✍️ जीवन खत्री

लोकेन्द्र बञ्जरा नेपाली गजलमा उदाउँदो प्रतिभा हुन् । आँखाभरि सपना (२०६२) जैतुन (२०७३) दुई गजलका किताबहरू प्रकाशित भ‌इसकेका छन् भने पछिल्लो समय पलक गजल सङ्ग्रह उनको तेस्रो कृति हो । नेपाली गजलको चासो र चिन्ता गरिरहने उनलाई उनक‍ो पछिल्लो कृति पलकसँग रहेर सेतोमाटोका सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न यस्ता छन्ः

प्रश्न १ : ‘पलक’मा कस्ता कस्ता गजलहरू समेटिएका छन्, पाठकले किन पढ्नुपर्छ ?

पलकमा नेपाली लोकलयमा लेखिएका, बहरबद्ध, स्वनिर्मित लयमा लेखिएका लयगत विविधता समेटिएका गजलहरू छन् । म नेपाली गजल लयभन्दा बाहिर जानू हुन्न भन्ने तर्क राख्ने मान्छे भएकोले लयलाई ध्यान दिएर यतिको अन्दाज समेटिएको सायद यो नै एउटा गजल सङ्ग्रह होला भन्छु। तसर्थ, ‘पलक’ अरु समकालीन सङ्ग्रह भन्दा अलग र फरक सङ्ग्रह हो। लय अन्दाजको समष्टीरूप हेर्न ‘पलक’ पढ्नुपर्छ ।

प्रश्न २ : यहाँले यस अघि पनि गजल सङ्ग्रह प्रकाशन गर्नुभएको थियो । थप नयाँ कुराहरू के दिन सक्नुभयो ‘पलक’मा ?

मेरा यसअघि आँखाभरि सपना (२०६२) जैतुन (२०७३) दुई गजलका किताबहरू प्रकाशित छन् । आँखाभरि सपनामा उसबेलाको कलिलो प्रेम बिछोड धेरै लेखिएछ। जैतुनमा परदेशीको पीडा पोखिएछ। तर ‘पलक’मा बिचारमा कला समेटेर जीवनदर्शन दिन खोजेको छु। लय यसको बिशेषता हो। अन्दाज त छ नै ।

प्रश्न ३ : असल लेखकलाई लेखनका लागि केही न केही कुराले कुत्कुत्याउनु पर्छ भन्छन्, यो किताब लेख्नु अघि तेस्तो केही छ कि ? केही प्रसङ्ग सम्झिन मिल्छ कि ?

मैले लेख्ने भन्नू नै गजल मात्र हो। दिमागमा केही न केही कुराले नचिमोटी, मन अमिलो नभई, केही कुराले नछोइकन त लेख्न सकिन्न। हरेक गजलमा दुखेको छु। प्रासाङ्गिक कुरातिर लाग्दा यहाँ सकिन्न।

प्रश्न ४ : आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती विकल्पबाट किताब पठनमा तान्नेगरी लेखकले के गर्नुपर्ला ? ‘पलक’मा केके गर्नु भएको छ ?

पाठकहरूसँग धेरै विकल्प रहेपनि किताब नै उत्तम विकल्प हो। पाठकलाई तान्न लेखकले राम्रो (यहाँ राम्रोको धेरै अर्थ पनि हुन्छन्) लेखिदिए पुग्छ। पाठकहरूले खोजी खोजी पढ्छन्। ‘पलक’मा मैले गरेको कोसिस पनि यही हो। लय र अन्दाज फेरि पनि दोहोर्याउँछु।

प्रश्न ५ : ‘पलक’ गजल सङ्ग्रह प्रकाशन हुनुपूर्व र प्रकाशनपश्चात के फरकपन पाउनुभो आफ्नो जीवनमा ?

जीवनमै फरक भने आएको छैन। तर, प्रकाशकले छापिदिँदा गजलको कदर भएको भन्ने खुशी चाहिँ मिल्दोरहेछ।

प्रतिक्रिया

सम्बन्धित खवर