✍️ विष्णु विरही श्रेष्ठ

 

मुक्तक – एक

खुशी होस् सधैं, पीडा र पश्चाताप् पलपल नहोस्
बुद्धि पुर्यार खाँबो हाल्, जिन्दगी ढलपल नहोस्
बा भन्नुहुन्छ, “बिहे गर, घरजम गर उमेरमै, ताकी पछि”
बा भन्ने कि हजुरबा भन्ने सन्तानलाई अलमल नहोस्

मुक्तक – दुई

पछुतो लाग्छ, किन हो किन हतार गरेछु
मैले यो धर्तीलाई सम्झिन हतार गरेछु
माया गर्छु भन्छु, उमेर मिल्दैन भन्छिन् उनी
यस्तो लाग्छ यार मैले जन्मिन हतार गरेछु ।

मुक्तक – तीन

आफ्ना जस्ता कोही छैनन् सबै भाँडिएका छन्
कैले जात कैले धर्मको नाउँमा बाँडिएका छन्
यो देश विकसित र मजबुत कसरी हुन्छ यार ?
देशका खम्बाहरू सब् खाडीमा गाडिएका छन्।

मुक्तक – चार

बिदेसिन्छन् कयौँ जवानहरू घर बेचेर दलान बेचेर
रेमिटेन्स भित्र्याउछ सरकार खाडीमा त्यै जवान बेचेर
स्वदेशमा कर्म गर्न सर्माउँछौ, वातावरण नै छैन भन्छौँ
यहाँ छिमेकी आउँछ आम्दानी गर्छ सुर्ती बेचेर,पान बेचेर

मुक्तक – पाँच

ओई, साथी ! तँ आफै भन् त म कसरी जाउँ
मन दुखेको छ अत्यन्त म कसरी जाउँ
दुलाह मेरो असल साथी, दुलही मेरी प्रेमिका,
आफ्नै प्रेमिकाको बिहेमा जन्त म कसरी जाउँ ?

प्रतिक्रिया

सम्बन्धित खवर