✍️ जीवन भण्डारी
मुक्तक- एक
बसिरहनेलाई के को हतार, बसिरहेको बेला
मस्त निदाइरहेकोछ यार, बसिरहेको बेला
मलाई रोजगार देला भनेर कसरी चिताउँ मैले
सरकार स्वयम् बेरोजगार, बसिरहेको बेला।
मुक्तक – दुई
जिन्दगी बेचेर आय के हुन्छ परदेशीलाई ?
जिउँदै मर्नु सिवाय के हुन्छ परदेशीलाई ?
बा आमा र देश छोडेर हिड्नुपर्यो सरकार
त्यो भन्दा ठूलो सजाय के हुन्छ परदेशीलाई ?
मुक्तक – तीन
लुट्ने , खाने जाली मान्छे बसेको रैछ
देशै खल्तीमा हाली मान्छे बसेको रैछ
देश बिकाश किन हुन्न भनेर हेर्न जाँदा
खाली कुर्सीमा खाली मान्छे बसेको रैछ
मुक्तक – चार
आफ्नै समस्या सुल्झाउन राजनीति गरेका छन्
नाम सँगै दाम कमाउन राजनीति गरेका छन्
देश चलाउन राजनीति गरेकै छैनन् उनीहरू
उनीहरू त घर चलाउन राजनीति गरेका छन्
मुक्तक – पाँच
नउठ्ने आसामीको साँऊ देखे जस्तै
पहाडबाट समथर ठाँऊ देखे जस्तै
मैले तिम्लाई नदेख्दा यति धेरै देख्छु
परदेशीले सपनामा गाँऊ देखे जस्तै
प्रतिक्रिया
-
४