– रिमा के.सी.

मेरै आँगनमा भएको हो क्रान्तिको बिजारोपण
मेरै काखमा लडिबुडी गर्दै हुर्केका हुन् – स्वतन्त्रताका फूलहरू
गणतन्त्रकाे लागि मैले नै बलिदान दिएकाे हुँ
लोकतन्त्रको सपना बोकेर नाचेका हुन् पुतलीहरू
र गाैथलीहरूले गाएका हुन् गुँडमा बसेर क्रान्तिकाे गीत

भोकको कथामा गीत गाउन सिकेका चराहरू
सिस्ने भीरकाे ओडारमा बसेर-
नियालेका हुन् जनताहरूमाथि शासकहरूकाे दमन

मिर्मिरेमै उठेर
यहि भूगोलको गर्भबाट
उड्न सिकेका हुन् चारो खोज्दै खाेज्दै वनचरी
जलजला हिमालको एक झुल्को घाम बोकेर हिडेका हुन्
देशलाई उज्यालो बाँड्न खाम गाउँका मगरहरू

मेरै शिरमा फुलेका लालीगुराँसको
रङ्ग चोरेर रातो भएको हो देशको झन्डा
र रातै छन अझै युद्धमा बलिदान दिएका राेल्पाली घरहरू

यहि माटोले जन्माएका बेली र चमेलीले
क ख भन्दा पहिले सिकेका हुन बन्दुक बोक्न र युद्ध लड्न
आमाले ढाडमा नानी बोकेर  –
राइफलले दुश्मन ढालेको ठाउँ यहि हो
यहीँ छ्न शासकले जलाएका खरका बस्तीहरुका भग्नावशेष
अभावको आगोले सिकाएको बिद्रोहको पुराण
घोकेर हिँडेका हुन् कक्षा छोडेर कलिला बिद्यार्थीहरू

सहिदको रगतले भिजेको माटो हुँ म !
मेरै छातीमा समाहित छन् अझै कयौं सन्तानका लासहरू
तर पनि मनको मझेरीमा खुशीको किरण पर्न बाँकी छ
अझै पनि यहि माटोको लागि सन्तानले धेरै गर्न बाँकि छ !

ए ! सरकारी मान्छेहरु भन
यति छिट्टै कसरी बिर्सिनँ सक्याै आफू जन्मेको ठाउँ ?

***

प्रतिक्रिया

सम्बन्धित खवर