✍️ सरस पाण्डे

पोहोर जस्तैगरी यसपाली पनि शरदले दसैँ बोकेर आँगनमा ल्याइसकेको छ । नेपालीहरूको महान पर्व दसैँ गजक्क परेर दैलोबाट चिहाइरहेको छ । छोराछोरीको स्कुल विदा भइसक्यो । उनीहरूको दसैँ बजारमा छ । अभिभावकको दसैँ भने काँधमा छ । घरका सबै सदस्यहरूको मनमा दसैँ पुर्‍याउनुछ । उनीहरूलाई खुसी बनाउनुछ । आफ्नो खुसीचाहिँ उनीहरूको अनुहारमा खोज्नुछ । उमेर बढेसँगै बढ्ने जिम्मेवारीका भारीहरू जिन्दगीको अन्तिम विन्दुमा नपुगी विश्राम लिन खोज्दारहेनछन् । हामी साना छन्जेल हाम्रा अभिभावकले त्यही भारी बोकेर हाम्रा रहर पूरा गरे । जिम्मेवारीको भारीले थिचेपछि बढो मुस्किल हुँदो रहेछ उठ्न ।

आफ्नो बालापन सम्झदा ती रमाइला यादहरू आँखामा घुम्छन् । कक्षा पाँचमा पढुन्जेलसम्म स्कुलको ड्रेसमा दसैँ मनाइयो । त्यही ड्रेसमा आफ्नो मामाघर, बाआमाको मामाघर सबैतिर चाहारियो । ड्रेसमा पनि कति रमाइलो हुन्थ्यो दसैँ । विद्यालमा कक्षा उक्लिएसँगै रहरहरूको कक्षा पनि उक्लिन्थे । त्यसपछि ड्रेसबाट अरूनै नयाँ कपडामा दसैँ आउँथ्यो । ती दसैँ झनै यादगार थिए । रमाइला थिए । गाउँको बिचमा लिङ्गे पिङ हुन्थ्यो । नयाँ कपडा देखाउन भने पनि साथीहरूलाई बोलाउँदै गाउँ डुलिन्थ्यो ।

घटस्थापनाको दिनदेखि फूलपातीको दिनसम्म भिरबाट सिरु घाँसका भारीहरू ल्याएर गोठमा चाङ लगाइन्थ्यो । रातो र सेतो माटोले घर पोतिन्थ्यो । भएभरका सबै लुगा ढुङ्गेधारोमा लगेर धोइन्थ्यो र चउरभरि सुकाइन्थ्यो । सुकेका लुगाको बास्ना र माटोको बास्ना घरभरि छरिन्थे । गाउँका सबै मानिसहरू मिलेर बाटो,धारो सफा गर्थे । सबैको आँगनसम्म झार खुर्किएका सफा बाटो पुग्थ्यो । चोक, पसलमा तासको खाल जम्थ्यो । आमाहरू कराउँदै तासको खाल उठाउन पुग्थे । हामी रमाउँदै पछिपछि दगुर्थ्योँ । बाहरू दगुर्दै आआफ्नो बाटो लाग्थे । अनि ढुक्कसँग पूर्णिमासम्म दसैँ मनाइन्थ्यो ।

अहिले त ढुक्कसँग बितिरहेका दिनहरू चाडपर्व आएपछि बिथोलिन्छन् । दराजभरिका लुगा, र्‍याकभरिका जुत्ता दसैँ आएपछि थोत्रा हुन्छन् । ती लुगा र जुत्तामा दसैँ मनाइयो भने फेसबुकले पनि गिज्याउँछ । ुसाथीहरूले के भन्छन् रु दसैँमा पनि नयाँ लुगा नकिन्दिने रु इच्छा पूरा गर्न नसक्नेले हामीलाई किन जन्माएको त ? साथीहरू नयाँ लुगा लगाएर घुम्न जाने भनेका छन् दसैँ भ्याकेसनमा । पोहोर इलाम गएको यसपाली पोखरा जाने प्लान छ । पोहोर जस्तो थोरै पैसाले पुग्दैन नि १ यसपाली त धेरै चाहिन्छ ।ु हो छोराछोरीहरू यस्तै भन्छन् । अनि थिच्दैन त जिम्मेवारीको भारीले रु यस्तो लाग्छ ( गाउँबाट सहर नछिरेको भए यतिसम्म तनाव हुँदैनथ्यो होला । सपनाको सहरमा सन्तानका सपनाहरू अभिभावकका भन्दा निकै ठूला हुँदारहेछन् ।

गाउँको माटोमा खेल्दाखेल्दा पार लगाउन नसकेपछि त्यही माटो बेचेर सहर पस्यो । दुःख-सुख गरेर बास बनायो । छोराछोरीलाई बोर्डिङमा हाल्यो । यसो कहिलेकाहिँ गाउँ जाँदा गाउँलेको नजरमा हुनेखानेजस्तो देखियो । एकदुई किलो फलफूलमा गाउँका ताजा तरकारी, बास्नादार घिउ साट्यो । गाउँबाट सहर छिर्नेहरूको दसैँ झनै बिजोग छ । मनको व्यथा कसलाई के था रु सपनाको सहरले मानिसलाई बाहिर बोक्रो भित्र खोक्रो बनाएको छ । मध्यम वर्गीय परिवारलाई त जीवन जिउन हम्मेहम्मे बनाएको छ । उमेर छन्जेल जसोतसो जीवन धान्यो । अभिभावकका उमेर छिप्पीएसँगै सन्तानका सपनाहरू कल्कलाउन थाल्छन् । सहरको पढाइ गाउँमा पुग्दैन ।

त्यो पढाइ कि त अमेरिका पुग्छ, कि त अष्ट्रेलिया, कि त खाडी । अमेरिका,अष्ट्रेलिया पुगेका छोराछोरी कहिले फर्कन्छन् थाहा हुन्न । खाडीमा पुगेका छोराछोरी कसरी फर्कछन् त्यो पनि थाहा हुन्न । बाउआमालाई सधैँको पिरलो । चाडबाड आएपछि उनीहरूको आँखा ओभाउँदैनन् । पैसा सिरानीमुनि हुन्छ । बजार पुगेर सामान ल्याइदिने कोही हुँदैनन् । अनि चाडपर्व बुढाबुढीको दैलोबाट कोठासम्म पुग्न सक्दैन । तलैतलामा बस्ने मानिसका मनमा सन्तानसँग बस्न नपाउनुको पीडाले पीरको अर्को तला थप्छ ।

बाध्यताले मानिसलाई हरेक परिस्थितिहरूसँग जुधाउँछ । जिन्दगी सुख बनाउने आसमा उसले अवसरको अगेनो बाल्न खोज्छ । अनेको प्रयासपश्चात् त्यो अगेनो बल्छ । त्यसमा दाउरारूपी अभिभावकहरू बल्छन् । त्यही रापमा सन्तान हुर्किन्छन् । त्यसपछि सन्तानहरू नयाँ बाटो खोज्न थाल्छन् । अभिभावकहरू त्यही अगेनोमा आफूलाई ठोसिरहन्छन् बलुन्जेलसम्म । फेरि त्यस्तै अर्को अगेनोमा हुर्किएका सन्तान होमिन्छन् । रहरको तलाउ भर्नका लागि । सृष्टि चलाउनका लागि । जीवनको गाडी बर्सौँदेखि यसैगरी चलिरहेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर