत्याशित यात्रा, जसमा हामीले पुराना कुरा फेरि सम्झ्यौं, पुराना घाउहरू खोल्यौं, अनि फेरि ती घाउहरूलाई सम्मानपूर्वक टपक्क टाल्यौं, अब टुंगिन लागेको थियो।

इशा उभिएर आफ्नो झोला मिलाउँदै थिइन्। मैले मनमनै सोचेँ, “के यो हाम्रो अन्तिम भेट हो? के हामी फेरि कहिल्यै भेट्नेछौं?” हामीले यति धेरै कुरा गर्यौं, यति धेरै भावनाहरू बाँडेका थियौं, तर जीवनले हामीलाई अहिले यहाँ ल्याएर फेरी अलग गर्ने तयारी गरिरहेको थियो।

बसबाट ओर्लिएपछि हामी दुवैजना केही बेर मौन भयौं। यात्रुहरूको भीडभाडले हाम्रो बीचको मौनतालाई चिर्न खोज्दै थियो। तर हाम्रो मनमा भने एकअर्काप्रति बिदाइको मिठास थियो।

मैले पनि हल्का मुस्कान दिँदै भनेँ, “हो, मलाई पनि यस्तै लाग्यो। हामीले धेरै कुरा बोल्न बाँकी थियो, जुन अहिले भन्यौं।”

इशाले टाउको हल्लाउँदै भनिन्, “समयले धेरै कुराहरू बिर्साइदिन्छ तर केही कुरा सधैं हृदयमा रहन्छ। सायद यो भेट पनि हामीलाई पुराना सम्झनाहरूलाई सम्मानपूर्वक बिदाइ दिनको लागि आवश्यक थियो।”

मैले साहस जुटाउँदै सोधेँ, हामि फेरि सम्पर्कमा रहने गरौं है।

उनले मेरो हिचकिचाहट बुझिन्। “अवश्य,” उनले हाँस्दै भनिन्, “हामी सम्पर्कमा रहौंला। आखिर, जीवनमा केही सम्बन्धहरू यत्तिकै टुंगिदैनन्।”

उनको जवाफले मलाई हल्का राहत मिल्यो। हामी अब पहिले जस्तो जोडी त हुने छैनौं, तर साथीको रूपमा, एकअर्काप्रति सम्मान राखेर जीवनमा अगाडि बढ्न सक्छौं।

हामीले एकअर्कालाई नम्बर साटासाट गर्यौं, जसमा लामो समयसम्म नबोलिएका संवादहरू समेटिन सक्छन्। सायद, हामी भविष्यमा एकअर्काको जीवनमा कुनै नयाँ भूमिकामा देखा पर्नेछौं—पुराना प्रेमीका होइन, तर जीवनका साथीहरूका रूपमा।

“ध्यान राख,” उनले बिदाइका रूपमा भनिन्।

मैले हाँसेर जवाफ दिएँ, “तिमी पनि आफ्नो ख्याल राख है इशा।

***

प्रतिक्रिया

सम्बन्धित खवर