✍️ विष्णु विरही श्रेष्ठ
मुक्तक – एक
खै के सोच्छ,केके बुझ्छ,केके सम्झिन्छ नछुने भएपछि
पशु जस्तै छोरीलाई गोठमा थुनिन्छ नछुने भएपछि
फर्किँदा छुन त के हेर्नै नपर्ने भएर फर्किन्छन् कति त
यसरी बाआमाबाटै छोरी मारिन्छ नछुने भएपछि
मुक्तक – दुई
साँच्चै यहाँ अपत्त्यारिलो सम्झौता हुनसक्छ
मित्र शत्रु अनि शत्रु चाहिँ द्यौता हुनसक्छ
धेरै विश्वास माया र छाडा नछोड्नु श्रीमानलाई
ख्याल गर तिमीमाथि पनि सौता हुनसक्छ
मुक्तक – तीन
अबेर गर्दै नगरी छिटो छिटो राखेर
मनमा रहर र सपना मिठो मिठो राखेर
बाबै ! अचेल त यसरी पो प्रेम गरिदोँरैुछ
फेसबुकको ईमेल, पासवर्ड धितो राखेर
मुक्तक – चार
जब कुनै अवला कुनै नानी बलात्कृत हुन्छ
फैशला हुदैन तर छानबिन विस्तृत हुन्छ
पिडित पीडामै हुन्छ,कसरी न्यायको आश गर्नु
बलात्कारी नै छानबिन गर्ने अधिकृत हुन्छ
मुक्तक – पाँच
कसैले जानेर गर्छन कसैले नजानी नजानी गर्छन
किन हो कुनै कुनै काम मान्छे लाजै नमानी गर्छन
अखबारमा यस्ता यस्ता समाचारहरु थुप्रै आउछन
अचेल श्रीमानहरु श्रीमती बेचेर आम्दानी गर्छन्
प्रतिक्रिया
-
४