✍️ सरोज सङ्गम
मुक्तक – एक
दुनियाँ नै नशालु बनाउँने, मदिरा हौ तिमी
मेरो लागी तिमी राधा,अनि मीरा हौ तिमी
तिमी एकपल छुटदा, मलाई छटपटी हुन्छ
लाग्छ मेरो तनको, धमनी र शिरा हौ तिमी
मुक्तक – दुई
एउटै कोखको सन्तानले, आज भाईचारा बिर्सियो
अंश मात्र खोजिरहयो, आफ्नो अभिभारा बिर्सियो
धिक्कार छ कस्तो कपुतले, धर्तिमा पाईला टेकेछ,
बाउको संघर्ष, आमाको दुधको दशधारा बिर्सियो
मुक्तक – तीन
पाउँमा राख्नेलाई, शिरमै सजाइयो भुल भयो
अन्जानैमा बैगुनीलाई,गुन लगाईयो भुल भयो
आज जिन्दगीमा, पुर्पुरो समाएर रुने भएको छु,
मनलाई क्षणिक,खुशीमय बनाईयो भुल भयो
मुक्तक – चार
न हुन्छ धब्बा न हुन्छ रङ्ग, साचो मित्र कसरी जान्नु्र
सबै अघि देखाउँछ असल बानी, भित्र कसरी जान्नु
अरे रूप देखिए जस्तै, ऐनामा सारा अवगुण देखिन्न,
भेटिएन त्यस्तो उपाय, मान्छेको चरित्र कसरी जान्नु
मुक्तक – पाँच
कसैले मेटाएन मेरो,पिरतीको प्यास पानी बनेर
ढिला नगर तिमी, मेरा आँखामा बस नानी बनेर्र
मलाई पनि त तिम्रो दिलको, बादशाह नै बन्नु छ,
स्वागत छ तिमीलाई, आउँ यो मनकी रानी बनेर
प्रतिक्रिया
-
४
