जिज्ञासु पौेडेल तिलक
१,
खन्याउनु होला अलिकती जल, रोपिदिनु होला
ठूलो भएपछी दिने नै छ सितल, रोपिदिनु होला
म झैँ अरु कोहि अक्सिजन नपाइ मर्न नपरोस्
मेरो चिहान माथी एउटा पीपल रोपिदिनु होला

२,
धेरै बेर भएको छैन भर्खर हावाले लयो ठिकै भयो
बाकी रहेन केही पनि डर  हावाले लयो ठिकै भयो
साथ देखाएर आएकाहरु नै औकात देखाएर गए!
कुचोले बढार्नुपर्ने कसिंगर हावाले लयो ठिकै भयो

३,
यो पल पछुताउनु पर्थेन त्यो पल लेखेको भए
ऐजेरुलाई ऐजेरु नभनेर काफल लेखेको भए
मुक्तक लेखेर मुक्तककार पनि बन्न सकिएन
कवि नै भैसकिनेरहेछ बरु गजल लेखेको भए

४,
मलाई नसोध्नु कसरि किन? सिकाउनु पर्दैन
समय आफै आउँनेछ दिन, सिकाउनु पर्दैन!
तिमी बगरमा बसेर समुद्रको गहिराइ बक्छौ
म माछा हुँ माछालाई पौडिन सिकाउनु पर्दैन

५,
दु:खको शृङ्खला एक दुई तीन हुन सक्छ
निस्तेज रात भन्दा अँध्यारो दिन हुन सक्छ
आजको हाँसो अलिकति बचाई राख सङ्गी
भोलि आँसुमा जिउनु पर्दा कठिन हुन सक्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर