राजन खत्री

प्रिय साथी,
सम्बोधन सबै सुन्दर शब्दहरू, फूलहरू र सुवासहरूको ।

आउ यो रङ्गीन दुनियाँमा तिमी र म सँगै हात समाएर यात्रा गरौं । हेरौँ, यहाँका सुन्दर प्राकृतिक छटाहरू र हासौँ केही पल खुसीले । बाँचौँ केही पल । नाचौँ, केही पल । जिन्दगी छोटो छ ।

यहाँ अमूल्य सम्पदाहरू छन्, प्राकृतिक सौर्न्दर्यहरू छन् । तालहरू छन्, नदीहरू छन्, झरनाहरू छन् । रुख विरुवा र जीवहरू छन् हेरौँला । छामौँला । बुझौँला । चाखौँला । अनुभव गरौँला । केही सेल्फीहरू खिचौँला र हृदयक‍ एल्बममा संगालौँला ।

हामी सबैमा कमजोरीहरू हुन्छन् नि हैन र? जीवनमा तिमीमा भएका कमी कमजोरी म भन्नेछु मेरो तिमी भन । स्विकारौँला एक अर्काको अस्तित्व । मानौँला एक अर्कालाई । बनाऔँला सृष्टिकै एक स्तम्भ मित्रताको ।

साथी, हामी हाम्रो नाम हावामा लेखौँला । पानीमा लेखौँला । माटोमा लेखौँला । सुसेली बजाँउदै पात पातमा पनि लेखौँला । तर ढुङ्गामा नलेखौँ । किन किन ढुङ्गाको मन पनि ढुङ्गाकै हुन्छ होला । मलाई ढुङ्गा मन पर्दैन ।

बरु हाम्रो नाम शुद्ध सफा नीलो रङले भरिएको आकाशमा लेखौँ, न कसैले भनेको मान्छ आकाश , जहाँ हाम्रो नाम लेखौँ । आकाशलाई राम्रोसँग थाहा छ जुनेली रातसँगको अनौठो यात्रा अझै गहिरो प्रेम जोडिएको छ औंशीको रात सङ्ग । हरेक दिन उसले आष्चर्यजनक यात्रा गर्छ फरक अनुभवहरू बटुल्छ !

हामी पनि जानौँला जीवनको उज्यालो के हो ? अन्धकार भित्रको ज्योति कस्तो हुन्छ ? यी सबै अनुभवहरूको संग्रहालय बनाउँला । आउ साथी तिमी र म संगै यात्रा गरौ !

हेर त देशको शिरले बिहान ऊठ्ने बित्तिकै मुसुक्क मुस्कुराउदै शुभ यात्राको संकेत दिन्छ, प्राकृति सम्पदाले भरिपूर्ण मेरो देशको छातीले तिमी र मैले यात्रा गर्दै गर्दा यात्रा सफलताको शुभकामना दिन हजारौं खोला नालाहरू लाई सूचना दीदै जलघडा तयार पार्छ । हो अनेकतामा एकताको सन्देश फैलाउन,  सुन्दर बगैंचाहरू तयार पारौं आउ साथी यो सुन्दर बगैंचामा हजारौं फूलहरू फुलाउँ यो सुन्दर बगैंचाको हामी माली बनौँ । तिमी मलाई साथ देउ म तिमीलाई साथ दिनेछु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर